२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

अब सबै जनता बाठो बन्नु पर्छ : अध्यक्ष तामाङ 

नुवाकोट (घलेगाउँ) — पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले अब सबै जनता बाठो बन्नु पर्ने बताएका छन् । आइतबार घलेभञ्ज्याङस्थित गाउँपालिका भवनमा तीन दिने सञ्चार तथा सार्वजनिक अभिव्यक्ति तालिम समापन समारोहमा बोल्दै तामाङले हरेक गतिविधिमा नागिरकको सहभागिता, समाजबारे जान्ने, बुझ्ने र बोल्ने हुनुपर्ने धारणा राखेका हुन् । सबैले बुझ्ने, सुन्ने र बोल्ने अवस्था बनेमा नमुना पञ्चकन्या टाढा नरहेको उनको भनाइ थियो ।

अब सबै जनता बाठो बन्नु पर्छ : अध्यक्ष तामाङ 

अध्यक्ष तामाङले सार्वजनिक अभिव्यक्ति तालिम एकदमै महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन गाउँपालिका सहयोग गर्न तयार रहेको बताए । नागरिकका चेतना र आर्थिकस्तर बढ्दै गएको भन्दै उनले समृद्ध पञ्चकन्या बनाउने गाउँपालिकाको अभियानले छिट्टै सार्थकता पाउने विश्वास व्यक्त गरे ।


अध्यक्ष तामाङले गाउँपालिकामा सार्वजनिक कार्यक्रमहरु हुँदा योग्य, अनुभवी र दक्ष उद्घोषक नहुँदा पटक पटक आफैं अघि सर्नुपर्ने अवस्था आएको बताए । 'मलाई पनि अतिथिको रुपमा कुर्सीमा बस्न मन थियो होला तर गाउँपालिकामा निम्त्याइएका पाहुनालाई स्वागत, सम्मान र मर्यादा राख्न कमी नहोस् भनेर कोट लाएरै आफैं उद्घोषक बन्ने गरेको छु', पाँचकन्या मेलाबारे अन्य वक्ताले उठाएको सन्दर्भलाई प्रस्ट्याउँदै उनले भने, 'यहाँ क्षमतावान् व्यक्ति नभएको पक्कै हो, किनकि केही तलमाथि भयो भने कुरो मैमाथि आउनेछ ।'


गाउँपालिकाभित्र हुने कार्यक्रममा कमीकमजोरी भएमा स्थानीय सरकारलाई दोष आउने हुनाले त्यसतर्फ आफू र आफ्नो टिम सचेत रहेको उनको भनाइ थियो । पञ्चकन्या जनकल्याण युवा समाजले सञ्चालन गरेको तालिमले आगामी दिनमा कार्यक्रम सञ्चालकहरु उत्पादन हुने आशा पनि उनको थियो ।

तालिममा सहभागीले सिकेको ज्ञानबाट पञ्चकन्याको सामाजिक, आर्थिक, धार्मिक लगायत विकासमा टेवा पुग्नेमा उनले विश्वास व्यक्त गरे ।


उक्त गाउँपालिका वडा नं १ का अध्यक्ष मणिनाथ लामिछानेले ढिलै भए पनि गाउँपालिकामा सार्वजनिक अभिव्यक्ति तालिम भित्रिएकोमा खुसी व्यक्त गरे । उनले आगामी दिनमा गाउँपालिकास्तरीय बनाउन आयोजक संस्थालाई सुझाव दिए । तीन दिने प्रशिक्षणमा सहभागीहरु सिंगो पञ्चकन्याको सम्पत्ति भएको उल्लेख गर्दै अध्यक्ष लामिछानेले व्यवहारमा परिणत गर्न आग्रह गरे ।


युवा समाजले गाउँपालिकाको सहयोगमा ३ नम्बर वडास्तरीय तालिम आयोजना गरेको थियो । मंसिर ६ देखि ८ गतेसम्म चलेको प्रशिक्षणमा रेडियो नेपालका वरिष्ठ कार्यक्रम अधिकृत अमरध्वज लामा प्रशिक्षक थिए । प्रशिक्षणमा ३० जना सहभागी थिए । उनीहरुलाई उद्घोषण र भाषणसम्बन्धी ज्ञान दिलाइएको थियो ।

प्रकाशित : मंसिर ९, २०७६ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?