टीयू र एएफयूबीच पुन: विवाद

सुवास विडारी

(मकवानपुर) — निर्माणाधीन विश्वविद्यालय भवनको विषयलाई लिएर कृषि तथा वन विश्वविद्यालय (एएफयू) र त्रिभुवन विश्वविद्यालय (टीयू) बीच पुन: विवाद उत्पन्न भएको छ । दुवै विश्वविद्यालयले हेटौंडा–१० मा वनविज्ञान विज्ञान संकाय सञ्चालन गरिरहेको स्थानमा प्रदेश सरकारको १० करोड लगानीमा बन्न लागेको भवनलाई लिएर पुन: विवाद देखिएको हो ।

बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गरी टीयूले एएफयूले तोकिएको जग्गाभन्दा फरक स्थान अतिक्रमण गरी अदालतको आदेशविपरीत काम गरेको आरोप लगाएको छ ।


वन विज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पसले तोकिएको स्थानभन्दा अन्यत्र जग्गा अतिक्रमण गरेर भवन निर्माण सुरु गरेको भन्दै उच्च अदालत पाटन, हेटौंडा इजलासमा मुद्दा दायर गरेको थियो । साउन ८ मा न्यायाधीश टेकराज नेपाल र चण्डीराज ढकालको संयुक्त इजलासले जग्गा विवाद अन्तिम टुंगो नलागेसम्म रुख कटान तथा भवन निर्माणका काम नगर्न अन्तरिम आदेश जारी गरेको थियो । तर आदेशविपरीत एएफयूले भवन निर्माणलाई निरन्तरता दिएको भन्दै टीयूले विरोध गरेको हो । ‘अदालतको आदेश अवज्ञा गर्दै भवन बनाएको जानकारी गराए पनि प्रशासन मौन रहेको छ, हामी त्यसविरुद्ध संघर्ष गर्छौं,’ हेटौंडा क्याम्पस प्रमुख विजयकुमार यादवले भने ।

०६७ मा एएफयुअन्तर्गत हेटौंडामा वन विज्ञान संकाय स्थापना भएको हो । मन्त्रिपरिषद् र त्रिभुवन विश्वविद्यालय सभाको निर्णयअनुसार वन विज्ञान अध्ययन संस्थानको स्वामित्वमा रहेको जग्गामध्ये पश्चिम दक्षिणको ६० बिघा वन विज्ञान संकायलाई दिइने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।


टीयूले एक सय ५८ बिघा जग्गाको लालपुर्जा हालसम्म आफ्नै नाममा रहेको भन्दै एएफयूलाई भवन निर्माण गर्न नदिने अडान लिएको छ । वन विज्ञान अध्ययन संस्थानले भने ०६७ मा स्थापनाकालदेखि भोगचलन गरिरहेको र हालसम्म लालपुर्जा संस्थानकै स्वामित्वमा रहेको दाबी गरेको छ । वन विज्ञान संकायका डीन डा. बलराम भट्टले वन विज्ञान अध्ययन संस्थान नै एएफयूमा गाभिइसकेको दाबी गरे । विद्यार्थी भर्नादेखि जग्गा विवाद बढेपछि ०७४ मा सर्वोच्चले एएफयुमा ऐनअनुसार वन विज्ञान अध्ययन संस्थान गाभ्न अन्तरिम आदेश दिएको उनको भनाइ छ ।


प्रकाशित : मंसिर १४, २०७६ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?