प्रत्येक स्थानीय तहमा शान्तिपार्क

कान्तिपुर संवाददाता

मकवानपुर — प्रदेश ३ सरकारले प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा शान्तिपार्क निर्माण गर्ने भएको छ । विभिन्न आन्दोलनमा ज्यान गुमाएका सहिदको सम्झनामा पार्क निर्माणको योजना ल्याइएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्षमा चारवटा स्थानीय तहमा शान्तिपार्क बनाउने घोषणाा गरेको प्रदेश सरकारले चालु आवमा थप ३० वटा स्थानीय तहमा पार्क स्थापना गर्ने तयारी अगाडि बढाएको छ । यसका लागि ४० वटा स्थानीय तहले मन्त्रालयमा प्रस्ताव पेस गरेकोमा ३० वटा मात्र छनोट भएका छन् । आव ०७८/७९ भित्र प्रदेश ३ को एक सय १९ वटै स्थानीय तहमा शान्तिपार्क निर्माण गरिसक्ने घोषणा वार्षिक नीति तथा कार्यक्रममार्फत गरिएको थियो ।

पार्कका लागिआन्तरिक मामिला तथा कानुन मन्त्रालयले उपमहानगरपालिका र महानगरपालिकाका लागि बढीमा ३० प्रतिशत, नगरपालिकाको लागि बढीमा ४० प्रतिशत र गाउँपालिकाको लागि बढीमा ५० प्रतिशत लागत साझेदारी गर्ने नीति अवलम्बन गरेको छ । यसका लागि प्रदेश सरकारले १० करोड रुपैयाँ विनियोजन गरेको छ । अघिल्लो आर्थिक वर्षमा प्रत्येक स्थानीय तहमा शान्ति निर्माणका लागि विनियोजन गरिएको दुई करोड रुपैयाँमध्ये एक करोड ४० रुपैयाँ बजेट फ्रिज भएको थियो ।

‘पार्कहरू सार्वजनिक जग्गामा निर्माण हुनेछन् । तर, प्रदेशको माताहतमा यस्ता नहुँदा समस्या देखिएको छ,’ मन्त्री जम्मकट्टेलले भने, ‘सार्वजनिक जग्गा प्रायः वनमा हुने गरेको छ । वनसँग समन्वय नहुँदा समस्या देखियो ।’ भौतिक संरचना निर्माणका लागि हिमाली र पहाडी क्षेत्रमा ३० रोपनी, काठमाडौं उपत्याकाभित्र ५ रोपनी र तराई तथा भित्रीमधेसमा एक बिघा जमिन हुनुपर्ने प्रस्ताव गरिएको मन्त्री जम्मकट्टेलले जानकारी दिए ।

स्थानीय तहलाई समेट्ने गरी शान्तिपार्क निर्माण कार्यविधि र मापदण्ड २०७६ बनाइएको मन्त्रालयका सचिव वीरवहादुर सिंहले जानकारी गराए । पार्कमा सभा सम्मेलन, योग शिविर, ध्यान, प्रवचन, गोष्ठी तथा अन्तरक्रिया गर्न मिल्ने कम्तीमा तीनवटा हल निर्माण हुने उनको भनाइ छ ।

प्रकाशित : मंसिर २, २०७६ ०८:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

ठूला योजनामा प्रदेश सरकार

रामेछापमा २७ वटा सडक निर्माण  िकरोडौं लगानीमा शीतभण्डार, कवर्डहल र रंगशाला
टीकाप्रसाद भट्ट

रामेछाप — संघीय सरकारको बजेटले सञ्चालित योजना सुस्त भइरहेका बेला प्रदेश–३ सरकारका ठूला योजनाका काम तीव्र रूपमा अघि बढेको छ । लगानीको हिसाबले पनि संघीय योजनालाई प्रदेशका योजनाले उछिनेका छन् । तीन वर्षअघिदेखि संघीय सरकारले रामेछाप जिल्लाका दुईवटा सडक कार्यान्वयनमा ल्याएको थियो ।

गाईखुरा–गेलु र खिम्ती–शिवालय सडकमा गएको वर्षदेखि काम भएको छैन । निर्वाचन क्षेत्रअन्तर्गतको कार्यक्रमबाट सडक विभागको खुर्कोट डिभिजनमार्फत निर्माण थालिएको थियो । यी दुईबाहेक जिल्लामा संघका अन्य योजना कार्यान्वयमा छैनन् ।

तर, प्रदेश सरकारले कार्यान्वयनमा ल्याएका सडक योजनामा आशालाग्दो काम भएको छ । पूर्वाधार विकास कार्यालय रामेछापमार्फत तीनवटा सडक पूर्वाधार निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । सित्खा–भीरपानी–गोगनपानी, मन्थली–गोगनपानी र मन्थली–सानीमदौं–रालटार सडक कालोपर्ने गर्ने योजनामा झन्डै ४० प्रतिशतको हाराहारीमा काम सकिएको कार्यालय प्रमुख इन्जिनियर सोमराज तिमिल्सिनाले बताए । अघिल्लो वर्षमात्र ठेक्का लागेका ती सडकको काम असोजसम्म सम्पन्न हुने उनको भनाइ छ ।

जिल्ला सदरमुकाम जोड्ने ३५ किलोमिटर र मन्थली रामेछाप १३ किलोमिटरबाहेक जिल्लामा हालसम्म कालोपत्रे सडक छैनन् ।
प्रदेश सरकारले यस आर्थिक वर्षमा जिल्लाका २७ वटा सडक निर्माण गर्ने कार्यक्रम दिएको छ । तीमध्ये ११ वटा कालोपत्रे र अन्य सडक सुदृढीकरणको काम हुने इन्जिनियर तिमल्सिनाले बताए । उनका अनुसार हलेदे–धोबी–ढाँडे, हिलेपानी–च्यास्कु–कोलञ्जोर, मन्थली–भलुवाजोर, गाईखुरा–चिसापानी, मन्थली–सुनारपानी–सालु, खैरेनीघाट–राकाथुम–गौश्वारा, हिलेपानी–कुशवसेरी र सित्खा–आँपचौर–चुल्ठेपानी सडक कालोपत्रे गर्ने काम अघि बढेको छ । सबै सडक बहुवर्षे ठेक्का प्रणालीबाट निर्माण गरिन लागेको हो । यसबाहेक विभिन्न ११ वटा सडकको सुदृढीकरण पनि यसै वर्ष हुने लक्ष्य कार्यालयले लिएको छ । सबै योजना निर्माणका लागि कार्यालयले १ अर्ब १० करोड खर्च गर्दै छ ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले नागरिकले विगतमा भोगेका सास्ती अब भोग्नु नपर्ने गरी योजनाको कार्यान्वयनमा जुटेको बताए । पूर्वाधार कार्यालयले तीनवटा महत्वपूर्ण पुलको कामसमेत अघि बढाएको छ । अर्चले–सालु जोड्ने रणजोर खोलाको पुल र केही वर्षदेखि अलपत्र परेको गुम्देलको क्यामाखोला पुलसमेत हुने भएको छ । गागलको धुलेदेवी पुलको काम भने सम्पन्न भइसकेको छ ।

यसका साथै प्रदेश सरकारले मन्थलीमा शीतभण्डार, कवर्डहल र रंगशाला निर्माणका लागि करोडौं लगानी गरेको छ ।

प्रकाशित : मंसिर २, २०७६ ०८:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT