२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

टोल–टोलमा ‘त्यो सिं त्यो’

काठमाडौँ — नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पाटनका ४० टोलमा योमरी माग्ने कार्यक्रम तय गरिएको छ 

टोल–टोलमा ‘त्यो सिं त्यो’

प्रशान्त माली (काठमाडौं)

य:मरी च्वामु, उकी दुने हाकु

ब्यूम्ह ल्यासे, मब्यूम्ह बुरिचा

छिमि नं चिकु, जिमि नं चिकु

पियाच्वने थाकु, याकनं बी हिँ

त्य:छिंत्य:, बक:छिंत्य:

लातापाता कुलिंचा जुछिंत्य:’

योमरी पूर्णिमाको अवसरमा योमरी माग्न जाँदा गाइने गीत हो यो । जसको अर्थ हुन्छ, ‘चुच्चो योमरीभित्र चाकु । दिने सुन्दरी, नदिने बूढी । तपाईंलाई पनि जाडो, हामीलाई पनि जाडो । पर्खिरहन गाह्रो, छिटो दिन ल्याउनुस् । ६ माना ३ माना होइन, एक माना भरिदेऊ ।’


नेवारहरूको चाड योमरी पूर्णिमाको अवसरमा अहिले यो गीत काठमाडौंका टोलटोलमा गुञ्जिइरहेको छ । नेवार बस्तीमा केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने चलन छ । ज्यापू समाज यलले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर पाटनका ४० टोलमा योमरी माग्ने कार्यक्रम तय गरेको छ । बिहीबार यो गीत गाएर पाटनका ४५ वर्षीय श्रवण महर्जन साथीभाइसँग मिलेर च्यासल, लोँल, खपिन्छेँसहित नौ टोल पुगेका छन् । उनीहरू बुधबार गुइट, पिन्छेँ, पिलाछेँ गरेर १० वटा टोलमा पुगेका थिए । योमरी माग्न जाने कार्यक्रम शनिबारसम्म चल्नेछ ।


ज्यापू संस्कृति विकास कोष काठमाडौंले भने योमरी पूर्णिमाको अवसरमा राजधानीमा झाँकीसहितको र्‍याली आयोजना गर्‍यो । योमरी माग्न जानेलाई नेपाल भाषामा ‘त्यो सिं त्यो’ भनिन्छ । ‘यो तिहारमा देउसीभैलो खेलेजस्तै योमरी माग्दै खेलिने खेल हो,’ श्रवणले भने । नेपाल भाषामा य: भनेको मनपर्ने र मरी भनेको रोटी हो । योमरी स्त्री र पुरुष गरी दुईथरीका हुन्छन् । योमरी बनाउन चामलको पिठोमा तातोपानी हालेर मुछिन्छ । डल्लो बनाई एक छेउ चुच्चो पारी औंलाको सहायताले खाल्डोजस्तो पारिन्छ । अन्डाकारको स्वरूपमा आइसकेपछि पिठोभित्र चाकु, तिल र खुवाको मिश्रण राखिन्छ । र, बाफले पकाइन्छ ।


श्रवणका अनुसार योमरी संस्कृति जगेर्ना गर्न समाजले मंगलबार पाटन दरबार क्षेत्रमा योमरी प्रदर्शनी गरेको थियो । जसमा ४० टोलको प्रतिनिधित्व थियो । ज्यापू समाजका उपाध्यक्ष सन्तमान महर्जनले योमरी पूर्णिमालाई पर्यटनसँग जोडेर आम्दानीको बाटो बनाउन खोजेको बताए । ‘योमरी नेवारको पहिचान हो,’ उनले भने, ‘संस्कृतिलाई समयानुकूल परिमार्जन गर्दै लगेका छौं ।’


योमरी संस्कृति लिच्छविकालीन राजा अंशुवर्माका छोरा बालार्चनको पालादेखि चलनचल्तीमा आएको विश्वास छ । त्यसबेला बालार्चनले राज्य सम्हालेको बेला व्यापार व्यवसायबाट मनग्य आम्दानी थियो । उनले बलबल भन्ने एक बलवान् व्यक्तिलाई खेत खन्न लगाई खेतीपाती सुरु गरे । अन्न उत्पादन निकै राम्रो भयो । त्यसपछि राजाले बलबलको शिलामूर्ति बनाई योमरीपुन्हीमा योमरी चढाई जात्रा गर्ने परम्परा बसालेको महर्जन बताउँछन् ।


जहाँ बन्दैन योमरी

पाटन न:बहिल टोलवासीले भने योमरी पूर्णिमामा योमरी बनाउँदैनन् । योमरी खाँदा अड्केर मृत्यु भएको कथन छ । उनीहरूले योमरीको सट्टा बा:मरी (छुट्टै खालको रोटी) बनाउने गर्छन् । कीर्तिपुर, पाँगा, नगाउँ, मच्छेगाउँलगायत सात गाउँमा पनि योमरी पकाइँदैन । यसदिन पाटनको धलाछेँ, सर्को, सुवाह, पिन्छेँ, पिलाछेँ, दुपात, ट्यागल, ह:खा, लुखुसीलगायत ११ टोलवासीले देवाली पूजा गर्छन् ।


हरिसिद्धिमा देवी नाच

योमरीको अवसरमा ललितपुरको हरिसिद्धिमा हरिसिद्धि भवानी देवी नाच (जल प्याँख) देखाइएको छ । नाच हरेक फागु पूर्णिमा र योमरी पूर्णिमाको अवसरमा देखाइन्छ । रामायणको अरण्यकाण्ड र किष्किन्धाकाण्डमा आधारित नाच देखाउन हरिसिद्धिका गुठीयारले साताअघिदेखि तयारी थालेका थिए । अष्टमातृकाको चार र राजा विक्रमादित्यको एक गरी पाँच जोडीले नृत्य प्रदर्शन गर्ने हरिसिद्धि नाचका नाइके राइटर महर्जनले बताए । नृत्यमा सबै देवगणको दायाँ हातमा खड्ग र बायाँमा त्वाक: (ढाल) हुन्छ । एकले अर्कालाई खड्गले त्वाक:मा हान्ने र त्यसलाई अर्कोले छेक्ने गर्छन् ।


अर्को दृश्यमा तमन्ना द्यो (ऋषि) ले दायाँ हातले योमरी आकारको धातुको वस्तु लिई ताण्डव नृत्य देखाइन्छ । पहिलो चरणको तेस्रोपटकको विश्राममा सन्तान नहुने भक्तजनमध्ये पहिलोपटक देवता ढोग्ने पुत्रलाभ हुने जनविश्वास छ । त्यसपछि गुरु वाल्मीकि र शिष्य भारद्वाजद्वारा नृत्य प्रस्तुत गरिन्छ । ब्राह्मणले दाँत माझेको र नुहाएको अभिनय गर्छन् । त्यसलगत्तै महादेव अवतरण हुन्छन् ।


प्रकाशित : मंसिर २७, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?