२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सिन्धुलीगढी घुमेर हेर्दा...

राजकुमार कार्की

(सिन्धुली) — कृष्णविक्रम थापाले ०३६ सालमा गाएको यो लोकगीत जति जीवन्त छ, सिन्धुलीगढीको इतिहास उति नै गर्विलो छ । 

सिन्धुलीगढी घुमेर हेर्दा...

‘सिन्धुलीगढी घुमेर हेर्दा

सुन्तलीमाई कति पो राम्रो दरबार

मार्‍यो नि मायाले मार्‍यो....।


नेपाल एकीकरणका बेला काठमाडौंका राजा जयप्रकाश मल्ललाई सहयोग गर्न आएको ब्रिटिस सेनालाई सिन्धुलीगढीबाट गोर्खाली फौजले पराजित गरेर फर्काइदिएको थियो । यही वीरगाथा कोरेको सिन्धुलीगढीको संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि भएको ‘राइड थ्रु सिन्धुलीगढी’ साइकल यात्रामा सहभागीले शनिबार गढी परिसर यही गीतले गुन्जायमान बनाए । विश्व साइकलयात्री पुष्कर शाहको नेतृत्वमा आएको यात्राका सहभागी गढी परिसरको अवलोकन गर्दै छमछमी नाचे ।


साइकलबाटै चौथोपटक सिन्धुलीगढी आइपुगेका शाहले यहाँ आएपछि गौरव महसुस हुने बताए । ‘बीपी राजमार्गको नागबेली सडक र सिन्धुलीगढीमा साइक्लिङ गरेर आउनुमा छुट्टै आनन्द आउँछ,’ उनले भने, ‘सिन्धुलीगढीमा आएपछि राष्ट्रियताले झपक्कै छोप्छ ।’ साइकल यात्रीलाई गोलन्जोर गाउँपालिका–५ को खनियाँखर्कमा जुनारले स्वागत गरिएको थियो । एकदिने जुनार महोत्सव नै लगाएर जुनार जुसबाट साइकल यात्रीको तिर्खा मेटाइएको थियो ।


सिन्धुलीको पहिचान बोकेको जुनार प्रवर्द्धनका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रदेश–३ का उद्योग पर्यटन तथा वातावरण मन्त्री अरुण नेपालले सुनाए । राइड थ्रु सिन्धुलीगढीकी संयोजक दीपिका ज्ञवालीका अनुसार १६७ जना साइकलयात्री सहभागी छन् । पहिलो वर्ष सिन्धुलीगढीसम्म लगिएको साइकल यात्रा दुई वर्षदेखि जनकपुरसम्म विस्तार गरिएको छ । साइकलयात्री जनकपुरधाममा आयोजना गरिने मैथिली लोक संस्कृतिसहितको कार्यक्रममा आइतबार सहभागी हुने अभियानका अध्यक्ष लीलानाथ घिमिरेले बताए ।


प्रकाशित : मंसिर ८, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?