कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्सेनि ज्यान गुमाउँछन् ६८ पैदलयात्रु

कान्तिपुर संवाददाता

काठमाडौं — उपत्यकामा पैदलयात्रु निकै जोखिममा छन्  । सवारी दुर्घटनामा बर्सेनि औसत ६८ पैदलयात्रुले ज्यान गुमाउने गरेको तथ्यांक छ  ।

काठमाडौं उपत्यकामा पैदलयात्रु निकै जोखिममा छन् । सवारी दुर्घटनामा बर्सेनि औसत ६८ पैदलयात्रुले ज्यान गुमाउने गरेको तथ्यांक छ । पछिल्लो दुई वर्षयता सवारी दुर्घटनामा मोटरसाइकल र स्कुटर चालकपछि मृत्यु हुनेमा पैदलयात्रु छन् । ०७४ मा एक सय ९४ दुर्घटनामा पैदलयात्रु ९३, मोटरसाइकल र स्कुटर चालक एक सय ११, ट्रक चालक र यात्रु चार, साइकलयात्रु तीन, बसका चालक र यात्रु आठ र कारका चालक चार जना छन् । गतवर्ष पनि दुई सय ९४ जनाको मृत्यु भएकोमा मोटरसाइकल र स्कुटरका एक सय १५ जना र पैदलयात्रु ९३ जनाले दुर्घटनामा ज्यान गुमाएका छन् । मृत्यु हुने पैदलयात्रुमध्ये जेब्रा क्रसमा बाटो काट्ने र सडकमा हिँड्ने यात्रु रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

उपत्यकामा कतिले ज्यान गुमाए ?

वर्ष मृतक पैदलयात्रु
२०७० ५३
२०७१ ५७
२०७२ ६५
२०७३ ७९
२०७४ ६३
२०७५ ९३
स्रोत ः ट्राफिक प्रहरी महाशाखा

प्रकाशित : मंसिर १५, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्

भेन्टिलेटरको ट्युबमा अड्किएको प्राण !

फातिमा बानु

(काठमाडौं) — बोल्न खोज्छिन्, आवाज निस्कँदैन  । घाँटीमुनिको भाग चल्दैन  । एकोहोरो टोलाउँछिन् मात्रै । कोल्टो फेर्नसमेत उनलाई सहारा चाहिन्छ । कसैको सहयोगबिना खान, दिसापिसाब गर्न पनि सक्दिनन् । स्वास अड्किएको बोली उनका श्रीमान्बाहेक अरूले बुझ्न सक्दैनन् । बेडछेउमा राखिएको भेन्टिलेटरको सहायतले तीन वर्षदेखि उनको प्राण धानेको छ । भेन्टिलेटरको पाइप निकाल्दा अनुहार रातो पार्छिन् । आँखा पल्टाउँछिन् ।

ट्रमा सेन्टरको बेड नं ५१४ मा चेली तामाङ यसरी गुज्रिएको तीन वर्ष हुन लाग्यो । श्रीमान् बसन्त शाही उनको हेरचाहमा अहोरात्र खटिएका छन् । चिकित्सकले ‘अब चेलीलाई बचाउन सकिँदैन’ भने पनि उनले हार खाएका छैनन् । ‘भेन्टिलेटरको पाइप निकालिदियो भने स्वास फेर्न नसकेर २० मिनेटमै मर्छिन् रे,’ उनले मसिनो स्वरमा भने ।

राजधानीको तीनकुनेस्थित जेब्राक्रसबाट बाटो काट्दा बा६५प ७५४९ नम्बरको मोटरसाइकलले ०७३ चैत २५ मा ठक्कर दिएपछि चेली उठ्न र बोल्न नसक्ने गरी थलिएकी हुन् । नौ सय ५९ दिनदेखि उनी भेन्टिलेटरमै छिन् ।

काभ्रेको भकुण्डेबेँसीकी उनी काठमाडौंको जडिबुडीमा ब्युटीपार्लर चलाएर जीवन गुजारा गर्थिन् । दुर्घटना हुँदा श्रीमान् वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । जुन दिन घटना भयो, त्यसबेला बसन्त नेपाल आउने तयारीमा थिए । घर ल्याउने सामान जुटाइरहेका थिए । फोनमा चेलीले भनेकी थिइन्, ‘त्यहाँ केही किन्नु पर्दैन । यहीँ सस्तो हुन्छ, यतै किनौंला ।’ पाँच वर्षमा कमाएको २० लाख पनि उनले मलेसियाबाट पठाइसकेका थिए । दुर्घटना परेपछि चेलीको फोन अफ भयो । अनि बसन्त छटपटाउन थाले ।

‘त्यत्रो पैसा पठाइसकेको थिएँ । पछि फोन नै अफ हुँदा म त आत्तिएँ,’ त्यसबेलाको घटना सम्झँदै बसन्तले भने, ‘यत्रो पैसा लिएर अर्कैसँग पो गइन् कि भनेर नराम्रो सोचेँ ।’ दुर्घटनाको खबर सुनेपछि भने बसन्तले आफूलाई थाम्न सकेनन् । दुर्घटना भएको पाँच दिनपछि नेपाल फर्केर मात्रै उनले चेलीलाई भेटे, जतिबेला उनी नर्भिक अस्पतालको आइसीयूमा थिइन् ।

‘मैले देख्दा टाउको र खुट्टा बेस्सरी सुन्निएको थियो,’ उनले भने, ‘धेरै दिन आइसीयूमा बेहोस अवस्थामा थिइन्, आज यत्तिको पनि देख्न पाइएला भनेर मैले सोचेको थिइनँ ।’ नर्भिक अस्पतालको महँगो उपचार खर्च धान्न नसकेपछि ट्रमा सेन्टर सारिएको उनले बताए ।

‘यहाँ ल्याएपछि पनि एक वर्ष त आइसीयूमै बसिन् । अहिले बेडमा सारे पनि अवस्था उस्तै छ, आफैले स्वास फेर्न सक्दिनन्,’ उनले भने, ‘उपचारमा ८० लाख खर्च गरिसकेँ ।’

अस्पतालले निःशुल्क बेडमा राखेर चेलीलाई उपचार गरिरहेको छ । उनको दुःख देख्न नसकेर बसन्तलाई अस्पतालले नै सुरक्षा गार्डको रोजगारी दिएको छ । उनी रातभर गार्ड बस्छन्, दिनभर श्रीमतीको हेरचाहमा खटिन्छन् ।

‘कुर्ने मान्छे अरू कोही छैन । म त ननिदाएको पनि धेरै दिन भइसक्यो,’ उनले सुनाए । अझै कति समय अस्पतालमा बिताउनुपर्ने हो, उनलाई थाहा छैन । भेन्टिलेटरबिना चेली २० मिनेटभन्दा बढी बाँच्न सक्दिनन् ।

अस्पतालले भेन्टिलेटरसहित चेलीलाई घर लगे हुन्छ भने पनि उनले आँट गर्न सकेका छैनन् । प्रेमविवाह गरेपछि बसन्तको परिवारले चेलीलाई स्वीकार गरेन । दुर्घटनापछि अस्पताल अचेत हुँदासमेत घरतिरका कोही पनि उनलाई भेट्न आएका छैनन् । आठ वर्षकी छोरी चेलीकी बैनीको रेखदेखमा छिन् ।

ठक्कर दिने मोटरसाइकल चालक प्युठानका रेशम केसीलाई प्रहरीले पक्राउ गरे पनि उपचार खर्च बेहोर्नेलगायत सर्तमा छाडिदियो । त्यसपछि उनी फरार छन् । थप उपचार खर्च कसरी जुटाउने भन्ने चिन्ताले बसन्तलाई पिरोलेको छ ।

‘सुरुमा त त्यो मान्छे अस्पताल आउँथ्यो, उपचार खर्च पनि दिएको थियो,’ उनले भने, ‘अहिले त फोन पनि लाग्दैन, अस्ट्रेलिया भागेको छ भन्ने सुनेको छु ।’

श्रीमतीलाई घाइते बनाएर भाग्ने मान्छे खोजिदिनुपर्‍यो भनेर बसन्त तीनकुनेस्थित प्रहरी वृत्तमा गइरहन्छन् ।

प्रहरीको असहयोगले उनलाई थप पीडा दिएको छ । उपचार खर्च जुटाउँदा बसन्त ऋणमा डुबेका छन् ।

‘थप उपचार गर्ने पैसा छैन । ऋण कसैले पत्याउँदैन,’ उनले भने, ‘ठक्कर दिने चालक पनि बेपत्ता छन् ।’

उपचारमा संलग्न चिकित्सक डा. राजीव झाका अनुसार उनको स्वास फेर्ने नसा मृत भइसकेको छ । कृत्रिम स्वास फेराउनेबाहेक बचाउने अन्य कुनै उपाय छैन ।

‘हामीले पेस मेकर राखेर उनलाई स्वास फेराउने कोसिस गर्‍‍यौं भारतबाट चिकित्सक बोलाएर पनि हेर्न लगायौं तर भएन,’ उनले भने, ‘अब कुनै चमत्कारले मात्रै उनलाई बचाउन सक्छ ।’


प्रकाशित : मंसिर १५, २०७६ १०:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×