१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

विमानस्थलमा छैन न्यूनतम सुविधा

टीकाप्रसाद भट्ट

(रामेछाप) — रामेछाप विमानस्थलमा न्यूनतम सुविधासमेत नहुँदा विदेशी पर्यटकहरूले कष्ट सहनुपरेको छ । 

विमानस्थलमा छैन न्यूनतम सुविधा

यहाँ पार्किङ, प्रतीक्षालय र चमेनागृहसमेत छैन । विमानस्थलको तारबारबाहिर घन्टौंसम्म पर्यटक प्रतीक्षामा बस्नुपरेको छ ।


लुक्लाका लागि रामेछाप विमानस्थलबाट उडान हुन थालेपछि करिब आठसय पर्यटकको आवागमन हुने गरेको छ । ‘बाहिर कष्ट बेहोरेर बल्ल टिकट चेक गराउँदासमेत आराम गर्ने स्थान छैन,’ अमेरिकी पर्यटक फिलिपले भने, ‘टिकट गराएपछि हरेक विमानस्थलमा उडान प्रतीक्षाका लागि पर्याप्त स्थान हुन्छ, तर यहाँ उभिनुपर्‍यो ।’ उनले चिया खाने ठाउँसमेत नभएको र शौचालय दुर्गन्धित भएको गुनासो गरे ।


सगरमाथा आधार शिविर जाने मुख्य सिजन भएकाले गत महिनादेखि रामेछाप विमानस्थल सञ्चालनमा आएको हो । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान र अवतरणको चाप भएपछि लुक्लामा चाँडो उडान गर्न तीनवटा विमान कम्पनी रामेछापमा आएका हुन् । तारा, सीता र समिट एयरले रामेछापदेखि लुक्लाका लागि यात्रु ओसार्दै छन् । काठमाडौंभन्दा झन्डै आधा हवाई दुरी छोटो हुने, अवतरण र उडानका लागि प्रतीक्षामा बस्नु नपर्ने र सधैंजसो मौसमअनुकूल हुने भएकाले रामेछाप विमानस्थलले यात्रालाई सहज बनाए पनि न्यूनतम सुविधान नहुँदा यात्रुको गुनासो बढेको हो ।


रामेछाप नागरिक उड्डयन कार्यालयले विमान कम्पनीहरूलाई काउन्टर राख्ने स्थानसमेत दिन सकेको छैन । पर्यटकले विमानस्थलको टर्मिनल भवनबाहिरै टिकट चेक गराइरहेका छन् । कार्यालय प्रमुख अमित चौरसियाले टर्मिनल सानो भएकाले पर्याप्त सुविधा दिन नसकेको बताए । ‘प्रतीक्षाका लागि केही सिट मैले थपेको छु,’ चौरसियाले भने, ‘अबको अर्को सिजनका लागि बाहिरै घाँसे मैदानमा कुर्सी राख्ने योजना छ ।’


विमानस्थल परिसरबाहिर व्यवस्थित होटल नहुँदा अधिकांश काठमाडौं, मुलकोट, खुर्कोटलगायत स्थानमा बसेर विमानस्थलसम्म आउने गरेका छन् । थोरै अवधिका लागि मात्र विमानस्थल सञ्चालन हुने भएकाले पर्यटकलाई सुविधा दिने खालका होटल र लज खोल्न स्थानीयले लगानी गर्न सकेका छैनन् । ‘यो सिजन सकिएपछि विमानस्थल सञ्चालन हुने हो होइन, अन्योल छ,’ स्थानीय मोहन खत्री भन्छन्, ‘त्यसैले पनि स्थानीयले धेरै लगानी गर्न नसकेका हुन् ।’ काठमाडौं विमानस्थलको चाप घटाउन लागि रामेछाप विमानस्थलबाट आन्तरिक उडान केन्द्रित गर्ने गरी सरकारले योजना अघि सारेको छ । वर्षैभरि सेवा सञ्चालनको ग्यारेन्टी नभएसम्म पर्यटक लक्षित सेवा थप्न कठिन रहेको स्थानीयको भनाइ छ ।

प्रकाशित : कार्तिक २८, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?