गैंडा मृत्युसम्बन्धी मुद्दामा अभियुक्तलाई सफाइ

चितवन — गैंडाको मृत्यु घटनासम्बन्धी मुद्दामा अदालतले अभियुक्तविरुद्ध दाबी नपुग्ने भन्दै सफाइ दिएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश विनोदकुमार गौतमले बुधबार सफाइको फैसला गरेका हुन् । 

गैंडा मृत्युसम्बन्धी मुद्दामा अभियुक्तलाई सफाइ

पश्चिम चितवनको भरतपुर–२३ जगतपुरमा रहेको पर्यटकीय होटल टाइगर ल्यान्डको सेफ्टी ट्यांकीमा परेर गत चैत १० गते पोथी गैंडा मरेको थियो । घटनापछि चितवन निकुञ्जका रेञ्जर शान्तबहादुर मगरका तर्फबाट चैत २६ मा चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । निकुञ्जले होटलका सम्बन्धित व्यक्ति अजित राणा भन्ने अजितविक्रम शाह, प्रद्युम्न घिमिरे, दीपक खनाल, कान्ति थापा, दिलबहादुर गुरुङ र भाष्कर भट्टराईविरुद्ध मुद्दा दायर गरेको थियो ।


चितवन जिल्ला अदालतले गत वर्षको मंसिर २६ मा भने गैंडा मृत्युसम्बन्धी मुद्दामा चारजनालाई दोषी ठहर गरेको थियो । होटल मेघौली सेराईमा करेन्ट लागेर ०७३ साउन २५ मा गैंडा मरेको घटनामा अदालतले होटलका चार कर्मचारीलाई ५० हजारदेखि एक लाख रुपैयाँ जरिवाना गरेको थियो ।


०७४ माघमा पनि सौराहास्थित एक होटलको सेफ्टी ट्यांकीमा गैंडा परेको थियो । तर, गैंडाको उद्धार गरिएको थियो । उक्त घटनापछि ०७४ माघ २६ मा चितवन निकुञ्जको सौराहामा रहेको पूर्वी सेक्टर कार्यालयले सूचना निकालेर सेफ्टी ट्यांकी वा गोबरग्यासको खाल्डो पुर्न वा सुरक्षित तरिकाले बनाउन आग्रह गरेको थियो ।

प्रकाशित : मंसिर २०, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?