सडक बन्यो, गाडी गुडेन

रामेछाप — दोरम्बा र ढुंगे दुवैतिरबाट शैलुङको खोलाखर्कसम्म सडक पुगे पनि यहाँका बासिन्दाले सार्वजनिक सवारीसाधनको प्रयोग गर्न पाएका छैनन् । खोलाखर्क, घलेडाँडा, गुफा, बालुवा, छाँगा, धारा, राजभीर र डडुवालगायतका बासिन्दाले गाडी चढ्न दोरम्बा नै पुग्नुपर्छ । 

दोरम्बामा अरनिको यातायात सेवा समितिले बस सञ्चालन गरेको छ । त्यसभन्दा उत्तरतर्फको उक्त गाउँमा बस सञ्चालन हुने सडक बने पनि सेवा छैन । ‘हुनेखानेले गाउँमा टाटासुमो जिप रिजर्भ गरेर ल्याउँछन्,’ स्थानीय दिलकुमारी शेर्पाले भनिन्, ‘पैसा नहुनेहरू पसिना चुहाएर दोरम्बा ओहोरदोहोर गर्न बाध्य छन् ।’ खोलाखर्कबाट दोरम्बा झर्न तीन घन्टा लाग्छ, तर दोरम्बाबाट उकालो चार घन्टा नहिँडी खोलाखर्क पुगिँदैन । ‘रिजर्भ ल्यायो गाडी चढ्यो, ल्याएन पैदल हिँड्यो,’ उनले भनिन्, ‘सडक पुगेर सुविधा भयो भन्ने रहर मात्र भयो ।’


घलेडाँडाका ओमनारायण श्रेष्ठका अनुसार खोलाखर्कबाट शैलुङ भएर चल्ने बस अचेल सञ्चालनमा छैन । ‘बस सेवा सञ्चालनका लागि पटकपटक माग गरेका हौं,’ उनले दुःखेसो पोखे, ‘तर, कसैले सुनुवाइ गरेनन् ।’ खैरेनीघाटदेखि शैलुङसम्म बस चलाएमा त्यस क्षेत्रका बासिन्दालाई आवतजावत गर्न र बिरामीलाई अस्पताल लैजान सहज हुने उनी बताउँछन् ।


गाडी नचल्दा आलु र काउलीजस्ता स्थानीय उत्पादन बजारसम्म लैजान सकिएको छैन । स्थानीय दावाशङ्बु शेर्पाले गाउँपालिकाले शैलुङसम्म बस चलाउन समितिलाई बारम्बार आग्रह गरेको तर समितिले अटेर गरेको बताए । अरनिको सेवा समितिका सुवास फुँयालले भने सडकमा अझ सुधार भएमात्रै यात्रुबाहक बस चलाउन सकिने प्रतिक्रिया दिए ।

प्रकाशित : मंसिर १, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?