कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

अपमानपछि घर फर्कनै गाह्रो

दोलखामा यस आर्थिक वर्षमा सातवटा ‘बोक्साबोक्सी’ आरोपका घटना भएका छन् । तीमध्ये एउटा जिल्ला प्रहरी कार्यालय र अर्को तामाकोसी गाउँपालिकाको न्यायिक समितिमा दर्ता भएका छन् 
राजेन्द्र मानन्धर

(दोलखा) — भिरालो जमिनमा अवस्थित घरको मूलढोकामा ताला झुन्डिएको छ । तिब्बती सिमानाको दुर्गम आलुम्पुसँग जोडिएको स्याखु बस्तीको यो घरमा ताला लागेको १७ दिन भयो । गाउँलेहरू अन्धविश्वासको भर पर्दा रत्नबहादुर श्रेष्ठ र कृष्णमाया दम्पती गाउँबाटै विस्थापित हुनुपर्‍यो । 

अपमानपछि घर फर्कनै गाह्रो

बिगु गाउँपालिका–५ स्थित स्याखुमा करिब एक दर्जन धामीझाँक्री छन् । उनीहरूले आफूखुसी जे बके पनि त्यसैलाई अन्तिम सत्य मान्दै गाउँले विश्वासमा पर्छन् । धामीलाई चढाएको रक्सीको बोतलको बिर्कोमा सिउरिएको फूल उल्टो परेको आधारमा रत्नबहादुरलाई बोक्सा आरोप थोपरियो । दोस्रोपटक धामीले देवतालाई चढाएको भाले काट्दा रगत नआएकाले बोक्सा भनियो । तेस्रोपटक माता काम्न नसकेको दोष पनि उनैलाई थोपरियो । ‘धामीझाँक्रीको विश्वास गर्दा सोझासिधामा गनिने रत्नबहादुर र कृष्णमाया गाउँबाट खेदिए,’ स्थानीय पूर्णबहादुर खड्काले भने । टोल सुधार समितिको आह्वानमा एक सय १३ जनाको भेलाले मंसिर १ गते ती दम्पतीमाथि ‘बोक्साबोक्सी’ साबित गर्न बाध्य पारेको थियो । घटनापछि स्थलगत अध्ययनका लागि पुगेकी राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीसहितको टोलीलाई स्थानीयले अन्धविश्वासमा भर पर्दा अञ्जानवश अपराध गर्न पुगेको स्वीकार गरेका छन् ।


पीडित रत्नबहादुरका छोरा भाजु श्रेष्ठले बोक्साबोक्सी भन्दै बाबुआमालाई पटकपटक यातना दिएपछि रातारात काठमाडौं लगेको बताए । कुटपिटसमेत भएकाले जीवन नै जोखिममा परेकाले भाग्नुपरेको उनको भनाइ छ । ‘मानसिक तनावले आमा बिरामी भएपछि उपचार गराउँदै छौं,’ उनले भने, ‘बिगु छाडेर हाल परिवारका सबै सदस्य काठमाडौंमै छौं ।’


स्थानीयका अनुसार उक्त गाउँनजिक स्वास्थ्यकर्मी भए पनि हत्तपत्त त्यहाँ सेवा लिन कोही जाँदैनन् । बरु पहिले धामीकहाँ पुग्छन् । सिकिस्त भएपछि मात्रै अस्पताल जाने चलन छ ।


चरिकोटमा आयोजित ‘लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान’ अन्तर्गतको कार्यक्रममा उक्त घटनाले जिल्लाकै बेइज्जत भएको चर्चा गरियो । आधुनिक युगमा धामीको विश्वास गरिनु र कसैलाई बोक्साबोक्सीजस्तो गम्भीर आरोपका आधारमा गाउँले नै मिलेर खेद्नु भयंकर दोष भएको ठहर पनि गरिएको छ । जिल्लामा आयोजित विभिन्न कार्यक्रममध्ये जिल्ला संवाद समूहको छलफलमा आश्रय केन्द्रका अध्यक्ष सिर्जना कार्कीले स्याखुलगायत जिल्लामा देखिने/नदेखिने गरी बोक्साबोक्सी आरोपमा यातना दिने कार्य भइरहेको बताइन् । बोक्सीको आरोपबाट भागेर सदरमुकाम आउनेलाई आश्रयको अभाव रहेको र सामाजिक रूपमा पुन: स्थापित गर्न कुनै निकायले ध्यान नदिएको उनको गुनासो छ । ‘सबै निकायको जोडमा तत्काल जोखिममा परेका महिलाका लागि सेफ हाउस (सुरक्षित केन्द्र) निर्माण गर्नुपर्छ,’ उनले माग गरिन् ।


‘बिरामी भएको ठाउँमा धामीले बोलाएपछि जानै पर्थ्यो,’ रत्नबहादुर भन्छन्, ‘धामीले अक्षता समात्न दिन्थे । मन्तरले फुकेर त्यही चामल बिरामीमाथि छर्थे । बिरामी बिसेक भए ठिकै छ, नभए तैं बोक्साको काम भन्थे ।’ गाउँमा धामीको भर पर्दा कैयौं बिरामी मृत्युको मुखमा पुगिसकेका छन् । त्यसको दोषजति कसैलाई बोक्साबोक्सी किटेर दिइने गरिएको कृष्णमाया बताउँछिन् ।


तामाकोसी गाउँपालिकास्थित सहरेकी एक महिलालाई अप्रत्यक्ष रूपमा सधैंजसो बोक्सीको आरोप लगाइन्थ्यो । पछिपछि गाउँमा जो बिरामी परे पनि उनैलाई दोष दिइयो । त्यसपछि उनी न्यायिक समितिमा आएको समितिकी उपाध्यक्ष उर्मिला केसीले बताइन् । केही समयअघि बोक्सीको आरोपपछि मानसिक यातना खप्न नसकेर एक महिला रुँदै चरिकोट सदरमुकामस्थित आश्रय केन्द्रमा आएकी थिइन् । उक्त केन्द्रकी प्रमुख सिर्जना कार्कीले सकेसम्म स्थानीय तहमा रहेको न्यायिक समितिमा अनुरोध गर्न सुझाएको बताइन् । ‘बोक्सीका कारण मानिस र चौपाया मरिरहेको जस्ता विषय अघि सारेर अपमान गर्न थालेपछि ती महिला गाउँ समाजमा बस्न नसक्ने अवस्थामा पुगिन्,’ उनले भनिन् ।


कालिञ्चोक भवगती मन्दिर दर्शन गर्न गएका बेला हालै एक महिलाको हृदयाघातबाट मृत्यु भयो । तर बोक्सीका कारण घटना भएको हल्ला चलाइयो ।


सदरमुकाम आसपासमा पनि धामीझाँक्रीको विश्वास गरेर बोक्साबोक्सी आरोप लगाउने प्रवृत्ति उस्तै छ । अस्पताल र निजी क्लिनिकमा उपचार गराए पनि औषधिको असर पर्न नपाउँदै कतिपय धामीकहाँ पुगिहाल्छन् । ‘बिरामी निको हुनका लागि मनोवैज्ञानिक प्रभाव जरुरी हुन्छ,’ स्वास्थ्य क्षेत्रमा पाँच दशकदेखि सक्रिय चरिकोट बजारका रामदास श्रेष्ठ भन्छन्, ‘तर धेरैजसो धामीको विश्वासमा पर्दा नराम्रा घटना हुने गरेका छन् ।’


दोलखामा यो आर्थिक वर्षमा सातवटा ‘बोक्साबोक्सी’ आरोपका घटना भएका छन् । जसमध्ये एउटा जिल्ला प्रहरी कार्यालय र अर्को तामाकोसी गाउँपालिकाको न्यायिक समितिमा दर्ता भएका छन् । बाँकी घटनामा महिला अधिकारकर्मीले पीडितको पक्षमा पैरवी गरिरहेका छन् । श्रेष्ठ दम्पती सामाजिक बहिष्कारमा परेपछि उक्त गाउँका धामीझाँक्री बेपत्ता छन् । मुद्दा लागेका नौजना पनि सम्पर्कमा छैनन् ।

प्रकाशित : मंसिर २६, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?