बेसहारा दम्पतीका दु:ख

सिन्धुपाल्चोक — साँघुरो टहरो । वरिपरि थोत्रो जस्तापाताको बेरा । यहीँभित्रको धुलाम्मे भुइँमा गुन्द्री र पुराना तन्नामाथि लडिरहेका छन्, बुद्धिबहादुर विश्वकर्मा । सकीनसकी उनकै रेखदेखमा व्यस्त छिन्, पत्नी सेतीमाया । चौतारा साँगाचोकगढी नगरपालिका–५, डाँडापारिस्थित बेसहारा वृद्ध दम्पतीको कन्तबिजोग देख्ने र उनीहरूको पीडा सुन्ने जोकोही पनि भावुक हुन्छन् । 

बेसहारा दम्पतीका दु:ख

चौसाँगाढी नगर कदमबासका यी दम्पती सदरमुकाम चौतारा आउनुको बाध्यता र संघर्षको कथा निकै कारुणिक छ । ३६ वर्षको उमेरमा बुद्धिबहादुरको जाँघमा एउटा खटिरा आयो । त्यही सामान्य खटिराले उनलाई थलाएर कुँजो नै बनाइदियो । ‘त्यसपछि कहिल्यै सुखका दिन आएनन्, दु:खमाथि दैवले खेदेको खेदै गर्‍यो,’ आँखाभरि आँसु पार्दै उनले भने, ‘हामी कंगाल बेसहारा बन्यौं ।’


सदरमुकाममा बस्न र उपचारमा सहज हुन्छ भन्ने सोचेर तीन आना जमिन छाड्दै अरू सबै बेचेर दम्पती चौतारा आए । यहाँ आएर दुई आना जग्गा किनेर छाप्रो हालेर बस्न थाले । ‘गाउँको सबै जग्गा पनि सडकमा खनेर सकेछन् । आफ्नो जग्गा जोगाउन सीडीओ र प्रहरी प्रशासनमा रोएर गुहारेँ, कसैले सुनेनन्,’ उनले भने ।


चौतारामा रहेको दुई आना जग्गा पनि आफ्नै आन्द्राको उपचारमा सकाएको श्रीमती सेतीमाया बताउँछिन् । ‘एक्कासि बेहोस भएर ढलेँ, मेरो आन्द्रामा गाँठो परेछ,’ उनले भनिन्, ‘उपचारमा अरू बाटो नभएपछि चौताराको दुई आना जग्गा पनि धितो राखेर लाख रुपैयाँ निकाल्यौं ।’ ऋण तिर्न नसकेपछि जग्गा नै लिलाम भयो ।


अहिले उनीहरू मासिक चार सय भाडा तिरेर अरूको जग्गा र टहरामा आश्रय लिइरहेका छन् । ‘लोग्नेकै लागि भनेर प्लास्टिकको आन्द्राको भरमा बाँच्दै छु, शौचालय र लुगा धोएर उनलाई पालिरहेको छु,’ उनी भन्छिन् ।


०४० सालअघिको अवस्था सम्झँदा उनीहरूका आँखा रसाउँछन् । हिक्कहिक्क सुरु भइहाल्छ । त्यतिखेरका २६ वर्षे युवा बुद्धिबहादुर आरनमा हतियार बनाउँथे । बिहेपछि छोरी जन्मिएलगत्तै श्रीमती अन्तै हिँडिन् । समाजको दबाबपछि उनले सेतीमायासँग विवाह गरे । घाँस काट्न जाँदा एक दिन उनी भीरबाट लडिन् । पेटमा भएको बच्चा गुमे पनि उनी कसोकसो बाँचिन् । केही वर्षको अन्तरालमा छोरो त जन्माइन्, २४ घन्टापछि उसलाई बचाउन सकिएन । फेरि सेतीमाया कहिल्यै आमा बनिनन् ।


थोत्रो टहरामा काँपिरहेका वृद्ध दम्पतीलाई अहिले स्थानीय र क्लबले केही सहयोग पुर्‍याउने गरेका छन् । चौतारा साँगाचोकगढी नगरका अमित घिमिरे जनप्रतिनिधिले उनीहरूलाई बेवास्ता गरेको बताउँछन् । ‘स्थानीय तहबाट सामान्य सहयोग त पुर्‍याउन सकिन्छ नि,’ उनले गुनासो गरे, ‘गाँसबासको व्यवस्था गर्न मुस्किल भइरहेको छ, जनप्रतिनिधिले किन देख्नुहुन्न ?’


प्रकाशित : मंसिर २१, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?