कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

हरियो झन्डा अभियान अलपत्र

प्रशान्त माली

काठमाडौँ — नुवाकोट तारकेश्वर गाउँपालिका–६ भमरा गाउँकी १५ वर्षीया हिरा श्रेष्ठ ललितपुरको बालकुमारीस्थित सनराइज होम्सको एक घरमा काम गर्छिन् । ललितपुर महानगपालिका–९ च्यासलको श्रमिक शान्ति माविको कक्षा ९ मा पढ्ने उनी ६ वर्षदेखि होम्समा बस्दै आइरहेकी छन् । उनका आमाबुवा गाउँमा छन् । बिहान/बेलुका खाना पकाउने, घरको सरसफाइ गर्ने र भाडा माझ्ने काम पनि उनैले गर्नुपर्छ ।

हरियो झन्डा अभियान अलपत्र

मुगु रास्कोटीबाडाका १३ वर्षीय सुन्दर शाही शंखमुलस्थित एक घरमा काम गर्छन् । डेढ वर्षअघि काठमाडौं आएका उनको ड्युटी पनि दैनिक खाना पकाउने, सरसफाइ गर्ने, भाडा माझ्ने र लुगा धुने हो । श्रमिक शान्ति माविमै कक्षा ५ मा अध्ययनरत उनका एक भाइ, दिदी र दुइ बहिनी छन् ।


रसुवाका १५ वर्षीय सेरशाङ तामाङ ललितपुर महानगरपालिका–२० पुल्चोकस्थित त्रि–पद्य मावि कक्षा ८ मा अध्ययनरत छन् । कुसुन्तीस्थित एक घरमा काम गर्ने उनको दैनिकी घरबेटीकी छोरी विद्यालयमा पुर्‍याउने, खाना पकाउनेलगायत हो ।


अरूको घरमा काम गर्दै विद्यालयमा पढ्ने बालबालिका निकै छन् । ललितपुर महानगरपालिका ५, १२, १६, १८ र २० नम्बर बालश्रममुक्त क्षेत्र हो । बाल्यकालमा दख्खल नदिने, स्कुल पठाउने, मानसिक, सामाजिक र शारीरिक रूपमा असर गर्ने गतिविधि नगराएमा बालश्रम मानिँदैन । तर, विद्यालय पठाउँदैमा बालबालिका घरेलु हिंसाबाट मुक्त छन् भन्न नसकिने सरोकारवालाहरू बताउँछन् ।


श्रमिक शान्ति माविका प्रिन्सिपल सानुलाल व्यञ्जनकारका अनुसार उनको विद्यालयमा मजदुरी गर्ने निम्न आय भएकाहरूका छोराछोरी बढी छन् ।

त्रि–पद्यका प्रिन्सिपल कदम बाबा प्रधानले विद्यालयमा गरिने अभिभावक भेलामा त्यस्ता बालबालिकाका घरबेटी पनि आउने गरेको सुनाइन् ।


‘अहिले कतिपयका घरबेटी नै विद्यालयमा आएर बालबालिकाको पढाइबारेमा बुझ्ने गरेका छन्,’ उनले भनिन् ।


नगरले नै चासो दिएन

ललितपुर महानगरको ‘हरियो झन्डा अभियान’ अलपत्रमा परेको छ । ०७२ भित्रमा महानगरलाई बालश्रममुक्त नगर घोषणा गर्ने गरी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को आर्थिक सहयोगबाट तत्कालीन कार्यकारी अधिकृत भरतमणि पाण्डे र सामुदायिक विकास शाखा प्रमुख प्रेमबहादुर थापाले अभियान चलाएका थिए । त्यतिबेला घर, पसल, होटेल तथा रेस्टुरेन्टमा बालबालिकालाई काममा नलगाउनेलाई ‘बालश्रम मुक्त क्षेत्र’ अंकित हरियो प्लेट र झन्डा दिने व्यवस्था मिलाइएको थियो । नयाँ जनप्रतिनिधि आएपछि चासोको विषय बन्नुपर्नेमा यो अभियान झन् ओझेलमा परेको छ । ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बालश्रम मुक्त क्षेत्र बनाउन योजनाबद्ध तरिकाबाट अगाडि बढिरहेको बताए ।


केही वर्षअघि जापान सरकारको आर्थिक सहयोग र सिबिन नेपालको सहकार्यमा गरिएको सर्वेक्षणअनुसार पाटनमा जोखिमपूर्ण क्षेत्रमा ५ सय ५ र महालक्ष्मी, गोदावरी नगरपालिकामा २ हजार ५ सय जोखिमपूर्ण बालश्रमिक भेटिएका थिए ।


प्रकाशित : मंसिर ४, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?