२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

व्यवस्थित बन्दै सुधारगृह

(हेटौंडा) — मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित बाल सुधारगृहमा १८ वर्ष पार गरेकाहरू समेत थिए । केही दिनअघि उनीहरूलाई क्षेत्रीय कारागार भीमफेदी लगियो । ‘१८ वर्ष पूरा गरेको पुष्टि भएपछि उनीहरूलाई भीमफेदी पठायौं,’ बालसुधार गृह सञ्चालक समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले भने ।

सुधारगृहमा १८ वर्षसम्मका बालबालिकालाई मात्रै राख्न पाइने व्यवस्था छ । अहिले यहाँ ५१ जना बालक छन् ।


अव्यवस्थित रहेको बालगृहको स्तरोन्नतिका लागि दबाब आएपछि अहिले सुधारका काम भइरहेका छन् । जिल्ला अदालत मकवानपुरले राखेको सरोकारवालाहरूको संयुक्त बैठकपछि सुधारगृहमा रहेका बालकहरूलाई स्थानीय मन्दिरमा घुमाउने गरिएको छ । एक सातायता उनीहरूलाई पतञ्जली समितिले योग गराउँदै आएको छ । उपमहानगरपालिकाको सक्रियतामा चिकित्सकबाट स्वास्थ्य परीक्षण गर्नुका साथै औषधोपचारको व्यवस्था पनि गरिएको छ ।


सुधारगृहमा पुस्तकालय स्थापना गर्न पुस्तक संकलनको क्रम जारी छ भने कम्प्युटर राख्ने काम भइरहेको छ । ‘विस्तारै सुधारगृह व्यवस्थित बन्दै छ,’ प्रजिअ जोशीले भने । सिविनका प्रतिनिधि झवेन्द्र ज्ञवालीको संयोजकत्वकमा सुधारगृह सहयोग समिति पनि गठन गरिएको छ ।


सुधारगृहमा शौचालयको अभाव, ओछ्यानको समस्या र औषधोपचार गर्न बजेट नभएको सुधारगृहका प्रमुख रामप्रकाश सुवेदीले बताए । ‘बालकलाई सम्बन्धित अदालतले उपस्थित गराउनु भनेर पत्र लेखेको हुन्छ,’ उनले भने, ‘तर सवारीसाधनको अभावले गर्दा उपस्थित गराउन सकिएको छैन ।’ केही बालक एक वर्षदेखि सुधारगृहमा छन् । अदालतमा अभियोग दर्ता भएको १ सय २० दिन अर्थात् चार महिनाभित्र बालबालिकाको मुद्दा फैसला गर्नुपर्ने कानुनी व्यवस्था छ तर उक्त व्यवस्थालाई अधिकांश अदालतले लत्याएका छन् ।


बालबालिकाले बिज्याइ गरे भने उनीहरूलाई सुधार्न बाल सुधारगृहमा राख्ने कानुनी व्यवस्था छ । अपराधमा संलग्न वा आरोपित वयस्कसँगै उनीहरूलाई राख्न पाइँदैन । प्रदेश १ र ३ लाई लक्षित गरेर सरकारले ०७५ असोज २२ गतेदेखि उक्त सुधारगृह सञ्चालनमा ल्याएको हो । यहाँ १० देखि १८ वर्षसम्मका बालक छन् । तर, पढ्नलेख्न पाउँदैनन् । ‘तीन कक्षादेखि १२ सम्म पढ्नेहरू पनि छन् । ९, ११ र १२ का विद्यार्थीलाई परीक्षामा संलग्न गरायौं,’ प्रमुख सुवेदीले भने, ‘शिक्षा कार्यालयले एक शिक्षिका खटाएको पत्र पठायो तर उनी आइनन् । एक जना शिक्षकले पढाउन सक्ने अवस्था पनि छैन ।’ यहाँ रहेका बालकलाई चारवटा कोठामा राखिएको छ । सबैभन्दा बढी जबरजस्ती करणी र लागूऔषधमा संलग्न रहेकाहरू छन् । डाँका, चोरी, सवारी ज्यान, कर्तव्य ज्यानमा संलग्न रहेकाहरूलाई पनि सुधारगृह ल्याइएको छ । सबैभन्दा बढी चितवनका बालक छन्, त्यसपछि मकवानपुरका । दोलखा, ताप्लेजुङ, काठमाडौं, संखुवासभा, भोजपुर, तेह्रथुमलगायत ११ जिल्लाका बालकलाई यहाँ राखिएको छ ।


सुधारगृहमा रहेका बालकहरूका निम्ति क्षेत्रीय कारागार भीमफेदीले प्रतिव्यक्ति दैनिक ७ सय ग्राम चामल र ६० रुपैयाँ उपलब्ध गराउँछ । उक्त रकम र चामल १५/१५ दिनमा उपलब्ध गराउने गरेको छ । हेटौंडासहित वीरगन्ज, भक्तपुर, रुपन्देही, डोटी, विराटनगर र बाँकेमा गरी देशभर सात स्थानमा बाल सुधारगृह सञ्चालनमा छन् ।


प्रकाशित : मंसिर ४, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?