३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

क्षमताभन्दा बढी यात्रुले दुर्घटना

६ महिनामा १० दुर्घटना, ४८ जनाको मृत्यु । चालकको लापरबाही, यान्त्रिक गडबडी, अस्वस्थ प्रतिस्पर्धाले अधिकांश दुर्घटना ।
१७ जना ट्राफिक प्रहरीलाई जिल्लामा ट्राफिक व्यवस्थापन गर्न हम्मे । 
अनिश तिवारी

सिन्धुपाल्चाेक — गत असोज २४ मा इन्द्रावती गाउँपालिका–१० भोटसिपा हुँदै काठमाडौं गइरहेको खचाखच यात्रु बोकेको बा २ ख २७१५ बस तिर्खुमोडबाट खस्दा ११ जनाको मृत्यु भयो । हेलम्बु यातायातको उक्त बस दुर्घटना हुँदा घटनास्थलमै ५, उपचार क्रममा ६ जनाले ज्यान गुमाए । ३२ सिटको क्षमता भएको यात्रुबसमा सवार एक सय २० मा ९८ जना घाइते भए ।

क्षमताभन्दा बढी यात्रुले दुर्घटना

महिनाअघि दोलखाबाट काठमाडौं जाँदै गरेको बा२ख ७२४५ बस अरनिको राजमार्गको सुकुटेमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भयो । शैलुंगेश्वर यातायातको बस सडकछेउबाट अनियन्त्रित भई ७६ फिट तल खस्दा ६० यात्रुमा ५४ जना घाइते भए । साताअघि घटना तेहोरियो । दोलखाको धार्मिकस्थल कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा४ख ४४६८ बस ब्रेक फेल भई सडकबाट खस्दा १६ जनाको मृत्यु भयो । बिहानै लिसंखुपाखर गाउँपालिकाको मुडेबाट हिंडेको बस लामोसाँघु जिरी सडकखण्डअन्तर्गतको सुनकोसी गाउँपालिका वडा ७ स्वाँराको ६ किलोबाट ५ किलो सडकखण्डमा सय मिटर तल सडकमै बस पल्टँदा घटनास्थलमै १२ जनाले ज्यान गुमाए । बाँकीको अस्पताल लैजाने क्रममा निधन भयो ।


वर्ष ०७६ /७७ साना ठूला गरी दस वटा दुर्घटना भए, जसमा ४८ जनाले ज्यान गुमाएका छन् । लगातार भएका ३ वटा बस दुर्घटनाबाट मात्रै ४४ जनाको मृत्यु भएको छ । जिल्लामा विभिन्न समय र स्थानमा भएको पाँच दुर्घटनामा झन्डै दुई सयभन्दा बढी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तंथ्याक छ । वर्षैपिच्छै सुनकोसी र भोटेकोसी किनार क्षेत्र हुँदै राजधानी जोड्ने अरनिको राजमार्गमा बस दुर्घटना भइरहेको देखिन्छ ।

१३ वर्षयता जिल्लामा ८ वटा ठूला दुर्घटनामा ३८ जनाले ज्यान गुमाए भने तीन सयभन्दा बढी घाइते भएका छन् । कोदारी र अरनिको राजमार्गका विभिन्न खण्डमा सुनकोसी र भोटेकोसीमा खस्दा धेरै संख्यामा ज्यान जाने गरी चार वटा दुर्घटना भएका छन् । ०६३ साउन पहिलो साता बलेफी जलवीरे सडकखण्डको चनौटेबाट बा२ख ८१७३ को बस ब्रह्मायणी किनारमा खस्दा २५ ले ज्यान गुमाए । ०६६ भदौ २६ मा राजमार्गको सुकुटेमै बा२ख ६२२८ बस सुनकोसीमा खस्दा २५ को मृत्यु भयो । त्यस्तै, २०६७ भदौमा बा२ख ४०१३ बस बसेरीबाट खस्दा ३० जनाको निधन भयो । ०६८ मा सुनकोसी गाउँपालिकाको ठोकर्पाको कच्ची सडकबाट यात्रुबस पल्टँदा ९ जनाले घटनास्थलमै ज्यान गुमाए । ०६९ जेठ १८ मा कोठेबाट बा२ख ३३४७ को बस कोसीमा खस्दा ५ जनाको मृत्यु भयो । ०७० जेठ १५ मा पाँचपोखरीको थाङपालधापको कच्ची सडकमा बा२ख ३६४५ बस पल्टँदा १५ को ज्यान गयो ।

यस्ता लगातार दुर्घटनाको मुख्य कारण चालकको लापरबाही, यान्त्रिक गडबडी, अस्वस्थ प्रतिस्पर्धादेखि क्षमताभन्दा बढी यात्रु बोकेका कारणले भएको देखिन्छ । ‘अहिलेसम्मका ठूला दुर्घटना चाडपर्वबीच या अघिपछि भएका छन्, चालक, ओभरलोडकै कारणले दुर्घटना भएको छ, यात्रुबाहकबाहेक मोटरसाइकल, बोलेरो, टिपरजस्ता दुर्घटना भएका छन्,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले भने । वर्षैपिच्छै भइरहेको यात्रु बस दुर्घटनामा क्षमताभन्दा बढी यात्रु सवारका कारण भएको उनले जनाए ।


१७ जना ट्राफिक मात्र

जिल्लाभरमा २५ सय किलोमिटर ग्रामीण सडकमा पाँच सय किलोमिटर ग्राभेल र अन्य प्रमुख सडकमा दुई सय किलोमिटर कालोपत्रे गरिएको छ । राजधानी जोड्ने मुख्य राजमार्ग, सडक खण्डबाहेक स्थानीय तहको विभिन्न गाउँ जोड्ने सयौं सडक लगिएका छन् । झन्डै ५० वटा ग्रामीण सडकमा अस्थायी रुट परमिट लिएर यात्रुबाहक बस फुक्काफाल सञ्चालन भइरहेका छन् ।

जुगल, हेलम्बु, आमाह्योल्मो, सुनकोसी, शैलुंगेश्वरी, अरनिको, रोल्वालिङ, सगरमाथाजस्ता यातायातका ३५ वटा यात्रु बस गाउँ पुग्छन् । सीमावर्ती क्षेत्र तातोपानी, बाह्रबिसे, खाडीचौर, चौतारा, मेलम्ची बजारदेखि गाउँसम्म सवारी चलिरहने मुख्य केन्द्रमा ट्राफिक प्रहरी दैनिक खटिरहेका हुन्छन् । ‘१७ जना ट्राफिकले जिल्लाभर कसरी भ्याउने, यसबारे किन सोचिँदैन् ?,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय अधेरीका प्रमुख प्रहरी नायब निरीक्षक राजेशकुमार दाहालले प्रश्न गरे ।

जुगल, जलवीरे, शैलुंगेश्वरी, सगरमाथा, हिमशिखर, रोल्वालिङ र सुनकोसी गरी ५ वटा यातायातका यात्रुबस अरनिको यातायात कम्पनीका मात्रै चल्छन् । हेलम्बु र आमाह्योल्मोबाहेक सबै अरनिको यातायात कम्पनीले विभिन्न नामबाट एकप्रकारले आफ्नै सिन्डिकेट चलाइरहेको छ । ‘दुई वर्षदेखि अर्को समितिले बस चलाउन खोज्दा आउन दिइँदैन, दोलखा र सिन्धुपाल्चोकमा चल्ने अधिकांश थोत्रा र पुराना बस छन्, त्यसैले पनि दुर्घटना हुन्छ,’ स्थानीय सन्तराम गुरुङले आक्रोश पोखे ।


झन्डै २० हजारलाई ५ वटा बसले बोक्नुपर्ने गरी सिन्डिकेट लादिएको उनले उदाहरण दिए । ‘पर्याप्त सवारी राखिए यात्रु कोचाकोच गरेर चढ्दैनन्, थोत्रा बस हटाइनुपर्छ अनि मात्रै दुर्घटना न्यूनीकरण हुन्छ,’ उनले भने ।

प्रकाशित : पुस २१, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?