२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

भोटेकोसीमा विद्युत् उत्पादन चाँडै

कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक — ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोसी जलविद्युत् आयोजनाले पुनर्निर्माण सकेर एक साताभित्र विद्युत् उत्पादन गर्ने भएको छ ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत विक्रमरत्न स्थापितका अनुसार सबै काम अन्तिम चरणमा पुर्‍याएर अहिले विद्युत् प्रसारण लाइनको परीक्षण कार्य भइरहेको छ । गत शनिबारदेखि आयोजनाले १३२ केभी विद्युत् प्रसारण लाइनको परीक्षण गरिरहेको छ । ‘भोटेकोसी–४ झिर्पुस्थित आयोजनाको स्विचयार्डदेखि सुनकोसी–५ मा रहेको विद्युत् प्राधिकरणको लामोसाँघु सबस्टेसन क्षेत्रसम्मको प्रसारण लाइन टावर छेउछाउ नजान सूचना जारी गरेका छौं,’ उनले भने । परीक्षण सफल भएपछि पूर्ण क्षमताको ४५ मेगावट प्रसारण लाइनमा जोडिने उनको भनाइ छ ।


२२ मेगावटको पहिलो युनिट र त्यसैको १५ दिनभित्र दोस्रो युनिटसहित पूर्ण क्षमता उत्पादन हुनेछ । डेढ वर्षदेखि पुनर्निर्माण भइरहेको निजी क्षेत्रको ठूलो जलविद्युत् आयोजना चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो ११ ब्युरोले ‘फास्ट ट्र्याक’ मार्फत् बनाइरहेको थियो । सात अर्ब बराबरको लागतमा आयोजना पुन: सञ्चालनमा आएको स्थापितले बताए ।


०७३ को बाढीले आयोजनाको बाँधस्थल, बालुवा थिग्र्याउने पर्खाल र इलेक्ट्रो मेकानिकल भाग ध्वस्त बनाएको थियो । भूकम्पबाट झन्डै तीन अर्ब भौतिक क्षति बेहोरेको आयोजनाले ८५ प्रतिशत काम सकिसक्दा बाढीले थप क्षति पुर्‍यायो । भोटेकोसी वडा नं २ तातोपानी र फुल्पिङकट्टीमा रहेको आयोजनाले १० वर्ष ३६ मेगावट विद्युत् उत्पादन गर्दै आएको थियो । सन् २०११ मा विद्युत् खरिद सम्झौतापछि ४५ मेगावाटमा गएको हो । ०७१ को जुरे पहिरोपछि बन्द रहेको माथिल्लो भोटेकोसीको उत्पादन चार वर्षदेखि ठप्प छ ।

प्रकाशित : कार्तिक २९, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?