कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्धोपन निम्त्याउँदै मधुमेह

फातिमा बानु

काठमाडौँ — बाराका ६० वर्षीया हरिबहादुर श्रेष्ठ नौ वर्षदेखि मधुमेहका बिरामी छन् । रोग निको हुँदै छ भनेर ढुक्क भएर बसेका उनले गत चैतको एक बिहान उठ्दा आँखा मधुरो देखे । दैनिक काममा असर पार्न थालेपछि उनी उपचारका लागि वीरगन्जको दृष्टि आँखा अस्पताल पुगे । अस्पतालले काठमाडौं रिफर गर्‍यो । त्रिपुरेश्वरस्थित आँखा अस्पतालले उनको यस्तो समस्यालाई ‘डाइबेटिक रेटिनोपेथी’ पहिचान गर्‍यो । 

नियमित फलोअपले अहिले उनको आँखामा सुधार छ । धादिङका ५१ वर्षीय गोपाल आले पनि १६ वर्षदेखि मधुमेहका बिरामी छन् । ‘दुई वर्षअघिदेखि आँखावरिपरि केही नाचेजस्तो भइरह्यो, किरोजस्तो वस्तुले आँखाको नानी छेकेजस्तो भयो,’ उनले भने । उनको आँखामा समस्या आउनुको कारण पनि ‘डाइबेटिक रेटिनोपेथी’ नै हो । त्रिपुरेश्वरको आँखा अस्पतालमा शल्यक्रिया गरेपछि उनले राहत अनुभव गरेका छन् ।


६ वर्षदेखि मधुमेहबाट पीडित कपनका ६६ वर्षीय भैरवराज रेग्मीलाई पनि आँखामा समस्या देखियो । टाढाको वस्तु कम देख्ने हुँदै गएपछि उनी अस्पताल पुगे । अहिले उनी तिलगंगा आँखा अस्पतालमा मधुमेह र आँखाको उपचार गराइरहेका छन् । आँखाको दृष्टिपर्दा विशेषज्ञ डा. किरण शाक्यका अनुसार ‘रेटिनोपेथी’ आँखाको दृष्टिपर्दामा रगत जम्ने रक्तनलीसम्बन्धी रोग हो । यसले आँखाको रगत सञ्चालन कम गर्ने, आँखाभित्र रक्तश्राव गराइदिने र आँखाको पर्दा च्यातिने समस्या निम्त्याउँछ ।


मधुमेह रोगका ८० प्रतिशत बिरामीमा यस्तो समस्या देखिने र उपचार नगरे यसले अन्धोपन पनि गराइदिन सक्ने उनले बताए । ‘आँखा अस्पतालमा दृष्टिपर्दासम्बन्धी समस्या लिएर आउने ६० जना बिरामीमध्ये आधालाई मधुमेहकै कारण यस्तो समस्या देखिन्छ,’ उनले भने, ‘कुल बिरामीमध्ये दुई/तीन जना त आँखै नदेख्ने भएर आइपुगेका हुन्छन्, अन्धोपन भइसकेपछि शल्यक्रियापश्चात् पनि ज्योति फर्काउन सम्भव छैन ।’ स्पतालमा रेटिनोपेथीको समस्या लिएर आउनेमा ४० देखि ६० उमेरका व्यक्ति बढी छन् । वीर अस्पतालमा आउने मधुमेहका पाँच बिरामीमध्ये तीन जनामा रेटिनोपेथी देखिने गरेको अस्पतालका मधुमेह विशेषज्ञ डा. दीपक मल्ल्ले बताए । ‘मधुमेहका बिरामीलाई मिर्गौला र आँखाको समस्या देखिन्छ । रोग लागेको २० वर्ष कटेका बिरामीमा यस्ता समस्या बढी देखिने गरेका छन्,’ उनले भने ।


तिलगंगा आँखा अस्पतालले सन् २०१७ मा भक्तपुर जिल्लामा गरेको अध्ययनले मधुमेहका २५ प्रतिशतलाई रेटिनोपेथी हुने गरेको छ । अस्पतालकी दृष्टिपर्दा रोग विशेषज्ञ डा. राबा थापाका अनुसार ३० वर्ष उमेर कटेका ७० प्रतिशत मधुमेहका बिरामीलाई रेटिनोपेथीले छोइसकेको हुन्छ । ‘सुरुको अवस्थामा उपचार नगरे दृष्टि बचाउन गाह्रो हुन्छ । उपचार नै गर्दा पनि पूर्ण रूपमा ज्योति फर्किंदैन,’ उनी सुझाउँछिन्, ‘मधुमेहका बिरामीले नियमित स्वास्थ्य जाँच गराउँदा आँखा पनि अनिवार्य रूपमा जँचाउनुहोला ।’


नेपाल मधुमेह संघको तथ्यांक अनुसार नेपालमा १० लाख मानिसमा मधुमेह छ । तीमध्ये आधा बिरामीका रेटिनोपेथी देखिने गरेको छ । नेपाल नेत्र ज्योति संघले सन् २०१० मा गरेको सर्वेक्षणअनुसार नेपालमा अन्धोपन निम्त्याउने तेस्रो कारण रेटिनोपेथी हो । पहिलोमा मोतीबिन्दु पर्छ ।


प्रकाशित : कार्तिक ३०, २०७६ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?