कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

स्तरोन्नति हुँदै हेटौंडा–काठमाडौं सडक

प्रताप विष्ट

(हेटौंडा) — हेटौंडा–भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै दक्षिणकाली निस्कने सडकलाई प्रदेश सरकारले स्तरोन्नति गर्ने भएको छ । हेटौंडा–सिस्नेरी हुँदै दक्षिणकालीसम्मको सडक स्तरोन्नति गर्न विभिन्न खण्डमा विभाजित गरेर केही खण्डको टेन्डर आह्वान भइसकेको छ । केही खण्डको सर्भे भइरहेको छ । केही खण्डमा भने काम नै सुरु भइसकेको छ । 

स्तरोन्नति हुँदै हेटौंडा–काठमाडौं सडक

कुलेखानीको हेभीदेखि सिस्नेरीसम्मको ६ किलोमिटर सडकमा स्तरोन्नतिको काम भइरहेको छ । उक्त खण्डको सबैभन्दा जोखिम र साँघुरो भीमफेदी–कुलेखानी सडकको प्रदेश सरकारले टेन्डर आह्वान गरिसकेको छ । ‘१६ किलोमिटर लामो उक्त जोखिमयुक्त सडकको मोड सुधार गर्ने, सम्भव भएको स्थानमा सडक फराकिलो पार्ने र कालोपत्रे गर्ने कार्यका लािग टेन्डर सार्वजनिक गरिसकेका छौं,’ प्रदेश ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर सहदेव भण्डारीले बताए ।’ टेन्डर स्वीकृत हुनेबितिक्कै काम थाल्ने उनको भनाइ छ । उक्त सडकखण्डको चौडाइ ६ मिटर बनाउने योजना छ ।


भौतिक पूर्वाधार विकास मन्त्रालयले सिस्नेरीदेखि दक्षिणकालीसम्मको सडक र भैंसेदेखि भीमफेदीसम्मको सडक स्तरोन्नति गर्न प्राविधिकबाट धमाधम सर्भे गराइरहेको छ । भीमफेदी–कुलेखानी खण्डमा सुरुङमार्ग निर्माण नभएसम्म प्रदेश र संघीय राजधानीको आवतजावत सहज बनाउन उक्त सडकको स्तरोन्नति गर्न लागेको मन्त्रालयका सचिव तेजराज भट्टले बताए । ‘भीमफेदी–कुलेखानी सुरुङमार्ग खन्न आगामी फागुन महिनासम्ममा टेन्डर आह्वान गर्नेछौं,’ उनले भने, ‘सुरुङमार्ग बन्नुअघिसम्मलाई सहज बनाउन भीमफेदी–कुलेखानी साँघुरो र जोखिमयुक्त खण्डको १६ किलोमिटर स्तरोन्नतिसहित कालोपत्रे गरेर आउजाउ सहज बनाउने छौं ।’ हेटौंडा र काठमाडौं आवतजावत गर्ने छोटो दूरीको उक्त सडक स्तरोन्नति सुरु भएपछि पूर्ण रूपमा सवारीसाधन सञ्चालनमा रोक लगाउने मन्त्रालयले जनाएको छ ।


उक्त मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाबाट राजधानी प्रवेश गर्ने विकल्पका सडकहरूको स्थलगत अध्ययन गर्न थालेका छन् । उनले शुक्रबार कोगटे–इपा सडकको निरीक्षण गरे । स्तरोन्नतिको काम सुरु भएपछि त्यहाँ गुड्ने सवारीसाधनलाई कान्ति राजपथ र भीमफेदी–कोगटे–इपा हुँदै सिस्नेरी निस्केर दक्षिणकाली पुगिने सडक प्रयोग गराउने योजना रहेको उनको भनाइ छ ।


२५ करोड ९९ लाख लागतमा निर्माण सुरु भएको सडकको लम्बाइ भीमफेदीदेखि सिस्नेरीसम्म साढे २३ किलोमिटर छ । ०७५ मंसिर २५ गते टेन्डर भएको उक्त सडक १८ महिनामा सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ ।

प्रकाशित : मंसिर २२, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?