अपांग आमा र भाइबहिनी स्याहार्छिन् १३ वर्षीया बालिका

उपचारमा सम्पत्ति सकिएपछि बाबुले आत्महत्या गरे
हरिहरसिंह राठौर

(धादिङ) — एक साताअघिसम्म १३ वर्षीया करिना थापा भाइबहिनीसँगै स्कुल जान्थिन् । घरमा बा–आमालाई सघाउँथिन् । तर, अहिले उनको दैनिकीमात्रै फेरिएको छैन, घरको सम्पूर्ण जिम्मेवारीसमेत कलिलो काँधमा आइलागेको छ । 

अपांग आमा र भाइबहिनी स्याहार्छिन् १३ वर्षीया बालिका

चार वर्षअघि रुखबाट लडेपछि ३३ वर्षीया आमा लक्ष्मी अपांगसरह बनेकी छिन् । दुई वर्षयता त उनी बोल्नसमेत सक्दिनन् । आमाको पीडा देखिरहेकी करिनाले सात दिनअघि अझ ठूलो बज्रपात सहनुपर्‍यो । बुवा यामबहादुरले आत्महत्या गरे ।


आमालाई स्याहार्नु, एक भाइ र बहिनीलाई खाना पकाएर विद्यालय पठाउनु अहिले उनको दिनचर्या बनेको छ । रुखबाट लडेर ढाडको हाड भा‘च्चिएकी श्रीमतीलाई यमबहादुरले काठमाडौंको जनमैत्री अस्पताल र पाटन अस्पतालमा उपचार गराउँदा साढे १९ लाख रकम खर्च भयो । वैदेशिक रोजगारबाट कमाएको १२ लाख र भूकम्पले भत्काएको घर बनाउन लिएको ५० हजार अनुदान पनि श्रीमतीकै उपचारमा सके । त्यतिले पनि नपुगेर ७ लाखमा घरबारी बेचे । अब मगर परिवारसँग घडेरीमात्रै बचेको छ । सारा सम्पत्ति श्रीमतीको उपचारमै सकेका यमबहादुरसँग श्रीमतीको ढाडको हड्डी जोड्न राखेको स्टिल झिक्नलाई समेत खर्च पुगेन ।


गरिबीको चपेटामा परेका यमबहादुरले तीन सन्तानको पालनपोषण र अपांग श्रीमतीको उपचारमा निकै कष्ट बेहोर्नुपर्‍यो । अन्तत: उनले कात्तिक २० गते आत्महत्याको बाटो रोजे ।


मगर परिवार नीलकण्ठ नगरपालिका–१२ आंगेटार मगरबस्तीमा बस्दै आएको छ । भूकम्पले घर भत्केपछि जस्तापाताले छाएको बाँसको टहरा उनीहरूको आश्रय बनेको छ ।


हाल करिना भाइबहिनीलाई नजिकैको पाँचघरेस्थित साङ्गकोष माध्यमिक विद्यालयमा पुर्‍याउँछिन् । बिदा भएपछि लिन जान्छिन् । उनका ११ वर्षीय भाइ काजी ५ मा र ८ वर्षीया बहिनी सोमकुमारी कक्षा ३ मा पढ्छिन् । ‘बिहान उठेर छिमेकीले दिएको चामल र सोयाबिन पकाएर भाइबहिनीलाई दिन्छु,’ ७ कक्षामा पढ्ने करिनाले भनिन्, ‘आमालाई पनि खुवाइदिन्छु ।’


उनीहरूको अवस्थालाई हेरेर विद्यालयले सहयोग जुटाउन १० हजारको अक्षयकोष स्थापना गरेको छ । ‘छरछिमेकले अन्नपातलगायत अन्य सहयोग गरिरहेका छन्,’ शिक्षक रामप्रसाद लामिछानेले भने, ‘करिना र काजीको पढाइ राम्रो छ ।’ स्थानीय दामोदर अर्यालले बुधबार आफ्नो ४२औं जन्मदिनको अवसर पारेर खाद्यान्न, लत्ताकपडा, शैक्षिक सामग्री सहयोग गरेका छन् ।


‘आवास निर्माणमा ल्याएको रकम उपचारमै सके । घरको जग पनि बनाउन पाएनन्,’ छिमेकी नरबहादुर थापा भन्छन्, ‘निर्माण सामग्री भए घर निर्माणमा सहयोग गर्न तयार थियौं ।’


नीलकण्ठ नगरपालिका प्रमुख भीम ढुंगानाका अनुसार वडाध्यक्षको सिफारिसमा असहाय, अशक्त र अपांग रहेका भूकम्पपीडितका लागि सरकारीस्तरबाटै आवास निर्माण गरिदिने नीति छ । ‘जिल्लास्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग समन्वय गरी तत्काल सुरक्षित आवास निर्माणको पहल गर्ने सोचमा छौं,’ उनले भने । अहिले करिनाका परिवारलाई यमबहादुरका दाइ इन्द्रबहादुरले पनि सहयोग गरिरहेका छन् । हल न चल भएकी आमाको सम्पूर्ण स्याहारमा करिना नै खटिइरहेकी छन् । ‘मनतातो पानीमा रुमाल भिजाएर आमाको सबै शरीर पुछिदिन्छु तर टहराभित्र लान सकिन्न,’ उनले भनिन्, ‘बाबा हुन्जेल सबै उहाँले नै गर्नुहुन्थ्यो, हामीलाई निकै कठिन भएको छ ।’

प्रकाशित : कार्तिक २८, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?