२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

देखिन थाले रेडपाण्डा

कान्तिपुर संवाददाता

रसुवा — लाङटाङ राष्ट्रिय निकुञ्जको पोलाङ पाटी क्षेत्रमा दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) सहजै देखिन थालेका छन् । पहिले यो दुर्लभ वन्यजन्तु निकुञ्जभित्रको जंगलमा बिरलै देखिने गरेको थियो । निकुञ्जको संयुक्त गस्ती टोलीले बुधबार पोलाङ पाटीमा निर्माण गरिएको भ्युटावर नजिकै एउटा रेडपाण्डा फेला पारेको हो । 

देखिन थाले रेडपाण्डा

असारको पहिलो साता पनि सोही स्थानमा समुदायमा आधारित चोरीसिकार नियन्त्रण समूहले अनुगमनका क्रममा पाँचवटा रेडपाण्डा भेट्टाएको निकुञ्जले बताएको छ । त्यसअघि राम्चेमा पनि बस्ती नजिकै रेडपाण्डा देखिएको थियो । अनुगमन तथा गस्तीमा जाने कर्मचारी, समूहका पदाधिकारी र सुरक्षाकर्मीले फाट्टफुट्ट रूपमा रेडपाण्डा देख्दै आएका थिए । तर, पछिल्ला दिन संरक्षणका कार्यक्रम प्रभावकारी हुन थालेपछि दुर्लभ वन्यजन्तुको संख्या पनि बढ्दै गएको छ ।


निकुञ्जभित्र रेडपाण्डाका लागि बासस्थान सुरक्षित बन्दै गएको निकुञ्जको प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताइन् । सुरक्षाकर्मी, समूह र निकुञ्जका कर्मचारीले रेडपाण्डा बासस्थान क्षेत्रमा नियमित गस्ती र अनुगमन गर्दै आएका छन् । सन् १९८७ मा प्रह्लाद योञ्जनले पहिलोपटक रेडपाण्डाको अवस्थाबारे पोलाङ पाटी क्षेत्रमा अनुसन्धान गरेका थिए । अनुसन्धान तथा गस्तीका क्रममा रेडपाण्डा भेटिए पनि यकिन तथ्यांक भने छैन । गोसाइँकुण्ड गाउँपालिका–५ ठूलो स्याफ्रुभन्दा माथि चोलाङपाटी, गुप्चे, पोलाङपाटी र ढोकाचेत खर्क रेडपाण्डाको मुख्य बासस्थान क्षेत्र हो ।


प्रकाशित : कार्तिक ३०, २०७६ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?