कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

४ महिनामा १२ हजार पर्यटक

कान्तिपुर संवाददाता

रसुवा — चालू आर्थिक वर्षको चार महिनामा १२ हजारभन्दा बढी पर्यटकले रसुवा भ्रमण गरेका छन् । लाङटाङ राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार १२ हजार ७ सय १८ जना स्वदेशी तथा विदेशी पर्यटक रसुवा आएका छन् । यो अवधिमा ७ हजार ८ सय १७ जना स्वदेशी पर्यटक आएको लाङटाङ राष्ट्रिय निकुञ्जमा रेन्जर रमेश बस्नेतले बताए । पर्यटकहरू पदयात्राका लागि लाङटाङ, गोसाइँकुण्ड र तामाङ सम्पदामार्ग जाने गर्छन् । 

रसुवा जिल्लामा पर्यटकका लागि तीनवटा पदमार्ग छन् । धुन्चे गोसाइँकुण्ड हुंदै सिन्धुपाल्चोकको हेलम्बुसम्म गोसाइकुण्ड पदमार्ग, स्याफ्रुबेँसी हुंँदै लाङटाङसम्म लाङटाङ पदमार्ग र स्याफ्रुबेँसीदेखि गोल्जुङ, गत्लाङ, चिलिमे, थुमन, टिमुरे, बृदिम हुँदै स्याफ्रुबेँसीसम्म तामाङ सम्पदा मार्ग छन् । यस क्षेत्रमा आउने पर्यटकले गणेश तथा लाङटाङ हिमालको मनोरम दृश्य, निकुञ्ज क्षेत्रभित्रका जैविक विविधता, रामसार साइटमा सूचीकृत धार्मिक तीर्थस्थल गोसाइँकुण्ड, तामाङ सम्पदामार्गभित्र रहेको तामाङ कला र संस्कृति अवलोकन गर्ने गर्छन् । लाङटाङ राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ वन्यजन्तु रेडपाण्डा, हिमचितुवा र कस्तुरीमृग लगायतका जीवजन्तु पनि हेर्न पाइन्छ ।


पछिल्ला वर्ष रसुवा जिल्लाको लाङटाङ र गोसाइँकुण्ड पदमार्ग घुम्ने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ । होटल व्यवसायी उत्साहित भएका छन् । लाङटाङ पदमार्गमा यस वर्ष धेरै स्वदेशी पर्यटक आएको लाङटाङका पर्यटन व्यवसायी तेम्बा लामाले बताए ।


अहिले जिल्लाका तीनवटै पदमार्गमा स्वदेशी तथा विदेशीको चहपहल देखिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको ब्राबल चेक प्वाइन्टबाट दैनिक एक सयको हाराहारीमा पर्यटक प्रवेश गर्ने गरेका छन् । सेप्टेम्बर, अक्टोबर र नोभेम्बर पर्यटक घुम्ने मुख्य सिजन हो ।


राजधानी काठमाडौंबाट यात्रा गरेको पाँच दिनमा क्याङजिन पुगेर फर्किन सकिन्छ । क्याङजिन पुगेपछि रसुवाकै पुरानो क्याङजिन गुम्बा, लाङटाङ ग्लासियर र आँखैअगाडि चारैतिर एक दर्जनभन्दा बढी हिमाल देख्न सकिन्छ । धार्मिक पर्यटनका हिसाबले गोसाइँकुण्ड स्वदेश तथा विदेशमा समेत प्रख्यात छ । यो पदमार्गमा पनि पर्यटकको चहलपहल बढेको छ । ‘गोसाइँकुण्ड आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको दुई वर्षजति भयो,’ चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाले भने ।


सार्क मुलुकलगायत रसुवा घुम्न आउने अन्य देशका पर्यटकमा अस्ट्रेलिया, क्यानडा, इजरायल, फ्रान्स, जर्मन, जापान, अमेरिका, कोरिया, बेलायतलगायतका नागरिक छन् ।

प्रकाशित : कार्तिक ३०, २०७६ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?