३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मन्त्रीलाई स्थानीयको गुनासैगुनासो

सीमा तामाङ

काठमाडौँ — चाबहिल–साँखु सडकखण्ड निरीक्षणमा पुगेका मन्त्री र सांसदलाई स्थानीयले सडकको दुरवस्थाबारे गुनासो सुनाएका छन् । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रदेशसभा सांसद तथा स्थानीय जनप्रतिनिधिको टोलीले बिहीबार सडकको निरीक्षण गरेको थियो । ०७४ मा निर्माण सक्नुपर्ने सडकको काम अझै अधुरै छ । विस्तार क्रममा दक्षिणढोकाको खोल्सामाथि ढलान गरेपछि पानी पर्दा बस्ती नै डुबानमा परेको स्थानीयले गुनासो गरे । ‘यस्ता अनुगमन जति आए पनि हाम्रो समस्याको अन्त्य भएन,’ रामेश्वर गिरीले भने । 

मन्त्रीलाई स्थानीयको गुनासैगुनासो

मुलपानी खण्डको तीन सय मिटर सडक स्थानीयको अवरोधले निर्माण अवरुद्ध छ । त्यस्तै, मुलपानी तिवारी चोकमा पनि पानी पर्दा निकै समस्या हुने स्थानीयले सुनाए । टोलीसामु उनीहरूले ‘हिउँद लागेपछि मात्र निरीक्षण गर्न आउने ?’ भन्दै प्रश्न गरेका थिए । ‘सारा बस्ती पानीले डुब्दा कोही आउँदैनन्, धुलो उड्दाचाहिँ निरीक्षणको नाममा देखापर्छन्,’ गिरीले भने । स्थानीय भगवती दाहालले पनि सरकारले दिएको न्यून मुआब्जाले घर बनाउन नपाएको पीडा सुनाइन् । ‘सरकारले तीन लाख मुआब्जा दियो । त्यसले घर बनाउने की पाटी ?’ उनले भनिन् ।


निरीक्षणपछि मन्त्री नेम्वाङले सडक निर्माणको गति बढाउन निर्माण व्यवसायीलाई निर्देशन दिए । ‘यो सडक आम जनताको सरोकारको विषय हो,’ उनले भने, ‘अनुगमन गर्दा निर्माण व्यवसायीले क्षमतालाई अभिवृद्धि गर्नुपर्ने देखिएको छ ।’ निर्माणको जिम्मा पाएका ठेकेदार नारायण भट्टराई र बालकृष्ण थापाले स्थानीयको अवरोधले काम गर्न नसकेको सुनाए । ‘एउटै सडकमा पनि एकातर्फका घरधनीले मुआब्जा लिन्छन्, अर्कोतर्फले लिँदैनन्,’ भट्टराईले भने, ‘सडक निर्माणमा मुआब्जा विवाद नै मुख्य समस्या बन्यो । त्यसकारण नौ सय मिटर सडक टुक्राटुक्रामा पिच गर्नुपर्‍यो ।’


पूर्वप्रधानमन्त्री नेपालले छिटो र गुणस्तरीय काम होओस् भनेरै आफूहरू निरीक्षणमा आएको बताए । ‘सडकको गुणस्तरमा फरक पाइएको छ, अब त्यस्तो नहोस्,’ ठेकेदारलाई उनले भने, ‘सडकका खाल्डाखुल्डीले सर्वसाधारण सास्ती खेप्न बाध्य छन्, तत्काल त्यस्ता ठाउँ सम्याउनुस् ।’ चाबहिल–साँखु सडकखण्डको काम पाँच महिनाभित्र सम्पन्न गर्न पनि उनले आग्रह गरे ।


उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले उक्त सडक निर्माणका क्रममा घरधनीले मुआब्जा लिएकाले तत्काल घर भत्काउन सूचना जारी गर्ने बताए । ‘भत्काउने सहमतिमै मुआब्जा दिइएको हो । मुआब्जा लिए पनि घर नभत्काएकाहरूको हकमा भोलि घर भत्काउन सूचना जारी गर्छौं,’ उनले भने ।शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले सर्वोच्च अदालतले घरधनीलाई जग्गाको मुआब्जा दिएर मात्रै घर भत्काउने आदेश दिएकाले निर्माणमा ढिलाइ भएको बताए ।


प्रकाशित : मंसिर २७, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?