जहाँ उम्मेदवार भोट भाग्न जाँदैनन्

(रामेछाप) — चौंरीगोठ लिएर गइमडाँडाको जंगलमा बसेका बेला लाहाछेवरकी कामीशर्की शेर्पा सिकिस्त बिरामी भइन् । सोलु र रामेछापको सिमानामा पर्ने जंगलको टुप्पोमा हेलिकप्टर मगाएर उनलाई अस्पताल पुर्‍याइयो । ‘हेलिकप्टरमा १ लाख २० हजार खर्च नगरेको भए बाँच्ने सम्भावना थिएन,’ स्थानीय आङभाई शेर्पाले भने, ‘अहिले हेलीको भाडा बढेको छ । ठ्याक्कै १ लाख ६० हजार लिन्छ ।’ 

जहाँ उम्मेदवार भोट भाग्न जाँदैनन्

लाहाछेवरमा बिरामी परेकाको उपचार ‘भगवान् भरोसा’ छ । पैसा र पहुँच हुनेले हेलिकप्टर मगाउँछन् । अरूले झारफुकको भरमा बिरामीको उपचार गर्छन् । सरकारी स्वास्थ्य सेवा लिनका लागि लाहाछेवरवासीको पहुँच छैन । गुम्देल आउन ७ घन्टा हिँड्नुपर्छ । छिमेकको सोलुको जुनबेँसी जान पूरै दिन माया मार्नुपर्छ ।


नुम्बुर हिमालछेउ पर्ने लाहाछेवरमा ३२ परिवारको बसोबास छ । गाउँमा कोही बिरामी पर्दा सोलुतिरबाट आएका तामाङले झारफुक गर्छन् । दुई वर्षअघि एकैपटक चारवटा हेलिकप्टर मगाएर बिरामीलाई काठमाडौं पुर्‍याएको शेर्पाले बताए । लाहाछेवरमा अधिकांश शेर्पाको बस्ती छ । थामी र कार्की थोरै छन् ।


गाउँभन्दा करिब ५ घन्टाको पैदल दूरीमा रहेको क्यामामा गाउँपालिकाले गाउँघर क्लिनिक राखेको छ । त्यहाँ पुग्न पनि कठिन हुने शेर्पा बताउँछन् । ‘क्यामा पुगेपछि अरु २ घन्टा हिँडेपछि गाडी भेटिन्छ, त्यतैबाट काठमाडौं पो जान्छौं,’ उनले भने । उमाकुण्ड गाउँपालिका–१ को गुम्देलमा पर्ने उक्त बस्तीभन्दा उत्तरमा बसोबास छैन । धेरैले गाउँपालिकाका प्रतिनिधिसमेत चिन्दैनन् । चुनावका उम्मेदवार पनि भोट माग्न हम्मेसी यहाँ पुग्दैनन् । गत निर्वाचनमा संघीय र प्रदेशका दुवै उम्मेदवार लाहाछेवरका मतदाताकहाँ देखा परेनन् । ७ घन्टा पैदल हिँडेर गुम्देलमा पुगेका उनीहरूले नेताहरूको अनुहारसम्म नदेखी भोट हाले ।


लाहाछेवरका बासिन्दा रामेछापको भन्दा बढी सोलुमा निर्भर छन् । यहाँको प्रमुख उत्पादन पहिले चौंरीको चीज र छुर्पी थियो । अहिले चौंरीगोठ घटेका छन् । १८ वर्ष चौंरीपालन गरेका आङभाई शोर्पाले अहिले उक्त काम चटक्कै छोडे । अब यहाँ पाँच/छ गोठमात्र बाँकी छन् । स्थानीय कल्जङ शेर्पाका अनुसार पहिले जडिबुटी संकलनमा स्थानीय रमाउँथे । गौरीशंकर संरक्षण क्षेत्र बनेपछि त्यस कार्यमा रोक लाग्यो ।


उक्त सुदूर गाउँका बासिन्दा आफ्नो जग्गाको उत्पादनले बढीमा तीन महिनाभन्दा बढी खान पाउँदैनन् । गाउँका कोही सरकारी जागिरे छैनन् । गाउँका केही सोलुमा व्यापार गर्छन्, केही बिदेसिएका छन् । बल्ल यो वर्ष हिउँदमा ट्र्याक्टरसम्म चल्ने सडक जोडिएको छ । गाउँनजिकै तीनवटा जलविद्युत् आयोजना निर्माण सुरु भएको छ ।

प्रकाशित : पुस ६, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?