कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पूर्वाधार विकास साझेदारी : सडकलाई दुई तिहाइभन्दा बढी बजेट

सुवास विडारी

(मकवानपुर) — मकवानपुर जिल्लाका प्रतिनिधिसभाका दुई सांसदले पूर्वाधार विकास साझेदारी कार्यक्रमको करिब दुई तिहाइ बजेट सडक निर्माण र मर्मतका लागि विनियोजन गरेका छन् । सम्बन्धित निर्वाचन क्षेत्रका सांसदमार्फत योजना छनोट गर्ने गरी दिइएको पूर्वाधार विकास साझेदारी कार्यक्रमको चालू आर्थिक वर्षको बजेट सडक निर्माण तथा सुधारमै केन्द्रित गरिएको छ । 

प्रतिसांसद ६ करोडका दरले मकवानपुरमा प्राप्त १२ करोडमध्ये ८ करोड १० लाख रुपैयाँ सडक निर्माणका लागि विनियोजन गरिएको छ । क्षेत्र नम्बर १ का सांसद कृष्ण दाहालले छनोट गरेको २४ वटा योजनामध्ये १४ योजना सडककै रहेका छन् । उनले प्राप्त गर्ने ६ करोडमध्ये ४ करोड ४० लाख रुपैयाँ सडकमै सकिनेछ ।


क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाले पनि आफूमार्फत् बन्ने योजनामध्ये झन्डै आधाभन्दा बढी बजेट सडकलाई नै खर्च गर्नेगरी योजना सिफारिस गरेका छन् । प्राप्त हुने ६ करोडमध्ये ३ करोड ७० लाखको सडक योजना बनेको छ । खतिवडाले बनाएको २५ वटा योजनामध्ये १५ योजना सडक पूर्वाधार निर्माणकै रहेका छन् ।


‘निर्वाचन क्षेत्रका जनताले सडकको माग गरेपछि सोहीअनुसार बजेट विनियोजन गरिएको हो । विकट क्षेत्रमा पुग्न पहिलो आवश्यकता सडक भएकाले पनि महत्व दिइएको हो,’ सांसद खतिवडाले भने । क्षेत्र नम्बर १ अन्तर्गत बकैया गाउँपालिकाको सुधा, अल्छे, भोगटे, टिकुली, भालुखोला–रतनपुर सडकको लागि ५० लाख रुपैयाँ छुट्याइएको छ । हेटौंडाको पवित्रटोल सडक र गढी गाउँपालिकाको एक्लेखेत, धाप, रानीसेरा ग्रामीण सडकको लागि ५०/५० लाख गरी एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।


हेटौंडा ६ र ७ मा शान्तिपथ कृषि सडकका लागि ५० लाख र १५ नम्बर वडाको कालीदेवी चोकदेखि भोर्ले स्वास्थ्यचौकीसम्मको सडकमा ५० लाख रुपैयाँ खर्च गर्ने योजना बनाइएको छ । हेटौंडा–९ कै शान्तिकुञ्जपथ भित्री सडक निर्माणमै ४५ लाख रुपैयाँको योजना बनाइएको छ । बकैयाको दोभान–बिजलडाँडा सडक र भीमसेन दमार–मोरङे आहाले भञ्ज्याङ सडकका लागि २५/२५ लाख रुपैयाँ छुट्याइएको छ ।


सांसद दाहालले हेटौंडा–१७ को सानो गगटे ठाडो बाटो सडकका लागि २० लाख रुपैयाँको योजना बनाएका छन् । मकवानपुरगढीमा दुई कृषि सडकका लागि ४० लाख रुपैयाँ छुट्याइएको छ । गढीको मोड भञ्ज्याङ–तितुङडाँडा–मापुङ कृषि सडक र पीपलबोट धमिले कृषि सडकका लागि पूर्वाधार विकास साझेदारी कार्यक्रमको २०/२० लाख रुपैयाँ बजेट खर्च गरिनेछ ।


सांसद् खतिवडाले इन्द्रसरोवर गाउँपालिकाको बज्रमाठ सिकारी गाउँ–मागे पौवा सडकको लागि ५० लाख रुपैयाँ छुट्याएका छन् भने राक्सिराङ गाउँपालिकाको डुङ्गु परेवाभीर सडकका लागि पनि ५० लाखकै योजना सिफारिस गरिएको छ । त्यसैगरी खतिवडाले मानेडाँडा–हालवारी–अल्छे कप्चरी सडक र मनहरी गाउँपालिकाको बसन्तपुर–डिल्लीपुर सडकको लागि पनि ५०/५० लाख रुपैयाँ छुट्याएका छन् ।


मकवानपुरगढीको वासुदेवमार्ग–तिपधारा सुकौरा खण्डमा ३० लाख र सोही गाउँपालिकाको ज्यामिरे–चन्द्रसूर्य पेटिकोट कृषि सडकको लागि २५ लाखको योजना बनाइएको छ । राक्सिराङमा डुङ्चु–राम्चे सडक र टोडर्के–तर्सिकोट सडकका लागि १०/१० लाख खर्च गर्ने तयारी गरिएको छ ।


प्रकाशित : मंसिर ६, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?