कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ठूला योजनामा प्रदेश सरकार

रामेछापमा २७ वटा सडक निर्माण  िकरोडौं लगानीमा शीतभण्डार, कवर्डहल र रंगशाला
टीकाप्रसाद भट्ट

रामेछाप — संघीय सरकारको बजेटले सञ्चालित योजना सुस्त भइरहेका बेला प्रदेश–३ सरकारका ठूला योजनाका काम तीव्र रूपमा अघि बढेको छ । लगानीको हिसाबले पनि संघीय योजनालाई प्रदेशका योजनाले उछिनेका छन् । तीन वर्षअघिदेखि संघीय सरकारले रामेछाप जिल्लाका दुईवटा सडक कार्यान्वयनमा ल्याएको थियो ।

ठूला योजनामा प्रदेश सरकार

गाईखुरा–गेलु र खिम्ती–शिवालय सडकमा गएको वर्षदेखि काम भएको छैन । निर्वाचन क्षेत्रअन्तर्गतको कार्यक्रमबाट सडक विभागको खुर्कोट डिभिजनमार्फत निर्माण थालिएको थियो । यी दुईबाहेक जिल्लामा संघका अन्य योजना कार्यान्वयमा छैनन् ।


तर, प्रदेश सरकारले कार्यान्वयनमा ल्याएका सडक योजनामा आशालाग्दो काम भएको छ । पूर्वाधार विकास कार्यालय रामेछापमार्फत तीनवटा सडक पूर्वाधार निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । सित्खा–भीरपानी–गोगनपानी, मन्थली–गोगनपानी र मन्थली–सानीमदौं–रालटार सडक कालोपर्ने गर्ने योजनामा झन्डै ४० प्रतिशतको हाराहारीमा काम सकिएको कार्यालय प्रमुख इन्जिनियर सोमराज तिमिल्सिनाले बताए । अघिल्लो वर्षमात्र ठेक्का लागेका ती सडकको काम असोजसम्म सम्पन्न हुने उनको भनाइ छ ।


जिल्ला सदरमुकाम जोड्ने ३५ किलोमिटर र मन्थली रामेछाप १३ किलोमिटरबाहेक जिल्लामा हालसम्म कालोपत्रे सडक छैनन् ।

प्रदेश सरकारले यस आर्थिक वर्षमा जिल्लाका २७ वटा सडक निर्माण गर्ने कार्यक्रम दिएको छ । तीमध्ये ११ वटा कालोपत्रे र अन्य सडक सुदृढीकरणको काम हुने इन्जिनियर तिमल्सिनाले बताए । उनका अनुसार हलेदे–धोबी–ढाँडे, हिलेपानी–च्यास्कु–कोलञ्जोर, मन्थली–भलुवाजोर, गाईखुरा–चिसापानी, मन्थली–सुनारपानी–सालु, खैरेनीघाट–राकाथुम–गौश्वारा, हिलेपानी–कुशवसेरी र सित्खा–आँपचौर–चुल्ठेपानी सडक कालोपत्रे गर्ने काम अघि बढेको छ । सबै सडक बहुवर्षे ठेक्का प्रणालीबाट निर्माण गरिन लागेको हो । यसबाहेक विभिन्न ११ वटा सडकको सुदृढीकरण पनि यसै वर्ष हुने लक्ष्य कार्यालयले लिएको छ । सबै योजना निर्माणका लागि कार्यालयले १ अर्ब १० करोड खर्च गर्दै छ ।


आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले नागरिकले विगतमा भोगेका सास्ती अब भोग्नु नपर्ने गरी योजनाको कार्यान्वयनमा जुटेको बताए । पूर्वाधार कार्यालयले तीनवटा महत्वपूर्ण पुलको कामसमेत अघि बढाएको छ । अर्चले–सालु जोड्ने रणजोर खोलाको पुल र केही वर्षदेखि अलपत्र परेको गुम्देलको क्यामाखोला पुलसमेत हुने भएको छ । गागलको धुलेदेवी पुलको काम भने सम्पन्न भइसकेको छ ।


यसका साथै प्रदेश सरकारले मन्थलीमा शीतभण्डार, कवर्डहल र रंगशाला निर्माणका लागि करोडौं लगानी गरेको छ ।

प्रकाशित : मंसिर २, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?