कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

भ्रमण वर्ष : सुस्त तयारी, चिन्तित व्यवसायी

अनिश तिवारी

(सिन्धुपाल्चोक) — नेपाल भ्रमण वर्ष २०२० सुरु हुन एक महिनामात्रै बाँकी रहँदा सिन्धुपाल्चोकमा छानिएका तीन गन्तव्य पुनर्निर्माण र प्रवर्द्धन अभावमा अझै व्यवस्थित बन्न सकेका छैनन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘सय गन्तव्य सूची’ मा भोटेकोसी/सुनकोसीको र्‍याफ्टिङ, बन्जी जम्पका साथै हेलम्बु र पाँचपोखरी परेका छन् ।

भ्रमण वर्ष : सुस्त तयारी, चिन्तित व्यवसायी

तर, यहाँ पुनर्निर्र्माण र भौतिक पूर्वाधारको प्रारम्भिक तयारी पनि भएको छैन । प्रदेश र स्थानीय सरकारबाट केही संरचना निर्माण भइरहे पनि पर्यटकको मुख्य आकर्षण क्षेत्र प्राथमिकतामा परेको देखिन्न । जिल्लाको हिमाली क्षेत्र हेलम्बु, पाँचपोखरी हुँदै भोटेकोसी र सुनकोसी नदीमा पर्यटकीय तयारीको लागि पहल नहुँदा पर्यटन व्यवसायी चिन्तित देखिन्छन् ।


तातोपानीको चिन्ता

चीन जोड्ने प्रमुख नाका तातोपानी ब्युँतिन लामो समय लाग्यो । भूकम्प, भोटेकोसी बाढी र बर्खे पहिरोपछि खण्डहर बनेका यहाँका पर्यटकीयस्थल अझै पुरानो अवस्थामा फर्किन सकेका छैनन् । बर्सेनि ठूलो संख्यामा तातोपानीमा नुहाउन आउने आन्तरिक पर्यटकको संख्या अहिले निकै गिरावट आएको छ ।


तातोपानी–६ दुगुनामा रहेको ऐतिहासिक स्थल दुगुनागढी पुनर्निर्माण गरेर पुरानै स्वरूपमा ठड्याइए पनि पर्यटक पुर्‍याउने गरी तयारी गरिएको छैन । तातोपानी नाका बन्द भएपछि सो बाटो भएर भारतलगायत मुलुकका तीर्थयात्रीले चीनको स्वशासित क्षेत्र तिब्बतको कैलाश मानसरोबर भ्रमण गर्न पाएका छैनन् । दुगुनागढी हुँदै ४२ सय मिटर उचाइमा रहेको भैरवकुण्डसम्म जाने पर्यटकीय पदमार्ग बनाइए पनि दुगुनागढीमा पहिलेजस्तो होमस्टे नहुँदा समस्या छ ।


पहिले होमस्टे रहेका दुगुनागढीमाथिका यार्मासिंह, खाम्गेक विक टोल, भूमाचौर पाटीकुना, भेकासिंह, थांमाछे र ढिसिङ टोलका एक सय ४५ घर पुनर्निर्माण भइरहेका छन् । भूकम्पअघि पश्चिमा मुलुकका दुई हजारभन्दा बढी पर्यटक वार्षिक दुगुनागढी र भैरवकुण्ड आउँथे । तातोपानीको बाटो भई वार्षिक ५० हजारभन्दा बढी विदेशी पर्यटक आउनेजाने गर्थे । जसमध्ये ४० हजारभन्दा बढी त चीनकै हुन्थे ।


धर्मराउँदो एड्भेन्चर पर्यटन

उत्खनन् र प्रदूषणले नदी बगरझैं बनेपछि भूकम्पपछि सन्तुलनमा आएको बन्जी र र्‍याफ्टिङको पर्यटनमा उत्साह छैन । ‘जल पर्यटनलाई अरू चुनौती छैन् तर जथाभावी दोहन र नदी प्रदूषण नियन्त्रण नगरिँदा भविष्य धर्मराउँदो छ,’ सुकुटे बिच एड्भेन्चर रिसोर्टका महेन्द्रसिंह थापा भन्छन्, ‘जलविद्युत् आयोजना सम्पन्न भएपछि नदी सुक्ने डरले एडभेन्चर पर्यटन मुस्किलमा अडिरहेको भान हुन्छ ।’


भूकम्पअघि करिब तीन लाख पर्यटक जलपर्यटनका लागि सिन्धुपाल्चोक भित्रिएका थिए । दैनिक ९० भन्दा बढी आन्तरिक र बाह्य पर्यटक र्‍याफ्टिङ र क्यानोनिङकै लागि आउने गरेका छन् ।


०५६ सालमा पहिलोपटक न्युजिल्यान्डका डेबिड र नेपाली विष्णुप्रसाद न्यौपानेले सञ्चालन गरेको बन्जी जम्प पर्यटकीय गन्तव्यका रूपमा प्रख्यात छ । दैनिक आउने ७० पर्यटकमा ४५ जना नेपाली बन्जीमा रमाउँछन् । सडक र पहिरो रोकथामलाई व्यवस्थित नबनाइँदा बन्जीसम्म आउने अवस्था जोखिमय बन्दै गएको छ । ठूला क्षमताका जलविद्युत् आयोजनापछि भोटेकोसीको बहाव घट्ने त्रासमा व्यवसायी छन् । ‘जलविद्युत गलत हो भन्न खोजेका होइनौं तर जलपर्यटनलाई बेवास्ता गरिएको छ,’ नेपाल र्‍याफ्टिङ एसोसिएसन (नारा) का अध्यक्ष गंगाप्रसाद नेपालले भने ।


‘हल्ला मात्रै’

भूकम्पअघि वार्षिक ३६ हजार पर्यटक पदमार्गको आनन्द लिँदै हेलम्बुको बस्तीदेखि पाँचपोखरीका विभिन्न धार्मिकस्थल अवलोकन गर्थे । अहिले पूर्वाधार र धार्मिक मन्दिर तंग्रिने चरणमा दैनिक ४० पर्यटकमात्रै भित्रन्छन् । स्थानीय सरकारबाट केही प्राचीन गुम्बा, माने छ्योर्तेन र मन्दिर बनाउने प्रयास भए पनि सरकारबाट छुट्याइएको रकम नपाएपछि अधिकांश ध्वस्त अवस्थामा छन् ।


ह्योल्मो जातिको उद्गमस्थल मानिने तार्केघ्याङ, गुरु रिन्पोछेको गुफा, चिरी गुम्बा, मेलम्चीघ्याङ, महादेव पाइला, आमायांग्री र पाँचपोखरी घुम्न आउने आन्तरिक पर्यटक नै निकै हुन्छन् । तिब्बती महायोगी मिलारेपा र प्राचीन गुम्बामा हुने महत्वपूर्ण पूजामा आउने पर्यटकको संख्या पनि उल्लेख्य छ । ‘तर, ती स्थानमा पर्यटक पुग्ने वातावरण अझै बन्न सकेको छैन,’ हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले भने ।


चीनको ग्रेटवालपछि विश्वकै दोस्रो ठूलो हिमालयन ग्रेटवाल बनाइरहेको हेलम्बु धार्मिक पर्यटनसँग जोडेर पर्यटकीय पदमार्ग र योजनामा जुटेको छ । ह्योल्मो भूमि हेलम्बुको शेर्माथान, मेलम्चीघ्याङ हुँदै पाँचपोखरीमा पर्यटकका लागि होटल, रिसोर्ट पूर्ण रूपमा व्यवस्थित र पर्याप्त छैनन् । ‘सडक सञ्जाल त जोडिएको छ,’ शेर्पाले भने, ‘अरू तयारी धेरै बाँकी छन् । पर्यटन वर्ष त हल्ला गरेजस्तो मात्रै बनेको छ ।’

प्रकाशित : मंसिर २१, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?