२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

पासाङका लागि अस्पताल नै घर

(दोलखा) — हिँड्दाहिँड्दै सडकमाथिबाट पल्टिँदै आएको ढुंगा पासाङ तामाङको देब्रे तिघ्रामा बजारियो । नौ वर्षीय उनी सडकमै ढले । लामाबगर छेछ्यौतबाट गम्भीर अवस्थामा उनलाई चरिकोट अस्पताल ल्याइयो । करिब दुई वर्षअघिको उक्त दुर्घटनापछि पासाङ घर फर्किएनन्, अस्पताल उनका लागि घरजस्तै बनेको छ । उनी एक्लै अस्पतालको बेडमा बस्छन् । नर्सहरूसँगै खान्छन् । रमाउँछन् । 

पासाङका लागि अस्पताल नै घर

दुर्घटनापछि अहिले उनी पाचौंपटक अस्पताल आएका छन् । अस्पताल बस्दा उनले पैसा तिर्नु पर्दैन र सहजै भर्ना पाउँछन् । ‘पासाङले अस्पताललाई आफ्नै घरजस्तो ठानेका छन्,’ अस्पतालका प्रमुख डा. विनोद दंगालले भने, ‘उनका लागि अस्पतालमा सम्पूर्ण उपचारका साथै बस्ने खाने खर्च छुट छ ।’


हुन त चरिकोट अस्पतालले सबैका लागि सम्पूर्ण सेवामा छुट गरेको छ । नेपाल सरकार, न्याय हेल्थ र भीमेश्वर नगरपालिकाको संयुक्त प्रयासमा सबै सेवामा छुटको व्यवस्था भएको हो । पासाङलाई भने अझ बढी सहुलियत छ । किनकि उनका अभिभावक कुरुवा बस्दैनन् । डाक्टर र नर्सहरूले नै उनको हेरविचार गरिदिएका छन् ।


अस्पतालमा आउँदा उनको खुट्टा काट्नुपर्ने स्थितिमा थियो । ठूलो ढुंगाले लाग्दा तिघ्राको हाड, नसा र मासु छुट्टिएको थियो । घटनापछि उनलाई काठमाडौं लगिएको उनका बुबा संगते तामाङले बताए । काठमाडौंमा राखेर हड्डी, नसा र मासु जोड्ने काम भयो । ‘ऋणसहित करिब ६ लाख रुपैयाँ सकिएपछि बेचर्खी भएर चरिकोट फर्कियौं,’ आमा कमी भन्छिन् ।


पैसा अभाव भएपछि पासाङको पछिल्लो उपचार चरिकोट अस्पतालमै भइरहेको छ । ‘हड्डी विशेषज्ञ झिकाएर अप्रेसन पनि नि:शुल्क गरिरहेका छौं,’ डा. दंगालले भने, ‘अस्पतालबाट बाहिरिनेबित्तिकै गरिबीले पोषण अभावका कारण संक्रमण हुने हुँदा अस्पतालमै बसेर उपचार गर्न छुट दिइएको हो ।’


अहिले पासाङ सामान्य हिँडडुल गर्न सक्छन् । जोडिने क्रममा एउटा खुट्टा केही छोटो छ । बाबु ज्यामी काम गर्ने र आमा घरमै व्यस्त हुँदा सधैं अस्पताल बस्न भ्याउँदैनन् । ‘बाबा–आमा नभए पनि मलाई एक्लै छु जस्तो लाग्दैन । यहाँ सबैले माया गर्नुहुन्छ, मीठो खाना दिनुहन्छ,’ पासाङले भने, ‘म यहाँ एक्लै बसेर उपचार गराउन सक्छु ।’


उनी दुई कक्षामा पढ्छन् । उपचारका कारण पढाइमा त्यति ध्यान दिन पाएका छैनन् । ‘खुट्टा राम्रो होला भन्ने आसले अस्पतालबाट बाहिर जान पनि मन लाग्दैन,’ उनले सुनाए । अनमी संगीता खड्काले पासाङ लामो समयसम्म यहाँ बस्दा पनि खुसी नै रहेको बताइन् । ‘ड्युटीअनुसार पासाङलाई हामीले जे खान्छौं, त्यही दिन्छौं,’ उनले भनिन्, ‘कहिले त उनी डेढ महिनासम्म अस्पतालमै रहने गरेका छन् ।’


संक्रमणका कारण दुई महिनामा एकपटक उनको खुट्टाको शल्यक्रिया गर्ने गरिएको छ । अस्पतालमा खर्च नलागे पनि बाहिर औषधि किन्दा र आउजाउ गर्दा एक लाखजति सकिएको बुवा संगतेले बताए ।


दैनिक तीन सयजनाले जँचाउने उक्त अस्पतालमा नि:शुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्न अमेरिकी सहयोगमा न्याय हेल्थले वार्षिक झन्डै १३ करोड खर्च गरिरहेको छ । नेपाल सरकारले भवन, जनशक्ति, नि:शुल्क औषधि सहयोग गरिरहेको छ । भीमेश्वर नगरपालिकाले स्थानीयस्तरमा व्यवस्थापकीय सहयोग गर्दै आएको छ ।

प्रकाशित : पुस ९, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?