२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

चिकित्सक नहुँदा समस्या

टीकाप्रसाद भट्ट

(रामेछाप) — रामेछापको लिखु तामाकोसी गाउँपालिकाको खिम्ती प्राथमिक स्वास्थ्य केन्द तीन महिनादेखि चिकित्सकविहीन छ । चिकित्सक कहिले आउने हो अझै कुनै टुंगो छैन । केन्द्रमा आउने बिरामीले चिकित्सकको सेवा पाउन सकेका छैनन् । केन्द्रमा कार्यरत स्टाफ नर्स विनीता तामाङका अनुसार दरबन्दीमा रहेकी चिकित्सक गुटी झा समायोजनमा परेपछि केन्द्र चिकित्सकविहीन भएको हो ।

त्यसअघि करारमा रहेका अर्का चिकित्सक जीवन न्यौपानेले छोडेका थिए । चिकित्सक नहुँदा केन्द्रको सेवा प्रभावकारी हुन नसक्ने भन्दै चिकित्सकको व्यवस्थाका लागि व्यवस्थापन समितिले गत असार ३१ गते गाउँपालिकालाई चिकित्सकको व्यवस्था गर्न माग गरेको थियो । तर अहिलेसम्म गाउँपाकिलाले चिकित्सकको व्यवस्था गरेको छैन । स्वास्थ्य मन्त्रालयबाट समायोजन भएर आउने चिकित्सकको अहिलेसम्म नामावलीसमेत आएको छैन ।


स्वास्थ्य कार्यालय रामेछापकी प्रमुख विद्या खनालले समायोजन भएर आउने चिकित्सक नआईसकेकाले समस्या भएको बताइन् । स्थायी चिकित्सक आउन ढिलाइ भए पनि अस्थायी रूपमा प्रदेश र गाउँपालिकाले करारमा लिएर चिकित्सकको व्यवस्था गर्न सक्ने खनालको भनाइ छ । खिम्तीमा केन्द्रमा अहेव र अनमी २/२ जना तथा स्टाफ नर्स र ल्याब असिस्टेन्ट १/१ जनाले काम गर्दै आएका छन् ।


अन्य स्थानीय सरकारले आवश्यक चिकित्सक करारमा राख्दै आएका भए पनि लिखु कुनै वास्ता गरेको छैन । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष फौजदारी मुद्दाको किचलोमा लागेकोले स्वास्थ्य मात्र नभै सबै काममा प्रभाव परेको स्थानीय दुर्गाबहादुर श्रेष्ठले बताए । गाउँपालिकाले चालू आर्थिक वर्षका लागि बजेट पारित गराएको छैन भने सबै योजनाका काम ठप्प छन् । गाउँपालिकामा जनप्रतिनिधिका बीच भएको द्वन्द्वले बैठकसमेत बस्न नसक्ने अवस्था छ ।



प्रकाशित : मंसिर ३, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?