जेलमा पुस्तकालय

कान्तिपुर संवाददाता

मकवानपुर — मकवानपुरको भीमफेदी जेलका स्वयम्भू गुरुङ बिहीबार निकै हर्षित देखिन्थे । मुख्यमन्त्री डोरमणि पौडेल, लायन्स क्लबका प्रतिनिधि र सञ्चारकर्मीहरूलाई उनी स्वागतको शैलीमा नमस्ते गरिरहेका थिए । उनको खुसीको कारण थियो, पुस्तकालय । क्षेत्रीय कारागार भीमफेदीस्थित ‘क’ ब्लकमा हेटौंडाको लायन्स क्लब भुटनदेवीले स्थापना गरिदियो । प्रदेश ३ का मुख्यमन्त्री पौडेल सोही पुस्तकालय उद्घाटन गर्न पुगेका थिए ।

उक्त ब्लकमा रहेको पुस्तकालय सञ्चालनको जिम्मा गुरुङले नै लिएका छन् । स्नातक तह अध्ययन गरेका उनी ठगी मुद्दामा जेल परेका हुन् । ‘जेलभित्र अध्ययन गर्ने वातावरण बन्दै गयो भने बाहिरी संसारमा जाँदा सकारात्मक काम गर्न सकिन्छ,’ उनले भने । उक्त ब्लकमा पाँच सय ५२ जना कैदीबन्दी छन् । लायन्स क्लब भुटनदेवीले उक्त पुस्तकालयमा दुई हजार पाँच सयवटा जीवन उपयोगी पुस्तक उपलब्ध गराएको छ । क्लबले पुस्तक राख्ने र्‍याक र एक थान कम्प्युटर पनि प्रदान गरेको छ ।


‘ख’ ब्लकमा पनि लायन्स क्लबले र्‍याकसहित पुस्तक उपलब्ध गराएको छ । उक्त ब्लकमा ‘चेतना बन्दी पुस्तकालय’ भए पनि पर्याप्त पुस्तक थिएनन् । ‘जीवन उपयोगी पुस्तकको अभावले गर्दा कैदीबन्दी साथीहरूले पढ्न पाएका थिएनन्,’ पुस्तकालय सञ्चालक पुजन वलले भने, ‘क्लबले राम्राराम्रा पुस्तक ल्याइदिएकाले पढ्ने अवसर जुरेको छ ।’ स्नातक तह अध्ययन गरिरहेका वल जेलबाट नै परीक्षा दिइरहेका छन् । उक्त ब्लकमा चार सय ४९ कैदीबन्दी छन् ।


पुस्तकालय उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले जेलमा रहेका दुवै पुस्तकालयलाई आवश्यक पुस्तकको सूची मुख्यमन्त्री कार्यालयमा पठाउन जेल प्रशासनलाई निर्देशन दिएका थिए । बन्दीहरू निम्ति आवश्यक पुस्तक प्रदेश सरकारले उपलब्ध गराउनेसमेत उनले प्रतिबद्धता जनाए । पौडेलसमक्ष जेलर प्रकाश खनालले कारागारभित्र आधारभूत विद्यालय स्थापना गर्न माग गरेका थिए । ‘दुई ब्लकमा एक हजारभन्दा बढी कैदीबन्दी छन् । तीमध्ये ४० प्रतिशतजति निरक्षर छन्,’ उनले भने, ‘उनीहरूलाई साक्षार बनाउन पनि जेलभित्र स्कुल स्थापना गर्नुपर्ने आवश्यकता छ ।’ कारागारमा तीनजना पाकिस्तानी, एकजना नाईजेरियन र दुई सय ४६ जना भारतीय नागरिकसमेत छन् ।



प्रकाशित : कार्तिक ३०, २०७६ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?