गोरु काटेको आरोपमा ३ जना पक्राउ

कान्तिपुर संवाददाता

धादिङ — गोरुको मासु भागवण्डा गर्दै गरेका ३ जनालाई खनियावासस्थित दार्खा प्रहरी चौकीले पक्राउ गरेको छ । खनियावास–३, वीरचेत निवासी आन्द्र तामाङ र उनका छोरा बुद्ध तामाङ तथा छिमेकी हिरा तामाङलाई प्रहरीले सूचनाका आधारमा बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई गोरु काट्न प्रयोग गरिएका हतियारसहित कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ । पक्राउ परेकाहरुले भने भीरबाट लडेको गोरु काटेको वयान दिएका छन् ।

प्रकाशित : मंसिर ६, २०७६ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जापानी गीत बजेपछि फोहोर लिएर सडकमा

कान्तिपुर संवाददाता

(भक्तपुर) — घरबाहिर कसैले सिटी बजाउनेबित्तिकै फोहोरको गाडी आयो भन्ने संकेत गर्छ  । सिटी बजेपछि हतारिँदै केहीले फोहोर लगेर बाहिर थुपार्छन्, केहीले आफैं गाडीमा फ्याँक्छन्  ।

मध्यपुर थिमि नगरपालिकाको भित्री बस्तीमा भने फोहोर लिन जाँदा न गाडीको हर्न बजाइन्छ न त फोहोर उठाउनेले सिटी नै फुक्छन् ।

हरेक मंगलबार बिहान जापानी गीत घन्काउँदै दुईवटा गाडी बस्ती छिर्छन् । सानो गाडी अघि, टिपर पछिपछि । अघिल्लो गाडीमा राखेको साउन्ड बक्सबाट जापानी गीत बज्नेबित्तिकै टोलवासी सबै काम छाडेर बाल्टीको फोहोर बोकेर सडकमा निस्कन्छन् । हरियो रङको सानो गाडीमा बाल्टीको कुहिने फोहर फ्याँक्छन् अनि बोरा र कार्टुनमा राखिएको नकुहिने फोहोर पछिल्लो टिपरमा हाल्छन् ।

मध्यपुर थिमि ४ की कमला श्रेष्ठ डेढ वर्षदेखि घरबाट निस्कने फोहोर व्यवस्थापन गर्दै आइरहेकी छिन् । ‘कुहिने फोहोर नगरपालिकाले दिएको बाल्टीमा र नकुहिने फोहोर अर्को गाडीमा हाल्छौं,’ उनले भनिन् । घरको फोहोर लगेबापत मासिक शुल्क तिर्नुपर्ने झन्झट पनि छैन । कुहिने फोहोर हाल्ने बाल्टी लिन सुरुमा हरेक घरधनीले पाँच सय ५० रुपैयाँ तिरे । ‘त्यसयता कुनै महिना फोहोर उठाएबापतको भन्दै छुट्टै शुल्क तिर्नुपरेको छैन,’ कमलाले भनिन् ।

नगरपालिकाले प्रत्येक साता कुहिने फोहोर उठाउने गरेको छ । नकुहिने फोहोर भने दुई सातामा एकपटक उठाइन्छ । कुहिने फोहोर उठाउँदा घरधनीलाई धानको भुस, ढुटो, पत्कर, रातो माटो मिसाएर बोरामा दिइन्छ । यसलाई जापानी भाषामा ‘तोकाजाई’ भनिन्छ । यी सबै वस्तु मिसाएर दुई सातासम्म बाक्लो कार्पेटले छोपेर गुम्स्याउँछन् । १० देखि १४ दिनसम्म तापक्रम मिलाएर बोरामा राखेपछि मात्रै नगरवासीको घरमा पठाउने गरिन्छ । प्राविधिकका अनुसार भुसमा कार्बन, ढुटोमा नाइट्रोजन, पातपतिंगर ब्याक्टेरिया र रातो माटोमा मिनरल पाइन्छ ।

‘बाल्टीमा फोहर फ्याँक्नुअघि यसलाई राख्नुपर्ने हुन्छ,’ हरेक घरबाट निस्कने फोहोरको रेकर्ड राख्दै हिँडेकी सन्तलक्ष्मी श्रेष्ठले भनिन्, ‘सातामा एकपटक फोहर लिन जाँदा एक बाल्टी कुहिने फोहोर हुने घर थोरैमात्रै छन् ।’ दुर्गन्ध नआओस् भनेर फोहोर राख्नुअघि र राखेपछि ढुटो, भुस, पत्कर मिसाएको तोकोजाई राख्ने गरेको उनले बताइन् । ‘कुहिने फोहोर विगतमा भाँडामा राखेको भोलिपल्टै गन्हाउँथ्यो,’ आठ सय ३१ बाल्टी नम्बरको थिमिकी विष्णुकेशरी श्रेष्ठले भनिन्, ‘अहिले त फोहोर राखेपछि पानी छर्कंदा पनि गन्हाउँदैन ।’ मध्यपुर थिमिका दुई हजार घरका गृहिणीलाई पछिल्लो समय कुहिने र नकुहिने फोहोर छुट्याउने बानी नै परिसक्यो । कुहिने फोहर फ्याँक्ने बाल्टीमा उब्रिएको खाना, तरकारी केलाएको टुक्रालगायत हाल्ने गरेको विष्णुकेशरीले बताइन् ।

नगरबाट उठाएको कुहिने फोहोर नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल नजिकै विष्णु कुण्ड छेउमा लैजान्छन् । जापानको रिकियो हासिमोतोले अपनाएको विधिबाट जैविक मल बनाउँछन् । नकुहिने फोहोर डम्पिङ साइटमा पठाउने गर्छन् । नगरबाट ल्याएको फोहर खसाल्नेबित्तिकै मल बनाउने विधि अपनाउन कर्मचारीहरू जुटिहाल्छन् ।

मंगलबार बिहान नगरबाट उठाएको फोहोरलाई मल बनाउन खटिने कर्मचारीसमेत मास्क नलगाई काम गरिरहेका थिए । ‘घरमै दुर्गन्ध नआउने विधि अपनाएकाले यहाँ त फोहोरको दुर्गन्ध थाहै हुँदैन,’ फोहोरबाट मल बनाउने रिकिसी कम्पोस्ट कम्पनीकी प्रबन्धक उषा गिरीले भनिन् ।

मल बनाउन आवश्यक जग्गा र पूर्वाधार नगपालिकाले व्यवस्थापन गरिदिएको छ । नगरबाट संकलित फोहोरलाई मल बनाएर कम्पनीले बिक्री गर्ने गरेको छ । मल तयार हुन तीन महिना लाग्ने गरेको गिरीले बताइन् । ‘दुर्गन्ध शून्य बनाएर माटोजस्तै बनाएपछि मात्रै प्याकिङ गर्छौं,’ उनले भनिन्, ‘हामी यसलाई मल भन्दैनौं । घरबाट निस्क्ने फोहरबाट माटो राम्रो बनाउने र बिरुवा सपार्ने औषधि वा खुराक भनाइरहेका छ्रौ ।’

नगरवासीले समेत यहाँ तयार गरिएको मलले खेती राम्रो भएको बताएका छन् । कम्पनीले तयार गरेको मल ८ सय ५० ग्रामलाई ३५ रुपैयाँमा बिक्री गर्ने गरेको छ । ‘एउटा घरमा तोकोजाई मात्रै मासिक दुई हजार पाँच सय रुपैयाँ खर्च हुन्छ,’ उनले भनिन्, ‘कर्मचारी व्यवस्थापन, फोहोर उठाउने खर्च उत्तिकै छ । यो व्यवस्थापन गर्न पनि मल बिक्रीबाट आएको आम्दानीले पुग्दैन ।’

हरेक महिना ८ हजार किलो जैविक मल उत्पादन हुने गरेको गिरीले बताइन् । डेढ महिनामा ५९ लाख रुपैयाँको मल बिक्री भइसकेको छ । मध्यपुर थिमि नगरपालिका मेयर मदनसुन्दर शाक्यले बिक्री भएको मूल्यको १५ प्रतिशत नगरपालिकाले अनुदान दिने छ । ‘कम्पनीले नगरवासीसँग शुल्क नलिई फोहोर व्यवस्थापन गरिदिएकाले जति मल बिक्री हुन्छ, त्यसको १५ प्रतिशत अनुदान नगरपालिकाले दिने गरेका छौं,’ उनले भने, ‘घरबाट निस्केको फोहोरबाट बनाइएको जैविक मलसमेत नगरवासीले प्रयोग गर्न पाएका छन् ।’

अहिले वडा नम्बर ४ का दुई हजार घरबाट निस्कने फोहोरको मात्रै मल बनाउने गरे पनि अन्य वडामा समेत विस्तार गर्ने योजना रहेको उनले बताए । अन्य वडाको खुला ठाउँमा टहरा बनाएर भए पनि यो विधिबाट मल बनाउने नगरपालिकाको योजना छ।

प्रकाशित : मंसिर ६, २०७६ १९:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×