थोत्रो टहरामा बित्छ चिसो रात

 समस्यामा अशक्त र बेसहारा 
  पीडित थपिएको थपियै 
 साढे ६ हजार भूकम्पपीडितको आवास बन्न बाँकी
अनिश तिवारी

(सिन्धुपाल्चोक) — चार वर्षको घामपानी थेगेको अस्थायी टहरो जीर्ण बन्दै छ । जस्तापातामा प्वालैप्वाल परेका छन् । छानाले चिसो सिरेटो नछेकेजस्तै बुद्धिबहादुर र सेतीमाया विश्वकर्माको आङको कपडाले पुसको ठिही छेक्न सकिरहेको छैन । चौतारा साँगाचोकगढी नगरपालिका–५ डाँडापारि कदमबासका यो दम्पतीको यो अवस्था देख्दा जोकोहीको मन पग्लिन्छ ।

थोत्रो टहरामा बित्छ चिसो रात

भूकम्पले घर नभत्किएको भए सायद उनीहरूको दैनिकी सामान्य चलिरहेको हुन्थ्यो । जब, विपत्तिले घर ध्वस्त बनायो, नयाँ घर ठड्याउनै सकेनन् । अहिले मासिक चार सय भाडा तिरेर अरूले बनाइदिएको अस्थायी टहरोमा उनीहरूको बास छ । अशक्त पति स्याहारिरहेकी ६९ वर्षे नि:सन्तान सेतीमायाले सुनाइन्, ‘बूढा थला परे, आफू केही गर्न सक्दिनँ ।’


त्यसो त सेतीमायाको स्वास्थ्य पनि राम्रो छैन । आन्द्रामा समस्या देखिएपछि उनले उपचारका लागि चौतारामा रहेको दुई आना जग्गा बेच्नुपर्‍यो । ‘१० वर्षअघि एक्कासि बेहोस भएर ढलेँ, मेरो आन्द्रा गाँठो परेछ,’ उनले विलौना गन्,ि ‘उपचारमा अरू बाटो नभएपछि जग्गा पनि धितो राखेर लाख रुपैयाँ निकाल्यौं । ऋण तिर्न नसकेपछि जग्गा नै लिलाम भयो ।’


उनको पेटमा चिकित्सकले प्लास्टिकको आन्द्रा प्रत्यारोपण गरिदिएका छन् । त्यसयता सेतीमाया सार्वजनिक शौचालय र अरूको लुगा धोएर जीविका चलाइरहेकी छिन् ।


यो दम्पतीको जस्तै दु:ख सहनेमा इन्द्रावती गाउँपालिका–१० बडहरेका वृद्ध दाजुभाइ तुलसीदास र बलराम श्रेष्ठ पनि पर्छन् । उनीहरूको एउटै धोको छ– आफ्नै जमिनमा सुविधाजनक घर बनाउने । ‘छाकको जोहो गर्नमै दिन जान्छ, अरूको टहराबाट कहिले लघारिनुपर्ने हो थाहा छैन,’ ८६ वर्षे तुलसीदास स्वाँस्वाँ गर्दै भाग्यलाई दोष दिन्छन्, ‘के गर्नु यस्तै लेखेको रहेछ ।’ बुबाआमा र आफैलाई विभिन्न समस्या पर्दा लिएको ऋण थुप्रियो । भूकम्पले पुर्ख्यौली घर ढलाएपछि नराम्रा दिन सुरु भएको उनले बताए । ‘घर वरिपरिको जग्गा बेच्दै ऋण तिर्दा कंगाल भइयो । धेरैको वचन सहन नसकेपछि सबै बेचेर ऋण तिरिदियौं,’ ८२ वर्षे बलरामले भने, ‘तर आफू बस्नुपर्ने जग्गाको बारेमा सोचेनौं, अहिले दिक्क लाग्छ ।’ केही जग्गा नभएकाले आवास अनुदान नपाएको उनको भनाइ छ ।


भूकम्पपछि थोत्रो टहरामा आश्रय लिइरहेकाको सूचीमा ६५ वर्ष टेकिसकेकी मेलम्ची नगरपालिका पांग्रेटोल ज्यामिरेगाउँकी ६५ वर्षीया नन्दकुमारी खड्का पनि पर्छिन् । टहराको चिसोले धेरैपटक बिरामी परिसकेकी उनको दैनिकी अशक्त छोरा स्याहार्दैमा बित्छ । वृद्ध आमाको सहारामा बाँचिरहेका केशर केही बोल्न सक्दैनन् ।


‘कति साँझ भोकै गुजारियो, अपांग छोराले पाउने भत्ता उसैको उपचारमा ठिक्क हुन्छ,’ नन्दकुमारी भन्छिन्, ‘लोग्ने बितेपछि दु:खमात्र सहनुपरेको छ ।’ एक वर्ष भत्केकै घरमा बसिरहेका उनीहरूले बल्ल दुई वर्षपछि टहराको बास पाए । कष्टकर जीवन झेल्दै अरूकै टहरामा आश्रय लिएर आमाछोरा बसेको चार वर्ष बितिसकेको छ । भूकम्पमा आफ्नै घरमा थिचिएर अशक्त बनेकी हेलम्बु गाउँपालिका मराम्ची गाउँकी ६० वर्षीया माया तामाङ चिसो बढेसँगै अत्तालिन्छिन् । भूकम्पमा ढुंगामाटोले थिचिँदा उनको दुवै खुट्टा चल्दैन । ‘ज्वरो र दमले च्याप्दै छ, बुढेसकालमा रोगलाई औषधिले पनि नछुने रहेछ,’ उनले पीडा सुनाइन् ।


इचोक र किउलको नजिक रहेको हिमाली गाउँमा वृद्धवृद्धा र बालबालिकामा बढी समस्या देखिएको छ । इन्द्रावती गाउँपालिका–४ का गुमानध्वज तामाङ भूकम्पमा आफ्नै घरले थिचिएर कम्मरमुनिको भाग नचल्ने भएपछि निराश छन् । ‘वैशाखीको सहारामा हिँड्नुपर्छ, चिसोले बिरामीजस्तै बनाएपछि दिक्क भएको छु,’ उनले भने ।


भूकम्पले घर भत्केपछि अस्तव्यस्त बनेकाहरूको उदाहरण यतिमै सीमित छैन । जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान तथा पूर्वाधार) का अनुसार जिल्लाभर जोखिम वर्गका लाभग्राही सूचीमा रहेका अशक्त भूकम्पपीडितको संख्या एक हजार दुई सय ८१ छ । जसमा मेलम्ची र चौतारा साँगाचोकगढी नगरपालिकामा मात्रै चार सय सातजना छन् । ‘मेलम्चीमा मात्रै दुई सय ५९ उच्च जोखिम वर्गका भूकम्पपीडित छन्,’ मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालले भने, ‘नगरको बजेटले सबै व्यवस्थापन हुन नसक्ने भएकाले सामाजिक संस्थालाई गुहारिरहेका छौं ।’ भूकम्पमा आफन्तसहित सर्वस्व गुमाउनको लागि इन्द्रावती सरकारले गाउँकेन्द्रित स्वास्थ्य शिविर तथा वृद्धवृद्धा र अशक्तबारे विवरण संकलन गरिरहेको छ । ‘स्वास्थ्यकर्मी घरघरै पठाइरहेका छौं, ‘इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले भने ।


इकाइको तथ्यांकअनुसार एक हजार दुई सय ४१ ले पहिलो किस्ता, एक हजार ९१ ले दोस्रो र आठ सय ४१ अशक्त पीडितले तेस्रो किस्ता पाइसकेका छन् । तर, जग्गा, अनुदान प्रक्रियादेखि नीतिगत समस्या आइलागेको प्राविधिकको भनाइ छ । ‘थप अशक्त भूकम्पपीडितबारे स्थानीय तहसँग तथ्यांक मागिरहेका छौं, पूरा आइसकेको छैन,’ एकाइका प्रमुख लक्ष्मण शेखले भने । तत्कालीन जिल्ला दैवी प्रकोप उद्धार समितिको अध्ययनले भूकम्पले जिल्लामा ६६ हजार घर (९५ प्रतिशत) भत्काएको देखाएको छ । त्यसपछि वर्षैपिच्छे पीडितको संख्या थपिदै गएको लाभग्राहीको सूचीले देखाउँछ ।


भूकम्पमा परी सिन्धुपाल्चोकमा तीन हजार पाँच सय ७० जनाले ज्यान गुमाएका थिए । एकाइको पहिलेको तथ्यांकलाई आधार मान्दा अहिलेसम्म करिब २० हजार घर थपिएका छन् । पुनर्निर्माणको हतारोमा केहीले सिमेन्ट र इँटाको घर बनाए पनि अधिकाशंले ढुंगामाटो रोजेका छन् । करिब १० प्रतिशत ढलान (आरसीसी), ५० प्रतिशत ढुंगामाटो र ४० प्रतिशतले इँटा, ब्लकको घर बनाएका छन् ।


जिल्लामा ८४ प्रतिशत पीडितले आवास निर्माण सकेका छन् । ८८ हजार आठ सय ७७ लाभग्राहीमा ७४ हजार ६ सय १८ परिवारले आवास ठड्याइसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) ले जनाएको छ । ‘गैरसरकारी संस्थाको सहयोगमा झन्डै पाँच हजार घर बनाइएका छन्, एकाइका प्रमुख सन्तोष निरौलाले भने प्राधिकरणको लाभग्राही सूचीअनुसार अब ६ हजार ५ सय ११ भूकम्पपीडितले आवास बनाउन बाँकी छ ।


प्रकाशित : पुस १३, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?