१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हेलिकप्टर लिएर आउँछन् पर्यटक

रमेशकुमार पौडेल

चितवन — पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे गत भदौ १२ गते सौराहाको एक कार्यक्रमका प्रमुख अतिथि थिए । सौराहामा गुणस्तरीय पर्यटक बढाउनुपर्ने जोड दिँदै उनले भने, ‘मेघौलीमा रहेको बराही जंगल लजमा एकजना पर्यटक हेलिकप्टर चढेर आएछन् । जंगलमा बाघ देखेपछि हौसिएका उनले कर्मचारीलाई राम्रै टिप्स दिए । होटलले पनि गज्जबकै आम्दानी गर्‍यो ।’

हेलिकप्टर लिएर आउँछन् पर्यटक

उनले हेलिकप्टरको प्रसंग यत्तिकै जोडेका थिएनन् । बाराही जंगल लजमा कात्तिक ११ गते मात्रै ६ वटा हेलिकप्टर आएका थिए । ‘यहाँ बस्न हेलिकप्टर नै चढेर आउने पर्यटकको चाप छ,’ लजका सञ्चालक विप्लव पौडेलले भने ।


चितवन सदरमुकाम भरतपुरदेखि करिब ३० किलोमिटर पश्चिममा छ, मेघौलीको होटल बराही । आडैमा ताज ग्रुपसमेत संलग्न चौधरी समूहले चलाएको होटल मेघौली सेराई पनि छ । यी दुई होटलमा हेलिकप्टर चढेर आउने पर्यटकको संख्या उल्लेख्य छ । ‘तिहारका बेला एकैदिन ६ वटा हेलिकप्टर आए,’ पौडेल भन्छन्, ‘सधैं त यस्तो हुँदैन, औसतमा पर्यटकीय याममा महिनामा १० वटासम्म हेलिकप्टर आउँछन् ।’


मेघौली चितवनको निकै पुरानो पर्यटकीय क्षेत्र हो । बाघ, गैंडाजस्ता दुर्लभ वन्यजन्तु रहेको चितवन निकुञ्ज घुम्नका लागि यहाँ देश–विदेशबाट लाखौं पर्यटक आउने गर्छन् । मेघौली सेराईका जनसम्पर्क अधिकारी बृजकुमार महतोले भने, ‘पर्यटकीय याममा दिन बिराएर एउटा हेलिकप्टर आएकै हुन्छ ।’ प्रमुख पर्यटकीय गन्तव्य बनेको चितवन निकुञ्ज ०३० सालमा स्थापना भएको हो । मेघौली नजिक ०२२ सालमा नै बेलायती नागरिक जिम एडवर्डले पर्यटकीय होटल टाइगर टप्स जंगल लज खोलेका थिए । निकुञ्ज खुल्नुभन्दा आठ वर्ष पहिल्यै मेघौलीमा पर्यटक भित्रिएका हुन् । निकुञ्जभित्र होटल सञ्चालन गर्न नपाउने नीति सरकारले लिएपछि टाइगर टप्स लगभग ६ वर्षदेखि बन्द छ । भित्रका होटल बन्द भएपछि गुणस्तरीय पर्यटक चितवन आउन कम भयो । त्यो अभावलाई आफूहरूले मेटाउन खोजेको बराहीका सञ्चालक पौडेलको भनाइ छ ।


हेलिकप्टर चढेर आउने पर्यटक हजार डलरभन्दा माथि खर्च गर्न सक्ने हैसियतका हुने सञ्चालकहरू बताउँछन् । काठमाडौं–भरतपुर करिब १५० किलोमिटर दूरीको सडक त्यत्ति राम्रो छैन । विमानमा पनि घन्टौं कुर्नुपर्ने अवस्था छ । ‘एकपटक जहाज चढेर भरतपुर ओर्लेका पर्यटकहरू गाडी चढेर मेघौलीसम्म आए,’ महतो सुनाउँछन्, ‘तर बाटोको दुरवस्था देखेपछि फर्कने बेलामा हेलिकप्टर नै चढ्नुपर्‍यो ।’

प्रकाशित : मंसिर २, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?