३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

शालीनदीमा पनि कंक्रिट–संरचना

दामोदर न्यौपाने

काठमाडौँ — माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समिति यतिबेला मेला व्यवस्थापनमा व्यस्त छ । नदी छेउमा सिमेन्ट प्रयोग गरेर पेटी बनाउने, पहिले राखिएका ढुंगा झिकेर सिमेन्ट प्रयोग गर्ने काम भइरहेको छ । पेटी बनाउँदा आधुनिक तरिकाले टिपकार गरिएको छ ।

शालीनदीमा पनि कंक्रिट–संरचना

भक्तजनको सहजताका लागि नदीमै पक्की ड्याम बनाइने समितिले बताइरहँदा सम्पदा संरक्षणकर्मीले भने शालीनदी क्षेत्रको मौलिकता मासिने गरी निर्माण भइरहेको भन्दै विरोध जनाएका छन् ।


यही वर्ष निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त ड्यामले नदीको मौलिकता मासिने संरक्षणकर्मी गगन रञ्जितकारले बताए । ‘हामीले विरोध गरिरहेका छौं तर काम भइरहेको छ,’ उनले भने, ‘ड्याम बनाएर पोखरी पो बनाउने भए, कलकल बग्ने नदीमा नुहाउनुको मज्जा बेग्लै थियो । अब यो प्राकृतिक होइन कृत्रिम पोखरी हुने भयो ।’


स्वस्थानी मन्दिरभन्दा करिब ५० मिटर तल पर्छ नुहाउने ठाउँ । उत्तरतिरको गल्छीमा पानी झर्ने ठाउँ बनाइएको छ । ‘दुईतिर अग्लो पहाडको बीचमा मनमोहक गल्छी देखिन्थ्यो,’ रञ्जितकारले भने, ‘ती गल्छीमा अनेक किसिमका चरा हुन्थे । अहिले यहाँ कुनै पनि चरा आउँदैनन् ।’ आधुनिक निर्माण सामग्री प्रयोग गरिएकाले नदीबाट पश्चिमतिरको भागको पर्खाल कुरूप देखिन्छ । नदीको छेउदेखि स्वस्थानी मन्दिरसम्मकै भित्तामा टिपकार गरिएको छ । पर्खालमाथि स्टिलको बार लगाइएको छ ।


समितिका महासचिव एलपी श्रेष्ठले भने यहाँको मौलिकता हराउन नदिन आफूहरू सचेत भएको बताए । ‘पहिल्यै धेरै संरचना बिग्रिएका छन्,’ उनले भने, ‘हामी त्यसलाई पनि सच्याउँछौं । सिमेन्टको प्लास्टर उप्काएर ढुंगा छाप्छौं ।’ ०७३ सालमा अघिल्लो समितिले नदी क्षेत्रको प्राचीनता मासिने गरी काम गरेको उनको आरोप छ । समिति हरेक दुई वर्षमा परिवर्तन हुने व्यवस्था छ । श्रेष्ठका अनुसार गुरुयोजना बनाएरै यहाँ काम भइरहेको छ । नदी र पार्क विभाजन गरेर काम अघि बढाइने उनले जानकारी दिए । संरक्षणकर्मीले भने धार्मिक स्थललाई व्यापारिक ढंगबाट सोचेर पार्कर्को अवधारणा ल्याइएको बताएका छन् । ‘यहाँ त माधवनारायणको महत्त्व देखाउनुपर्ने हो,’ रञ्जितकार भन्छन्, ‘सेवा भावनाले वृद्धाश्रम बनाउनुपर्ने हो तर व्यापारिक उद्देश्यले काम भइरहेको छ ।’ पुरातत्त्व विभागले यहाँको मौलिकता र प्राचीनतालाई असर गर्ने गरी काम नहुने बताएको छ । ‘हामीले धर्म संस्कृति जोगाउने हो,’ विभागका सिनियर डिभिजनल इन्जिनियर सम्पत्त घिमिरेले भने, ‘यहाँ व्यावसायिक आश्रम राख्न दिँदैनौं ।’


यहाँका नदी, सम्पदा र पार्कसमेत व्यवस्थित गर्न विभिन्न निकायले बजेट विनियोजन गरिसकेका छन् । सांसद कोषबाट पूर्वप्रधानमन्त्री तथा यही क्षेत्रका संघीय सांसद माधवकुमार नेपालले २५ लाख रुपैयाँ उपलब्ध गराएका छन् । पुरातत्त्व विभाग र सहरी विकास मन्त्रालयबाट १ करोड २५ लाख रुपैयाँ, नगरपालिकाबाट ६० लाख विनियोजन गरेको महासचिव श्रेष्ठले जानकारी दिए । पूर्वप्रधानमन्त्री नेपालले शालीनदी पार्क आफ्नो सपना भएको बताए । ‘यहाँ गुरुयोजना बनाएर पार्क बनाउन लागेकामा मलाई खुसी लागेको छ,’ उनी भन्छन्, ‘यो हिन्दु धर्मावलम्बीका लागि महत्त्वपूर्ण ठाउँ हो । यसलाई सांस्कृतिक ग्रामका रूपमा विकसित गर्नुपर्छ ।’


गुरुयोजनामा माधवनारायण मन्दिरलाई ठूलो बनाउने, चन्द्रावतीको शिला व्यवस्थित गर्ने, भीमसेन मन्दिर, सरस्वती मन्दिर र दुईवटा पोखरी संरक्षणलगायत छन् । शालीनदी स्तम्भ व्यवस्थित बनाउने, रुद्राक्ष रोप्ने, मेलालाई चाहिने लप्सी रोप्नेलगायत योजना पनि छन् ।


महिलाले लिने कठिन व्रतमध्येमा पर्छ माधवनारायण व्रत । एक महिनासम्म नुनसमेत नखाएर व्रत बस्ने चलन छ । शालीनदीमै यसरी बस्ने महिलाको संख्या दुई सयभन्दा बढी हुने श्रेष्ठले जानकारी दिए ।



प्रकाशित : पुस २०, २०७६ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?