कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बौद्धमा पनि दमकल

सीमा तामाङ

काठमाडौँ — काठमाडौं महानगरपालिकाले हनुमानढोका क्षेत्रमा मात्र रहेको अग्नि नियन्त्रण तथा विपद् व्यवस्थापन केन्द्रको शाखा विस्तार गर्न बौद्धस्थित रामहिटीमा भवन निर्माण गरेको छ ।

बौद्धमा पनि दमकल

१२ सय वर्गमिटरमा बनेको उक्त भवनमा एक लाख ५० हजार लिटर क्षमताको पानी ट्यांकी, अग्नि नियन्त्रक बस्न मिल्ने ठाउँ, तीनवटा दमकल अटाउने स्थानका साथै तालिमका लागि दुईवटा सुविधासम्पन्न सेमिनार हल निर्माण गरिएको छ ।


उक्त भवनमा पाँच सयवटा दमकलमा पानी भर्न सकिने ट्यांकी निर्माण भएको छ । उक्त भवनमा एकैचोटि तीन सय जनालाई तालिम दिने हल बनेको महानगरपालिकाका इन्जिनियर प्रेमबहादुर श्रेष्ठले बताए । महानगरका कर्मचारीका लागि अन्य तालिम सञ्चालन गर्न पनि भवनले सहज बनाउने उनको भनाइ छ ।


‘एक ठाउँबाट मात्र आगालागी भएको क्षेत्रमा दमकल पुर्‍याउन सकिन्न,’ उनले भने, ‘त्यसैले दमकलको संख्यासँगै भवन विस्तार गरेका हौं ।’ नयाँ बानेश्वरस्थित पहिलको ट्रली बसपार्कमा पनि भवन बनाउनेबारे महानगरले सोच बनाइरहेको उनले बताए ।


उक्त भवन सञ्चालनमा आएपछि न्युरोडमा रहेको जुद्ध वारुणयन्त्र भवन पुरानै स्वरूपमा पुनर्निर्माण गरिनेछ । ‘अग्नि नियन्त्रण भवन निर्माण गर्न ठूलो बाटो तथा जग्गाको आवश्यकता हुन्छ,’ उनले भने, ‘त्यसैले त्यस्ता ठाउँ र जग्गाको खोजी भइरहेको छ ।’


महानगरपालिकाले पाँच क्षेत्रमा दमकललगायत विपद् व्यवस्थापनका लागि चाहिने उपकरणको व्यवस्था मिलाउने यो वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । दमकल जान नसक्ने स्थानमा तत्काल आगो नियन्त्रण गर्न सक्ने फायर हाइड्रेन्टको व्यवस्था गर्ने नीति लिइएको छ । सामुदायिक स्तरमा वर्षाको पानी संकलन गर्न ट्यांकीसमेत निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरपालिकाले यस वर्ष थप तीनवटा दमकल खरिद गर्न १० करोड रुपैयाँ र सञ्चालन, व्यवस्थापनका लागि चार लाख रुपैयाँ छुट्याएको छ ।


हाल महानगरसँग तीन दमकल सञ्चालनमा रहेको जुद्ध वारुण यन्त्रका प्रमुख लीलाराज गाछा मगरले बताए । ‘दुईवटा मर्मतको क्रममा छन्,’ उनले भने, ‘थप तीन दमकल खरिद प्रक्रियामा छ ।’


नेपाल सरकारबाट सञ्चालित वारुणयन्त्र अहिले स्थानीय तहले सञ्चालन गरिरहेको छ । ‘दमकल एक ठाउँमा मात्र भएकाले खबर आउनासाथ जाँदा धेरै क्षति हुने भएकाले शाखा विस्तारसँगै संख्या पनि बढाउन लागिएको हो,’ उनले भने, ‘काठमाडौंका चारै दिशामा दमकल शाखा बनाउने योजनाअन्तर्गत पहिलो शाखा पूर्वमा (बौद्ध) निर्माण गरिएका हो ।’


बौद्धमा निर्माण भएको विपद् व्यवस्थापन केन्द्रको नजिकका शंखरापुर, गोकर्णेश्वर नगरपालिकालाई पनि सहयोग हुने उनले बताए । महानगरपालिकाले ८ करोड ६१ लाख रुपैयाँमा गत वर्ष १५ महिनाका लागि कविन्द्र सिद्धार्थ जेभीलाई भवन निर्माणको ठेक्का दिएको थियो ।


प्रकाशित : मंसिर ६, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?