कैदीबन्दीलाई टेलिफोन सुविधा

हेटौंडा — क्षेत्रीय कारागार भीमफेदीका कैदीबन्दीलाई आफन्त र वकिललाई सहज रूपमा टेलिफोनमार्फर् सम्पर्क गर्न पाउने व्यवस्था गरिएको छ । दुईवटा ब्लक छुट्याइएको कारागारमा जीएसएम सिस्टमअन्तर्गतका नौवटा टेलिफोन सेट राखिएको जेलर प्रकाश खनालले बताए । ‘क’ ब्लकमा पाँच र ‘ख’ मा चारवटा सेट छन् ।

कैदीबन्दीले आफन्त र वकिललाई दैनिक बढीमा १० मिनेटसम्म टेलिफोन गर्न पाउने व्यवस्था मिलाइएको छ । कारागारले प्रतिमिनेट साढे दुई रुपैयाँ शुल्क तोकेको छ । टेलिफोन बुथमा एकजना सुरक्षाकर्मी खटिएका छन् भने टेलिफोन ट्यापिङको व्यवस्था पनि मिलाइएको छ । जेलभित्रवाट आपराधिक क्रियाकलाप गर्न लगाउन सक्ने भएकाले शंकास्पद कैदीबन्दीको फोन ट्याप गर्ने गरिएको जेल प्रशासन जनाएको छ । टेलिफोन गर्न कम्तीमा आधा घन्टा लाइनमा बस्नुपर्छ ।


‘दुई सयजति भारतीय नागरिक पनि रहेकाले टेलिफोनमार्फत् उनीहरूले आफ्ना परिवारसँग कुरा गर्न पाऊन् भनेर सुविधा दिएका हौं,’ जेलर खनालले भने ।

यसैगरी, कारागारको जेल प्रशासनले कैदीबन्दीाई लगाउने एकजोर कपडाको सट्टा नगद रकम नै दिने भएको छ । यसअघि ६/६ महिनामा कैदीबन्दीले एकएक जोर कपडा पाउँथे । जाडो मौसममा लगाउने कपडाको निम्ति प्रतिकैदीबन्दी एक हजार सात सय रुपैयाँ दिने निर्णय भएको जेलर खनालले बताए ।


क्षेत्रीय कारागार भीमफेदीमा एक हजार ११ जना कैदीबन्दी छन् । यहाँ पुरुषमात्र छन् । महिला कैदीबन्दी राख्नका लागि अर्को भवन निर्माणाधीन अवस्थामा छ । प्रदेश ३ को सरकारले उक्त जेलभित्र उद्योग सञ्चालन गर्न पनि बजेट विनियोजन गरेको छ । जेलभित्र उद्योग दर्ता नगरीकन बाँसका मुढा बनाउने, गलैंचा र टोपी बुन्ने काम भइरहेको छ ।

प्रकाशित : मंसिर २१, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?