वडा कार्यालयका सामान सार्ने क्रममा वडाध्यक्षलाई दलियो मोसो

रमेशकुमार पौडेल

चितवन — वडा कार्यालय सञ्चालन गर्ने स्थानको विवाद रहेको इच्छाकामाना गाउँपालिका–२ का वडाध्यक्ष पञ्चबहादुर चेपाङमाथि स्थानीयले मोसो दलेर जुत्ताको माला लगाएका छन् । घटना शनिबार राति भएको हो ।

वडा कार्यालयका सामान सार्ने क्रममा वडाध्यक्षलाई दलियो मोसो

प्रहरीले मोसो दलेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले समाएका व्यक्तिहरु निर्दोष भएको भन्दै नेपाली कांग्रेस चितवनले पक्राउ परेका व्यक्तिहरु रिहा नभए वातावरण उत्तेजित हुने र त्यसको जिम्मेवारी सम्बन्धित पक्षले नै लिनु पर्ने चेतावनी दिएको छ । वडाध्यक्ष नेकपाबाट निर्वाचित भएका हुन् ।


जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामाना गाउँपालिका प्रमुख उपप्रमुख दुवै नेपाली कांग्रेसले जितेको चितवनको एक मात्र स्थानीय तह हो । इच्छाकामनाको अधिकांस क्षेत्र पहाडी भू-भाग छ । वडा नम्बर २ मा वडा कार्यालय कहाँबाट सञ्चालन गर्ने भन्ने विषयमा स्थानीयबीच विवाद हुँदै आएको थियो । सुरुमा ओर्ल्याङ भन्ने ठाउँमा जोखलाल चेपाङको घरबाट वडा कार्यालय सञ्चालन हुँदै आएको थियो ।


‘त्यहाँ बाटो बनाउने क्रममा पहिरोको खतरा बढयो । घरभित्रै लेदो आयो । त्यसपछि असार ४ गते कक्षा ५ सम्म पढाइ हुने ओर्ल्याङकै स्कुल कोठाबाट वडा कार्यालय चलाउन थालेको थिएँ,’ वडाध्यक्ष पञ्चबहादुर चेपाङले भने । स्कुलमा साउन १४ गते तोडफोड गरेर वडा कार्यालयका समान र कागजहरुमा क्षति पुर्‍याएको उनले बताए । त्यसपछि पनि स्कुलबाटै कार्यालय चलाउन खोज्दा धम्कीहरु आएको वडाध्यक्ष चेपाङले बताए ।


‘स्कुलमा वडा कार्यालय चलाउँदा प्रतिवन्धित चन्द समूहका कार्याकर्ताले तोडफोड गरे । त्यसपछि पनि त्यहीबाट चलाउन खोज्दा धम्की दिन थाले । त्यसपछि कहिले झोल बोकेरै कार्यालय चलाए त कहिले स्थानीय गणेश चेपाङको पिढीबाट वडा कार्यालयको काम गरे,’ वडाध्यक्ष चेपाङ्ले भने । दसैंपछि हपनीभन्ने गाउँमा रहेको सामुदायिक भवनबाट वडा कार्यालय चलाउन थालेको उनले बताए ।


‘गाउँपालिकामा वडा कार्यालय कहाँ राख्ने हो ठाउँ चाडो तोक्नु पर्‍यो त्यो ठाउँमा टेन्ट राखेर भए पनि कार्यालय चलाउँछु भनेको हो, तर तोकेन । त्यसपछि ओर्ल्याङमा रहेको पुरानो ठाउँबाट हपनीमा समान सार्न खोज्दा ममाथि दुर्व्यवहार भयो,’उनले भने । गाउँपालिका अध्यक्ष गीता गुरुङले वडाध्यक्षमाथि भएको घटना निन्दनीय र दुःखदायी भएको बताइन् ।


‘वडाध्यक्षमाथि जे भयो त्यो दुःखद छ निन्दनीय छ । छानबिन गरेर दोषीलाई करावाही हुनु पर्दछ । वडा कार्यालय कहाँबाट चलाउने भन्ने विषयमा हामीले लेखाजोखा गर्दै थियौं । आजै भोलिमा एउटा निष्कर्ष आउने अवस्था थियो । यही समयमा यस्तो घटना भयो,’ अध्यक्ष गुरुङले भनिन् । वडा कार्यालय राख्नका लागि सम्भावित पाँचवटा ठाउँ प्रस्तावित भएको हुँदा गाउँपालिकाले उपयुक्त ठाउँ छनौट गर्न थालेको उनले बताइन् ।


‘पहिला ओर्ल्याङ्मा राख्ने गरेर तोकिएको हो । पछि अनेक कारणहरुले कहिले कता कहिले कता भयो । स्थानीयले आ–आफ्नो तरिकाले गुनासो र माग गर्न थाले । तर हामीले धेरै कुरा विचार गरेर निर्णय लिनु पर्ने हुन्छ । त्यही काम हामीले गर्दै थियौं,’ पालिका अध्यक्ष गुरुङले भनिन् । ठाउँ निश्चित नहुँदासम्म ओर्ल्याङमा पहिलाको वडा कार्यालयमा रहेको सामानहरु तत्कालन नसार्न भनेको गुरुङको भनाइ छ ।


तीनै समानहरु सार्न खोज्दा शनिबार घटना भएको हो । वडाध्यक्षको पार्टी नेकपाले घटनाको विरोधमा आज सोमबार विरोध सभा गर्ने भएको छ । प्रहरीले अनुशन्धानका लागि उत्तर गुरुङ र बिर्खबहादुर गुरुङलाई समाएको छ । उनीहरु नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता हुन् । विवादको विषयलाई उपयुक्त तरिकाले समाधान गर्नु पर्नेमा रातको समयमा सामानहरु सार्न खोजेर वडाध्यक्षले गलत गरेको नेपाली कांगेस चितवनको भनाइ छ ।

प्रकाशित : मंसिर २३, २०७६ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?