कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

गुम्बा चम्काउन भुटानदेखि

टीकाप्रसाद भट्ट

(रामेछाप) — भुटानका तेन्जिङ लामा चार महिनादेखि रामेछापको डडुवास्थित पङ्खरी गुम्बामा विभिन्न डिजाइनका बुट्टा कोरिरहेका छन् । गुम्बाको भित्ता होऊन् या टुँडाल, सबैतिर रंगीबिरंगी बुट्टाले पङ्खरी गुम्बाको रूप फेरिएको छ ।

गुम्बा चम्काउन भुटानदेखि

‘कस्तो राम्रो, रङको छनोट पनि उस्तै,’ स्थानीय दावाशङ्वु शेर्पा भन्छन्, ‘हेरिरहूँ जस्तो ।’ तेन्जिङसहित तीनजना साथी भुटानबाट गुम्बामा रङ भर्नकै लागि रामेछाप आएका हुन् । ‘अझै महिनौं डडुवामै बिताउनुपर्छ,’ उनले भने, ‘बिस्तारै गर्नुपर्ने मसिना काम धेरै छन् ।’


पङ्खरी गुम्बामा पहिलेदेखि नै भुटानका लामाहरूले प्रार्थना गर्दै आएका छन् । यो टोली गुम्बामा रङ भर्न पहिलोपटक नेपाल आएको भने होइन । यसअघि लुम्बिनीका विभिन्न १५ वटा गुम्बामा उनीहरूले आफ्नो सीप देखाइसकेका छन् । मसिनो बुट्टामा रङ संयोजन गर्न आफै डिजाइन् गर्छन् र त्यसलाई सुहाउँदो रङ भर्छन् ।

३७ वर्षका तेन्जिङले यस्तो काम गर्न थालेको १८ वर्ष भयो । भुटानका धेरै गुम्बामा उनकै हातले चलाएको कुचीले रङ पोतिएका छन् । सिंगापुर, मलेसिया, भारत र नेपालमा उनी घरिघरि पुग्छन् ।


‘अरू काम छैन, यही पेसाले विदेश जाने मौका पनि पाइएको छ,’ दंग पर्दै उनले सुनाए । ‘राम्रो बुट्टा बनाउने हो भने दिनभरिमा बढीमा चार स्क्वायर फिटभन्दा बढी रङ भर्न सकिन्छ,’ लामा भन्छन्, ‘एकपटक रङ लगाएपछि १५ वर्ष लगाउनु पर्दैन तर घामपानी पर्ने स्थानमा अलि चाँडो खुइलिन्छ ।’


तेन्जिङका अनुसार गुम्बाका पाँचवटै भवनमा यो वर्ष रङ भर्ने काम भइरहेको हो । सबैजसो भवन भूकम्पपछि बनेका हुन् । मुख्य गुम्बा, प्रार्थना हल र आवास धर्मगुरुहरूको सहयोगमा पुनर्निर्माण गरिएको उनले सुनाए ।


रामेछाप र पूर्वी पहाडका ऐतिहासिक गुम्बामा प्रशस्त बौद्ध ग्रन्थ पनि छन् । यसकै अध्ययनका लागि भुटान र नेपालका विभिन्न गुम्बामा अध्ययनरत लामाहरू पङ्खरी आउने गर्छन् ।

प्रकाशित : मंसिर ६, २०७६ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?