क्यामेरा ट्र्यापमा हिउँचितुवा

दोलखा — हिमाली दुर्लभ वन्यजन्तुका गतिविधि पटकपटक एउटै क्यामेरा ट्र्यापमा संगृहीत हुनुलाई अभूतपूर्व उपलब्धि मान्दै गौरीशंकर संरक्षण क्षेत्रले आइतबार विशेष समारोहको आयोजना गरेको छ ।

क्यामेरा ट्र्यापमा हिउँचितुवा

हिउँचितुवालाई एउटै क्यामेराले तीनपटक फरक दिनहरूमा चहार्दै गरेका तस्बिर सार्वजनिक गर्दै संरक्षण क्षेत्रले भ्रमण वर्ष २०२० का लागि गतिलो उपहार पनि भनेको छ ।


सदरमुकाम चरिकोटमा आयोजित समारोहमा संरक्षण क्षेत्र प्रमुख सत्यनारायण शाहले भने, ‘अब दोलखालाई हिमाली रानी, रेडपाण्डा र कस्तूरीको जिल्ला भनेर विश्व समुदायले चिन्छन् ।’


हिउँचितुवा १२ देशमा ४ हजारदेखि ६ हजार वटासम्म भएको अनुमान छ । ३ हजार ५ सयदेखि ५ हजार मिटर उचाइका भूभागसम्म पाइने चितुवाको उक्त प्रजाति हालसम्म दोलखाको दुई पर्यटकीय स्थलहरू लप्चे र रोल्वालिङ क्षेत्रमा देखिएको छ । रोल्वालिङको च्छो रोल्पा हिमताल नजिक एक सय ४८ दिनसम्म राखिएको स्वचालित क्यामेराको फ्रेमभित्र तीनपटक आएको थियो । त्यो क्यामेराले खिचेका तस्बिरहरूमा चितुवाले स्थान सुरक्षित छ छैन भनेर सुँघेको, फेरि आउनका लागि संकेतस्वरूप पुच्छर उचालेर पिसाब गरेका दृश्य छन् ।


यसअघि संरक्षण क्षेत्रले लप्चे क्षेत्रमा राखेको क्यामेराहरूमध्ये एउटाले चितुवाको टाउकोदेखि ढाडसम्म आधा शरीरमात्रै फ्रेमभित्र परेको तस्बिर खिचेको थियो । उक्त तस्बिर पाएपछि दुर्लभ हिउँचितुवा यहाँ पनि पाइने सार्वजनिक गरेको संरक्षण क्षेत्रले दोस्रोपटक पूर्ण शरीरको तस्बिर सार्वजनिक गरेको हो ।


संरक्षण क्षेत्रले लप्चे र रोल्वालिङ उपत्यकामा भ्रमण वर्ष २०२० लाई विशेष भ्रमण क्षेत्र बनाउन चितुवा र अन्य लोपोन्मुख संरक्षित सातवटा वन्यजन्तुलाई विश्व बजारमा प्रचार गर्ने योजना पनि सार्वजनिक गरेको छ । रोल्वालिङ क्षेत्रमा १३ स्थानमा बुसनेल ट्रोफी क्याम नामक इन्फ्रारेड क्यामरा जडान गरेर अनुसन्धान थालिएको थियो । संरक्षण अधिकृत विष्णुप्रसाद पाण्डेको नेतृत्वमा प्राकृतिक स्रोत संरक्षण सहायक शंकरमान थामीसहितको टोलीले गरेको अध्ययनमा विश्वका अति दुर्लभ २६ प्रजातिका वन्यजन्तुमध्ये सातवटा प्रजातिलाई क्यामेराले ट्र्याप गरेको थियो । उक्त विवरणहरू सार्वजनिक गर्दै संरक्षण अधिकृत पाण्डेले जडितमध्ये ६ वटा क्यामेराले मात्रै काम गरेको बताए ।


कुनै पनि रगत भएका जन्तुहरू देख्नेबित्तिकै स्वचालित रूपमा चल्ने क्यामेराले २०७६ असार १५, भदौ २२ र २६ गते गरी तीनपटक वयस्क चितुवाको तस्बिर खिचेको थियो । च्छो रोल्पा, दूधकुण्ड र येलुङ क्षेत्रमा राखिएका क्यामेराले ब्वाँसोका तस्बिरहरू पनि खिचेको छ । यसअघि दुर्लभ ब्वाँसोका तस्बिरहरू उक्त विधिका क्यामेराले खिचेको नपाइएको संरक्षण प्रमुख शाहले जानकारी दिए । ना गाउँ नजिक राखिएको क्यामेराले कस्तूरी मृग र बेदिङ–गो टाकुरा क्षेत्रमा रेडपाण्डालाई क्यामेराले कैद गरेको छ । संरक्षित पन्छीमध्ये डाँफेका गतिविधि पनि क्यामेराले कैद गरेको छ । उक्त पन्छी गौरीशंकर बेसक्याम्प र बेदिङ–गो क्षेत्रमा कैद भएका तस्बिरहरू सार्वजनिक गरिएको छ ।

प्रकाशित : पुस २०, २०७६ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?