२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सीडीओसामु रोए वडाध्यक्ष

रामेछाप — ‘म जनताका लागि खटिरहेको छु, स्थानीय सरकार त भन्छन् तर मैले सरकारको अनुभूति जनतालाई गराउन सकिनँ । गाउँपालिकामा पुग्दा विपक्षीको व्यवहार गर्छन्, कुनै कुरा सुनुवाइ हुँदैन,’ रामेछापको उमाकुण्ड गाउँपालिका–१ का वडाध्यक्ष नुर्बु शेर्पा बुधबार भाषण गर्दागर्दै भक्कानिए । विकास निर्माणको अवस्था र नागरिकलाई परेको पिरमर्का बुझ्न उमाकुण्डको दुर्गम गाउँ गुम्देल पुगेकी प्रमुख जिल्ला अधिकारी लीलाकुमारी पाण्डेसामु गुनासा राख्ने क्रममा उनी रोएपछि एकछिन् त्यहाँको माहोल नै अर्को बन्यो ।

दुर्गमका नागरिकका लागि वडाले बनाएर लगेको योजना माग्दा गाउँपालिकाले विपक्षीको व्यवहार गरेको ७४ वर्षीय वडाध्यक्ष शेर्पाको गुनासो थियो । उनले भने, ‘विकासका कुरा राख्दा कांग्रेसको योजनाजसरी गाउँपालिकाले पन्छाउँछ ।’ शेर्पा कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । गाउँपालिकामा अध्यक्षसहित नेकपाको बहुमत छ ।


सडक निर्माणमा गाउँपालिकाले पर्याप्त रकम दिन नसकेको स्थानीय पेम्बा शेर्पाले बताए । लिखु हाइड्रोले नागरिकको गुनासो सुनुवाइ नगरेको, गौरीशंकर संरक्षण क्षेत्रको व्यवस्थापन समितिमा काठको पैसा दुरुपयोग भएको जस्ता गुनासो स्थानीय मृगेन्द्र बस्नेतले पोखे ।


प्रजिअ पाण्डेले विकासमा कसैले पनि पक्ष र विपक्षीको व्यवहार गर्नु नहुने बताइन् । ‘वडाध्यक्ष भावुक भएकोमा गम्भीर भएको छु,’ उनले भनिन्, ‘गाउँपालिकाका अध्यक्षसँग म समन्वय गर्नेछु ।’

गुम्देलमा प्रहरी चौकी छैन । कुनै घटना भए बाम्तीदेखि प्रहरी पुग्नुपर्छ । बाम्तीदेखि वडा कार्यालय रहेको स्थान गुम्देल पुग्न पैदल पाँच घन्टा लाग्छ । प्रहरी नायव उपरीक्षक सन्तोषकुमार भट्टराईले गुम्देलको शान्ति सुरक्षाको कुरालाई ध्यानमा राखी अस्थायी प्रहरी बिट राख्नेतर्फ काम गर्ने बताए । नुम्बुर फेदीको उक्त बस्तीमा ३२ परिवारको बसोबास छ । यहाँ सञ्चार सम्पर्क पनि राम्रोसँग नहुने स्थानीय कल्जङ शेर्पाले बताए ।

प्रकाशित : मंसिर २६, २०७६ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?