३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

अनुदान फिर्ता गर्दै भूकम्पपीडित

विकटमा सयमसीमा थप्न माग
अनिश तिवारी

(सिन्धुपाल्चोक) — हेलम्बु गाउँपालिका–१ हेलम्बुका मिङमार लामाले आफ्नो खातामा जम्मा भइसकेको आवास अनुदानको किस्ता सरकारलाई फिर्ता गरे । पुनर्निर्माण बाँकी नै रहेको अवस्थामा उनले अनुदान रकम फर्काएपछि स्थानीय बासिन्दा नै छक्क परे । ‘आफ्नो घर हुँदाहुँदै अनुदान लिनु पापजस्तो लाग्यो,’ लामा भन्छन्, ‘परिवारले अनुदानमा आएको भनेपछि लगत्तै फिर्ता गरिहालेँ ।’ 

अनुदान फिर्ता गर्दै भूकम्पपीडित

हेलम्बुका अध्यक्ष रहेका लामाले हेलम्बुभरका भूकम्पपीडितलाई बस्न योग्य घर भएमा अनुदान नलिन आग्रहसमेत गरेका छन् । ‘जनप्रतिनिधिबाटै यो अभियान सुरु गरेका छौं,’ उनले भने । अहिले हेलम्बुमा बस्न योग्य घर भएकाहरू अनुदान फर्काउने मनस्थितिमा छन् ।


मेलम्ची नगरपालिका–१३ का झंकप्रसाद दंगालले पनि गत असारमा भूकम्पपीडितका लागि आएको अनुदान फर्काएका थिए । ‘बस्नलाई घर छँदै छ, रकम लिनु अपराधजस्तो लागेर तत्कालै फर्काएँ,’ उनले भने, ‘अहिले मन हलुका भएको छ ।’ चौतारा साँगाचोकगढी नगरपालिका–९ का बादल तामाङ र मेलम्ची–४ का कृष्णहरि खनाल समेत हातमा परिसकेको अनुदान फर्काउनेमा पर्छन् । ‘अनुदान घर बनाउनका लागि दिइएको हो, बस्ने घर भएर पनि अनुदान लिँदा नमिठो अनुभव भएकाले रकम उतै जिम्मा लगाएँ,’ खनालले भने ।


तीन नगरदेखि नौ गाउँपालिकाभर आवास हुनेहरूलाई अनुदान नलिन सचेतना अभियान सुरु गरिएको गाउँपालिका महासंघका महासचिव तथा इन्द्रावती गाउँपालिका प्रमुख वंशलाल तामाङले जानकारी दिए । ‘स्थानीय सरकारदेखि सरकारी निकायबाट यो प्रयास भइरहेको छ, इमानदार भूकम्पपीडित यसमा उत्साहित देखिएका छन्,’ उनले भने ।


जिल्लाभर पुनर्निर्माणको चटारोले छोइरहँदा अहिलेसम्म १३ भूकम्पपीडितले अनुदान फिर्ता गरेको जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान तथा पूर्वाधार) ले जनाएको छ । इकाईअन्तर्गत निजी आवासका रविराज धितालका अनुसार अधिकांशले अनुदानबारे राम्ररी बुझेपछि फर्काएका हुन् । ‘कसैले झुक्किएर या दोहोरो परेर त कसैले यसबारे प्रस्ट थाहा पाएपछि फिर्ता गरेको पाइयो,’ उनले भने । अहिलेसम्म पहिचान गरिएका ८८ हजार २ सय ४९ भूकम्पपीडितमा ८५ हजार ५ सय २३ जनाले अनुदान सम्झौता सकेर पहिलो किस्ता लगिसकेका छन् । ८३ हजार ७ सय ८० ले दोस्रो र ७४ हजार ८ सय ४१ जनाले तेस्रो किस्ता पाइसकेका छन् । यसमा १४ हजार ७ सय ४९ भूकम्पपीडितलाई आवास सम्पन्न प्रमाणपत्र वितरण गरिएको छ ।


समय थप्न माग

दुर्गम हिमाली गाउँका जनप्रतिनिधिले भूकम्पपीडिको अनुदान लिएर गर्नुपर्ने आवास पुनर्निर्माणको सयमसीमा थप्न माग गरेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकाका प्रमुख टसी लामा ह्योल्माले भौगोलिक अवस्था ननियालेर तीव्र पुनर्निर्माण गर्नलाई मात्रै दबाब दिइएको बताए । ‘यहाँ धेरै दुर्गम अवस्था छ, सामग्री लिएर आउनै दुई दिन लाग्छ,’ उनले भने, ‘सडक मात्रै जोडिएर पुग्दैन । अन्य समस्या पनि छन् ।’


वडा सदस्यदेखि इन्जिनियरसमेतले आवास पुनर्निर्माण अभियान लिएर जनतालाई सघाइरहेको उनको भनाइ छ । पाँचपोखरी थाङपालको तिपेनी, लागार्चे, भोताङ, थाङपालकोट, गुन्सा, भोटेनाम्लाङ, बासखर्क हुँदै बरुवाजस्ता उच्च हिमाली गाउँ छन् । पाँचपोखरी र हेलम्बु जोड्ने आमायांग्रीबाट वडा कार्यालयमा आइपुग्न एक दिन लाग्छ । ‘सबै स्थानमा एउटै समय राखेर हुँदैन, यसमा सोचियोस्,’ हेलम्बु गाउँपालिका प्रमुख निमा ग्याल्जेन शेर्पाले भने ।

जिल्लाका तीन नगर र नौ गाउँपालिकामा जुगल गाउँपालिकाको तेम्बाथान, पाँचपोखरी र हेलम्बु भौगोलिक रूपमा विकट छन् ।

प्रकाशित : मंसिर ५, २०७६ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?