कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

स्थानीय तहमा सीमा विवाद : शैलुङ कसको ?

टीकाप्रसाद भट्ट

(रामेछाप) — दोलखाको शैलुङ, मेलुङ र रामेछापको दोरम्बा गाउँपालिकाबीच ‘शैलुङ कसको’ भन्ने विवाद उत्पन्न भएको छ । रामेछापको दोरम्बा गाउँपालिकाले नयाँ वर्षको अवसरमा पहिलो शैलुङ महोत्सवको आयोजना गर्ने योजना अघि सारेपछि पहिलोपटक विवाद देखिएको हो । रामेछापको भूमिमा महोत्सव आयोजना गर्दा दोलखाका दुई गाउँपालिकाले आपत्ति मात्र जनाएनन्, महोत्सव नै रोके ।

स्थानीय तहमा सीमा विवाद : शैलुङ कसको ?

पछि राजनीतिक नेतृत्व तहले तीनवटै स्थानीय सरकारले संयुक्त रूपमा महोत्सव गर्ने गरी सहमति गरायो र महोत्सव सम्पन्न भयो । महोत्सव सकिए पनि विवाद टुंगिएन । ०३१ सालमा रामेछाप जिल्लाको नापी हुँदा कायम भएको सीमालाई दोलखाले मिच्न खोजेको स्थानीय बताउँछन् ।


रामेछापको सीमामा दोरम्बा गाउँपालिकाले राखेका स्वागत बोर्ड दोलखाको शैलुङ गाउँपालिकाले उखेलेर फालिदिएको छ । शैलुङ, बाघढुंगा, बुद्धको पाइला, पृथ्वीको नाइटो लगायतको स्थानमा पहिचान दिने बोर्ड राखिएका छन् । ती सबैमा शैलुङ गाउँपालिकाको नाम राखिएको छ । जुन रामेछापका जनप्रतिनिधिलाई मनपरेको छैन । ‘रामेछापले राखेका पहिचान बोर्ड फाल्ने र आफ्नो राख्ने शैलुङ गाउँपालिकाको रबैया ठिक भएन,’ दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिं मोक्तानले भने । केही समयपछि गाउँपालिकाले शैलुङको एकीकृत विकासको खाका ल्याउने उनको भनाइ छ ।


शैलुङमा दोलखा र रामेछापले आआफ्नै दाबी गरेपछि जिल्लामा विवाद समाधानका केही संवादसमेत भएका छन । जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेको संयोजकत्वमा दोलखा र रामेछापका संवाद समूहका सदस्यले विकासका कुरामा सँगै जानुपर्नेमा जोड दिएका छन् । रामेछापमा भएको छलफलले भने शैलुङ क्षेत्रको सीमा विवादले त्यस क्षेत्रको विकास र प्रवर्द्धनलाई प्रतिकूल प्रभाव पर्ने भएकाले नापी विज्ञ टोलीमार्फत सीमा यकिन गराउने निर्णय गरेको छ । शैलुङ क्षेत्रको नापी नक्साबमोजिम सीमा निर्धारण गर्न जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय रामेछापले नापी विभागमा पहल गर्नेसमेत निर्णय भएको संवाद समूहले जनाएको छ ।


दोलखाको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलाल रामेछापले विवाद गर्ने ठाउँ नभएको बताउँछन् । परापूर्वकालदेखि मान्दै आएको पानीढलो नै सीमा रहेको उनको भनाइ छ । पानीढलोलाई सीमा मान्दा अधिकांश शैलुङ क्षेत्र दोलखातर्फ पर्छ । तर, रामेछाप जिल्लातर्फका बासिन्दा भने पानीढलोलाई सीमा मान्न तयार छैनन् । ‘रामेछाप र दोलखालाई राजनीतिक विभाजन गर्दा साबिक गोश्वारा पञ्चायतमा ताम्चेल खोला, ओडारे, डाँफेभीर, जारकाटे ढुंगा हुँदै घलेडाँडा जाने तेस्रो बाटोसम्म रामेछाप सीमा कायम गरिएको थियो,’ विवादित क्षेत्रमा पर्ने वडाबाट दुईपटक निर्वाचित वडाअध्यक्ष घलेडाँडाका लालबहादुर श्रेष्ठले भने, ‘सोहीअनुसार निर्वाचित प्रतिनिधिले त्यस क्षेत्रको रेखदेख गरेका हुन् ।’

प्रकाशित : पुस १०, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?