कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

तीन अर्ब ठग्ने योजना असफल

काठमाडौं — नक्कली पत्थर देखाएर करिब तीन अर्ब रुपैयाँ ठगी गर्ने गिरोहको योजना असफल भएको छ  । सर्वसाधारण र व्यापारीलाई बहुमूल्य पत्थर भन्दै ठगी गर्ने गिरोहका पाँचजनालाई नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले करिब एक लाख मूल्य पर्ने पत्थरजन्य वस्तुसहित काभ्रेको पनौतीबाट पक्राउ गरेको हो  ।

काभ्रे बेथानचोकका नवराज खड्का, झापाका हरि खापुङ र यमकुमार गिरी, मोरङका लोकबहादुर सार्की र रौतहटका भीमबहादुर लामा पक्राउ परेका हुन् ।

‘बिहीबार बिहान गैरकानुनी रूपमा बहुमूल्य पत्थर बिक्री गर्ने समूह सक्रिय रहेको भन्दै प्रहरीलाई सूचना आएको थियो,’ महाशाखा प्रमुख एसएसपी सहकुल थापाले कान्तिपुरसँग भने, ‘त्यसपछि मध्याह्न १२ बजेतिरबाट गिरोहसँग व्यापारी बनेर हामीले खरिद गर्ने बहानामा डिल गर्न थाल्यौं ।’

व्यापारी बनेर गिरोहसम्म सम्पर्क बनाएपछि महाशाखाले एसपी ईश्वर कार्कीको नेतृत्वमा हतियारसहित सादा पोसाकका प्रहरीलाई ‘पत्थर खरिदकर्ता’ बनेर काभ्रे पठायो । गिरोहले पत्थर किन्न डिल गर्ने समूहलाई पनौती बोलाएको थियो । गिरोहले मोजनाइट, काइनेटिक, ब्ल्याकस्टोन, ग्रिन डायमन्ड, एलबी डायमन्ड, फेन्सी डायमन्ड, पुष्पराज, नीलम, लसुनिया, रुवी लगायतका पत्थर रहेको जानकारी दिएको थियो । सोहीअनुसार ‘शो मनी’ (अनुसन्धानका क्रममा आपराधिक तथा गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिलाई लोभमा पार्न देखाइने पैसा) सहित प्रहरी गिरोह नियन्त्रणका लागि काभ्रे प्रस्थान गर्‍यो ।

व्यापारी बनेर पुगेको प्रहरीले सुरुमा पत्थर हेर्ने भन्दै प्रस्ताव गरेपछि नक्कली सामान देखाइएको थियो । गिरोह र सामानमा पहुँच पुगेलगत्तै प्रहरीले बिहीबार साँझ ६ बजे हतियार देखाएर उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट एक केजी एक सय २३ ग्राम नक्कली पत्थर र पहेँलो धातुमा जडित ८.९३ ग्रामका औंठीसमेत बरामद भएको छ । प्रहरीका अनुसार उक्त पत्थर सक्कली भएको भए त्यसको मूल्य तीन अर्बभन्दा बढी पर्ने थियो ।

प्रकाशित : मंसिर १५, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?