सम्पदा बस्तीमा संग्रहालय
(दोलखा) — दोलखाको ऐतिहासिक वस्तु जगेर्ना र प्रदर्शनका लागि संग्रहालय निर्माण गरिने भएको छ । यसका लागि प्रदेश ३ सरकारले विस्तृत कार्ययोजनासहित बजेट विनियोजन गरेको छ । मूर्ति, मन्दिर, कला, संस्कृति र भाषा संरक्षणका साथै पराम्परागत वस्तु संगृहीत गर्न भीमेश्वर नगरपालिकाले बजेटसहित निर्माण प्रक्रिया अघि बढाएको इन्जिनियनर आत्मकृष्ण श्रेष्ठले बताए ।
दोलखा लिच्छवि, मल्ल र शहाकालीन अवशेषसहितको ऐतिहासिक सहर हो । १६औं शताब्दीमा नेपालको पहिलो सिक्का निष्काशन गरी विनिमय थालनी गरेको इतिहास शिरोमणि बाबुराम आचार्यले उल्लेख गरेका छन् । उक्त संग्रहालयलाई नेपालको पहिलो मुद्रण केन्द्रसहितको पहिचान दिने प्रदेश ३ सांसद पशुपति चौलागाईले बताए । नेपाल र भारतबीचको परम्परागत व्यापारिक मार्गसमेत रहेको दोलखामा संग्रहालय बनाउन जग्गासमेत उपलब्ध भएपछि काम अघि बढेको भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले बताए ।
इन्जिनियर श्रेष्ठद्वारा तयार परिएको अवधारणामा सांस्कृतिक संग्रहालय निर्माण, स्थापना र व्यवस्थापनबाट जिल्लाभरका विभिन्न जातजातिको सांस्कृतिक सम्पदा, भेषभूषा, साहित्य, घरेलु हतियार, कृषि औजार आदिको संरक्षण हुने उल्लेख छ । एउटा मुद्रा संग्रहालय कक्षसमेत राखी नेपाल र अन्य मुलुकको मुद्रा संकलन गरी प्रदर्शन गरिने योजना छ । श्रेष्ठले दोलखामा संग्रहालयको महत्व र आवश्यकतामा जोड दिँदै ०७४ असोजमा पुरातत्त्व विभागमा पत्र दर्ता गराएपछि यसको चर्चा हुन थालेको थियो ।
हाल राजकुलेश्वरको आधारभूत स्कुलले अस्थायी टहरा बनाई स्कुल सञ्चालन गरिरहेको जग्गामा संग्रहालय निर्माण गर्ने सहमति भएको छ । उक्त जग्गाका गुठियारहरूले संग्रहालय निर्माण गर्न भीमेश्वर नगरपालिकालाई जग्गा हस्तान्तरण गर्ने निर्णय गरिसकेका छन् ।