प्रहरीविरुद्ध जाहेरी

चितवन — प्रहरीको नियन्त्रणमा रहेका नेपाली सेनाका जवानको निधन भएपछि मृतकका आफन्तले प्रहरीविरुद्ध चितवन जिल्ला प्रहरी कार्यालयमा हत्या आरोपमा जाहेरी दर्ता गराएका छन् । आरोपित प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको छ । चितवन प्रहरीका प्रवक्ता डीएसपी एकनारायण कोइरालाका अनुसार कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गर्न अदालतले पाँच दिनको समय दिएको छ ।

इच्छाकामना गाउँपालिका–५ मुग्लिन बजारका राम कँडेलको आइतबार मृत्यु भएको थियो । फिस्लिङदेखि पर पहाडी टाँकुरामा लाग्ने इच्छाकामना मन्दिरको मेलाबाट फर्कंदै गरेका कँडेल र सादा पोसाकमा रहेका प्रहरीबीच भनाभन भएको थियो । फिस्लिङ आएपछि प्रहरीले उनलाई त्यहीँको चौकीमा राखेको थियो । झगडा गरेको भनेर नियन्त्रणमा लिएको केहीबेरपछि उनको मृत्यु भएपछि आक्रोशित स्थानीयले सडक अवरुद्धसमेत गरेका थिए । चौकीका हवल्दार बाहिर निस्केका बेला कँडेल दौडिएर निस्किएको र भीरबाट हामफालेको इलाका प्रहरी कार्यालय मुग्लिनको दाबी छ ।


कँडेल नेपाली सेनाको बर्दबहादुर गण सिन्धुलीमा कार्यरत थिए । बिदामा घर आएका बेला उनी जात्रा हेर्न गएका हुन् । स्थानीय र मृतकका आफन्तले प्रहरीको भनाइलाई विश्वास गरेका छैनन् । हत्याको आशंकामा किटानी जाहेरी परेका कारण फिस्लिङ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान ठाकुर ढकाललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको डीएसपी कोइरालाले जानकारी दिए ।


घाइते भेटिएका कँडेलको उपचारका लागि भरतपुर अस्पताल पुर्‍याउँदा अस्पतालले मृत घोषणा गरेको थियो । घटनाको सम्बन्धमा प्रहरीले राम्रोसँग छानबिन नगरेको र दोषी उम्काउन खोजेको आरोप लगाउँदै स्थानीयले सोमबार साँझ पनि मुग्लिन बजारमा दुई घन्टा बाटो अवरुद्ध गरेका थिए ।


‘मैले घटनाका बारेमा आइबार साढे ८ बजेतिर थाहा पाएँ । प्रहरीले लगेको मान्छे तत्काल नफर्केपछि उसका अरू साथीले खै कहाँ गयो, के भयो भनेर सोध्दा ती प्रहरीले हामफालेर घाइते भएको बताएका रहेछन्,’ मृतकका फुपूका छोरा सञ्जीव सिलवालले भने, ‘तर, हामीलाई यसमा शंका छ ।’


प्रकाशित : मंसिर ४, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?