१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

हात्ती महोत्सवको विरोध

चितवन — पशु अधिकारकर्मीहरूले सौराहामा हुने हात्ती महोत्सवको विरोध गरेका छन् ।

हात्ती महोत्सवको विरोध

अन्तर्राष्ट्रिय र स्थानीयस्तरका पशु अधिकार तथा पशु कल्याणसँग सम्बन्धित संघसंस्थाले विज्ञप्ति जारी गर्दै महोत्सवका नाममा हात्तीमाथि क्रूर व्यवहार भएको उल्लेख गरेका छन् । पशु कल्याणका दृष्टिले यस्ता महोत्सव उपयुक्त नभएको भन्दै जनावरको पक्षमा वकालत गर्ने अन्तर्राष्ट्रिय संस्था, पशुसँग नैतिक व्यवहारका पक्षधर व्यक्तिहरू (पेटा) र स्थानीय स्तरमा सक्रिय पशु अधिकार क्लब (आर्क) ले संयुक्त विज्ञप्ति निकालेका छन् ।


गतवर्ष गराइएको हात्ती दौड, छावा–फुटबल र हात्तीपोलोका भिडियो क्लिपमा हात्तीमाथि क्रूर व्यवहार भएको पेटाले जनाएको छ । ‘ती भिडियोमा माहुतेले हात्तीलाई अंकुशे, लट्ठी तथा काठको तिखो हतियारले घोचेर घाउ बनाएको देखिएको’ भन्दै अघिल्लो वर्ष पनि पेटाले विज्ञप्ति जारी गरेको थियो ।


उक्त विज्ञप्तिपछि प्रायोजकहरूले महोत्सवसँगको सम्बन्धन तोडेको एनिमल राइट्स क्लब (आर्क) का सहसंस्थापक सुराजन श्रेष्ठले बताए । ‘तर, आयोजकले आफ्ना गतिविधि जारी नै राख्ने बताए,’ उनले भने, ‘विश्वव्यापी रूपमा यस्तो गतिविधिले नराम्रो सन्देश जान्छ । यसो नगर्नुस् भनेर आयोजकलाई गरेको अनुरोध सुनुवाइ भएन ।’


क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर चितवनमा १६ वर्षदेखि हात्ती महोत्सव हुँदै आएको छ । यसपालि पुस १० देखि १४ गतेसम्म १६औं हात्ती महोत्सव हुँदै छ । सुरुमा हात्ती दौडाएर कार्यक्रम हुने गर्थ्यो । पशु अधिकारकर्मीको विरोधपछि नाम परिवर्तन गरेर र केही गतिविधि थपेर महोत्सव हुने गरेको छ । हात्ती दौडलाई दौड नभनेर महोत्सव आयोजकहरू ‘इलाफेन्ट फास्ट वाक’ भन्ने गर्छन् ।


श्रेष्ठका अनुसार पशु कल्याण र अधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाको पहल र विरोधपछि विश्वमा हात्तीसँग सम्बन्धित क्रियाकलाप बन्द हुने गरेका छन् । हात्तीका खेलमात्रै नभएर पर्यटन कार्यक्रममा हात्ती सफारी घट्दै गएको उनले बताए । टाइगर टप्स जंगल लजले वर्षौंदेखि आयोजना गरेको हात्तीपोलो बन्द गरेको छ । पेटाको आग्रहमा थाइल्यान्डमा हुने हात्तीपोलो पनि गत वर्ष बन्द भएको उनले बताए । ‘महोत्सवमा समावेश हात्तीको वनभोजबाहेक अरू सबै गतिविधि हात्तीको बानीव्यवहार र आचरण अनुकुल छैनन् । यसले हात्तीलाई तनाव र दु:खमात्रै दिन्छ,’ उनले भने, ‘त्यसमाथि खेल जित्नका लागि हात्तीमाथि अत्याचार भइरहेको छ ।’ महोत्सव आयोजक संस्था क्षेत्रीय होटल संघ सौराहाले भने हात्तीमाथि क्रूर व्यवहार नगरिएको जिकिर गर्दै आएको छ ।


प्रकाशित : मंसिर २७, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?