२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

अनुदान पाउन घर भत्काउँदै

टीकाप्रसाद भट्ट

(रामेछाप) — चर्किएका घर मर्मत गरेर बस्ने सूचीमा परेका लाभग्राहीले धमाधम घर भत्काउन थालेका छन् । मर्मत सूचीमा परेकालाई १ लाख अनुदान दिने व्यवस्था छ । अहिले घर भत्काउनेहरू पूर्ण लाभग्राहीजस्तै ३ लाख लिन चाहन्छन् । घर भत्काउँदैमा पूर्ण लाभग्राहीमा पर्ने टुंगो भने छैन । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले घर भत्किएको तर मर्मत गरेर बस्न मिल्ने लाभग्राहीको सूचीमा समावेश भएका पीडितहरूले यसअघि डीपीसी गरेको या घर निर्माण पूरा गरेको भए त्यसलाई पूर्ण लाभग्राहीमा राख्ने निर्णय गरेको थियो । त्यही निर्णयलाई टेकेर पहिल्यै डीपीसी गरेको या घर निर्माण गरिसकेको भन्दै धमाधम घर लडाउन थालिएको हो । घर लडाएर धमाधम डीपीसी गरिँदै छ ।


‘धेरैले घर भत्काउन थालेका छन्,’ गुन्सीमा कार्यरत प्राविधिक लक्ष्मण धामीले भने, ‘कसरी काम गर्ने हो ?’ घर भत्काउनका लागि जिल्लाका कुनै पनि निकायले स्थानीय तह या पीडितलाई आह्वान गरेका छैनन् । यसअघि बसोबास गर्दै आएको घर भत्काउनेले तत्कालै ३ लाख उपलब्ध गराउन आग्रह गरिरहेका छन् ।


प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) रामेछापका प्रमुख वीरबहादुर रावलले घर भत्काएको र बनाएको प्रमाण लिएर आएमा उनीहरूको नाम र विवरण माथिल्लो निकायमा पठाइदिने बताए । ‘अनुदान आउने/नआउने जिल्लाले ग्यारेन्टी लिन सक्दैन,’ रावलले भने, ‘हामीले घर भत्काउनु भनेर कसैलाई पनि भनेका छैनौं, भोलि अनुदान पाएनन् भने त्यसको जिम्मा पनि हामी लिँदैनौं ।’ घर बनाउन अनुदान पाउने सूचीमा नाम नपरेकाले पटक–पटक गुनासो गर्दा पनि पुनर्निर्माणको अनुदान पाएका छैनन् । सुरुमा सर्भे गर्दा अनुदान पाउन अयोग्य पीडित भनी प्राविधिकले उल्लेख गरिदिएपछि जतिपटक गुनासो गरे पनि लाभग्राहीमा पर्न नसक्नेहरूको आक्रोश यथावत छ । भूकम्पले घर भत्किएका पनि कतिपय अनुदान पाउने सूचीमा परेका छैनन् । राजनीतिक दलका अगुवा र जनप्रतिनिधिहरूले हरेक सभासमारोहमा त्यस्ता पीडितको उदाहरण दिएर ढुंगामाटोले जोडेका सबै घरलाई लाभग्राहीमा पार्नुपर्ने दबाब दिने गरेका छन् । जिल्लामा ४९ हजार पूर्ण लाभग्राहीमा पर्दा पनि गुनासो हजारौं बाँकी छ । गत साउनमा सकिएको नयाँ सर्भेअनुसार जिल्लामा ७ हजार ५ सय ८१ गुनासो निर्णयका लागि प्राधिकरणमा पठाइएको छ ।


जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) का इन्जिनियर किशोरविक्रम शाहीका अनुसार जिल्लामा ०७२ को भूकम्पले चर्काएका ७ हजार ५ सय २ वटा घर मर्मत गर्ने सूचीमा छन् । तीमध्ये हालसम्म जम्मा ५ सय २३ जनाले मात्र मर्मत गरेर अनुदान लिन स्थानीय तहसँग सम्झौता गरिसकेका छन् । सम्झौता गर्नेमध्ये पनि अधिकांशले घर मर्मत थालेका छैनन् । सम्झौता गरेको ३ वर्ष बितिसक्दा जिल्लामा हालसम्म १८ वटा घर मात्र मर्मत गरिएका छन् ।

ढुंगामाटोको घर मर्मत गरेर सबल बनाउनका लागि धेरैले मानिरहेका छैनन् । मर्मतका लागि अनुदान पाउने सूचीमा परेका अधिकांशले पूर्ण लाभग्राही अर्थात ३ लाख लिन पुनर्निर्माण अनुदानका लागि लाभग्राही परिवर्तन गर्न चाहेका छन् । आयोजना प्रमुख रावलका अनुसार त्यस्ता आवेदकको अनुरोधलाई प्राधिकरणमा पठाइएकामा हालसम्म लाभग्राही परिवर्तन भएर आएको छैन । उल्टै प्राधिकरणले मर्मतको कार्यका लागि हरेक वडामा घुम्ती डकर्मी र सामाजिक परिचालकको नियुक्ति गर्दै छ । सामाजिक परिचालकले घर मर्मत गरेर बस्न पीडितलाई मनाउने र घुम्ती डकर्मीले मर्मत कार्यमा अन्य डकर्मीलाई आवश्यक सीप प्रदान गर्ने लक्ष्य प्राधिकरणले लिएको छ ।


प्रकाशित : पुस २२, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?