नयाँ भवनले विद्यार्थी दंग

प्रताप विष्ट

(हेटौंडा) — मकवानपुरको राक्सिराङ गाउँपालिका–७ दामराङस्थित दामराङ आधारभूत विद्यालयको भवनको पुनर्निर्माण सकिएपछि विद्यार्थीलाई अध्ययनमा सहज भएको छ । 

विसं. २०७२ को भूकम्पले विद्यालय भवन भत्केपछि नजिकैको विष्णुहरि चेपाङको पुरानो घर भाडामा लिएर पठनपाठनलाई निरन्तरता दिँदै आइएको थियो । राक्सिराङ गाउँपालिका, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरसहितको समन्वयमा जर्मनस्थित लिसा हिमालय र दिगो विकासका लागि एकता नेपाल नामक गैरसरकारी संस्थाले विद्यालय भवन पुनर्निर्माण गरेरका हुन् ।

२ करोड ५८ लाखको लागतमा निर्माण गरिएको नवनिर्मित भवन जर्मनीकी डानिला झारिङ, नेपाल प्रतिनिधि स्टेफन र दिगो विकासका लागि एकता नेपालका तर्फबाट अध्यक्ष अच्युतप्रसाद पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष कुलबहादुर चेपाङलाई हस्तान्तरण गरेका थिए । नवनिर्मित भवनमा ८ वटा कक्षाकोठा छन् भने २ वटा व्यवस्थित शौचालय निर्माण गरिएको छ । त्यसैगरी शिशु स्याहार कक्षा पनि स्थापना गरी व्यवस्थित गएिको छ भने हरेक कक्षाकोठामा फर्निचर, ह्वाइटबोर्ड लगायतका सुविधा छन् । २ सय ६१ विद्यार्थी अध्ययनरत गर्ने विद्यालयमा ५ जना शिक्षक कार्यरत छन । तीनवटा दरबन्दीमध्ये २ जना मात्र शिक्षक कार्यरत छन । दिगो विकासका लागि एकता नेपाल नामक गैरसरकारी संस्थाले विद्यालयका लागि तीनटा शिक्षक राखिदिएको छ । ‘संस्थाले शिक्षकको व्यवस्था नगरिदिएको भए पढाउन कठिनाइ हुन्थ्यो,’ प्रअ ठाकुरले भने ।

शिशु कक्षादेखि ७ कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा ५ जनाबाहेक शतप्रतिशत चेपाङ समुदायका बालबालिका अध्ययन गर्छन् । उक्त गैरसरकारी संस्थाले राक्सिराङ गाउँपालिकाका ६,७ र ८ नम्वर वडामा चारवटा विद्यालय भवन निर्माण गरेर हस्तान्तरण गरिसकेको छ । एउटा निर्माणाधीन अवस्थामा छ । ‘राक्सिराङ गाउँपालिकाको ७ नम्बर वडाको टिकेढुंगा प्राथमिक विद्यालयको भवन निर्माणाधीन अवस्था छ,’ कार्यक्रम संयोजक अञ्जनप्रसाद पौडेलले भने ।

निर्माण गरिएका विद्यालयका भवनहरू भूकम्परहित व्यवस्थित छन । चेपाङ बस्तीमा निर्माण गरिएका पाँचवटै भवनको लागत ६ करोड ७१ लाख रुपैयाँ रहेको छ । निर्माण सम्पन्न भइसकेका भवनहरू सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिसकेको छ । संस्थाले राक्सिराङ गाउँपालिका–६ को प्रजा कल्याण प्राथमिक विद्यालय, वडा नम्बर ८ को जनज्योति आधारभूत विद्यालय, वडा नम्बर ६ को जनसेवा प्राथमिक विद्यालयको भूकम्परहित पक्की भवन निर्माण गरेर यसअघि नै हस्तान्तरण गरिसकेको गापा अध्यक्ष राजकुमार मल्लले बताए । 

प्रकाशित : मंसिर ३, २०७६ ०९:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सिंहदरबारका बहुमूल्य सामग्री : लगत राख्न सुरु

प्रशान्त माली

काठमाडौँ — चार वर्षअघिको भूकम्पपछि लथालिंग अवस्थामा रहेका सिंहदरबारका बहुमूल्य सामग्रीको लागत राख्न थालिएको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत गठित एक कार्य टोलीले जनावरहरूको टाउकोसहितका छाला, पुरानो पोसाक, खाट, क्रिस्टल र चाँदीको मोलम्बा लगाएका बुट्टेदार भाँडाकुँडालगायतका बहुमूल्य सामानको सरसफाइ गरी फोटोसहित लगत राख्न सुरु गरेको हो । तीमध्ये कपितय सामग्री राणा प्रधानमन्त्री चन्द्रशमशेरले सिकार गरेका जनावरका अंग छन् । भूकम्प गएको लामो समयसम्म पनि बेवास्था गरिएका कारण केही ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका सामान फुटेका छन् ।

मुख्य भवनको दोस्रो तलाको एक कोठामा बाघ, गोही, न्याउरी मुसा, चितुवालगायत ८ वटा जीवजन्तुका टाउ र छालासहितको आकृति छन् ।

त्यसैगरी, सिंहदरबारको पहिलो तलामा रहेको स्टेट हलमा युरोपबाट झिकाइका सामान छन् । उक्त हल बेलायतको बकिङ्घम राजदरबारको एक कक्षसँग मिल्दोजुल्दो गरी बनाइएको थियो । लगत राख्ने क्रममा कोठाका झुमर, बत्ती, सुनको मोलम्बा लगाइएका बुट्टेदार युरोपियन शैलीका भित्ता सफा गरिएका छन् ।

धुलोले छपम्क छोपेका शाहवंशीय राजा तथा राणाकालीन प्रधानमन्त्रीका लाइफ साइज पेट्रेट तथा युरोपेली शैलीका चित्रकला, बहुमूल्य पत्थर, टेबुल कुर्सी, टीभी, टेलिफोन, घडी, फ्यान र हिटर चिटिक्क बनाइएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वय इकाई (भवन) का पुरातत्त्व अधिकृत काजीमान प्याकुरेलले सरसफाइ गरी विवरण तयार गर्ने काम भइरहेको बताए । ‘दुर्लभ ऐतिहासिक सामानको महत्त्वलाई ध्यानमा राखेर उच्च प्राथमिकताका साथ कोडिङ गरी प्याकेजिङ गरिरहेका छौं,’ उनले भने, ‘समयमा चासो दिन नसक्दा कतिपय किचेनका सामान फुटेका छन् ।’

प्याकुरेलका अनुसार स्टेट हलको जादूगर ऐना, घडी, गैंडाको खुट्टालगायत केही महत्त्वपूर्ण सामान छाउनी संग्रहालयमा प्रदर्शनमा राखिएको छ । ‘युरोपबाट मगाइएको त्यस्तो आकृतिको घडी विश्वमै दुइटा मात्र भएको विश्वास गरिन्छ,’ उनले भने । युरोपेली शैलीमा बनेको दरबारको भुइँ, पहिलो र दोस्रो तलामा गरेर २४ वटा कोठा छन् । कोठाका सामानहरू अभिलेखकीरण गर्नुअघि प्रत्येक कोठाको नम्बरिङ गरेर तत्कालीन अवस्थाको फोटोग्राफी रेकर्ड पनि राखिएको छ ।

टोलीले हालसम्म ३ सयवटा सामानको सूची तयार पारिसकेको छ । जसमा पुराना शैलीका ताला, टाइपराइटर, फिल्टर प्लान्ट, कप, विभिन्न देवीदेवताका मूर्ति, बल्ब, हीरामोती, पन्ना, रत्न आकारका दुर्लभ सिसाका सामान, छाता, सजावटका सामानलगायत छन् । कोठा नम्बर १३ देखि १७, १९ र २० मा भएका फर्निचरका सामान, बेलायतबाट झिकाइएका झारभुमर, बत्ती, होल्डर, घडी सरसफाइ गरेर प्याकेजिङ गर्ने काम भइरहेको छ । बाँकी कोठामा गलैँचा, राणा प्रधानमन्त्रीका सिरक– डस्ना, जीवजन्तुका छालालगायत सामान छन् । शाहकालीन राजा महेन्द्र, वीरेन्द्र, रानी ऐश्वर्य, चन्द्रशम्शेरलगायतका तस्बिर क्रमशः सरसफाइ गरेर सुरक्षित राखिने पुरातत्त्व अधिकृत प्याकुरेलले बताए ।

लगत राख्न गठित ८ सदस्यीय कार्य टोलीमा केन्द्रीय आयोजना कार्यान्वय इकाई (भवन), पुरातत्त्व विभाग, गृह मन्त्रालय, चण्डोदल गण सिंहदरबार, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र परामर्शदाताका प्रतिनिधि छन् ।

प्रकाशित : मंसिर ३, २०७६ ०९:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT