सुनकोसी–२ आयोजना : ‘डुबानको खबरले निद्रा हरायो’

कान्तिपुर संवाददाता

रामेछाप — जिल्ला सदरमुकाम रहेको मन्थलीका अधिकांश क्षेत्र डुबानमा पर्ने खबरले तामाकोसी नदी किनार र आसपासका सयौं बासिन्दा यतिबेला तनावमा परेका छन् । 

सुनकोसी–२ जलविद्युत आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन गर्न क्षेत्र निर्धारणको सूचना टाँस भएपछि मन्थलीवासीमा खुलदुली बढेको हो । विद्युत् विकास विभागमार्फत् स्थानीय निकायलाई सूचना आएपछि पुर्ख्यौली ठाउँ मात्र नभई करोडौंको सम्पत्ति डुबानमा पर्ने चिन्ताले उनीहरू पिरोलिएका हुन् । ‘पैसा त देला तर बास सार्ने कुराले निद्रा हराएको छ,’ रामेछाप ८ भोटटारकी सिर्जना माझीले भनिन्, ‘नजिकै बस्ने अर्को ठाउँ छैन, कहाँ जानु ?’


केहीले राष्ट्र्रिय गौरवको आयोजना बन्न दिनुपर्ने भन्दै त्यसका लागि वातावरण बनाउनुपर्नेमा जोड दिइरहेका छन् । तर, चिया पसल, दोबाटो, चोक र चौतारामा तीन दिनयता यही विषयमा चर्चा भइरहेको छ । कोही भने सूचना प्रकाशित भएको हम्मेसी पत्याउन तयार छैनन् । ‘यत्रो जिल्ला सदरमुकाम र पूर्वाधार नास्ने गरी डुबान गर्दैन होला,’ स्थानीय रामवहादुर माझीले भने ।


जलाशययुक्त सुनकोसी जलविद्युत आयोजनाले मन्थली नगरपालिकाको १, २, ६, ७, ८, र ११ डुबानमा पर्ने सूचनामा उल्लेख छ । समुद्र सतहबाट करिब ६ सय मिटरसम्मको भाग डुबानमा पर्दा ती वडाहरूमा पर्ने नदी किनारभन्दा केही माथिको क्षेत्रसम्म पानी भरिनेछ । विमानस्थल, जिल्लाका सरकारी कार्यालय, सडक मार्गलगायत डुब्नुका साथै खानेपानी र सँचाइका पूर्वाधारमा असर पुग्ने बताइएको छ । सिन्धुली र रामेछापको सीमा नदी सुनकोसीको चाकुटारमा १ सय ६१ मिटर अग्लो बाँध बनाएर पानी जमाउँदा तामाकोसीमा खिम्ती खोलाको दोभानसम्म पानी भरिन्छ । सुनकोसीमा पनि दोभानटारसम्मको भागमा पानी जम्ने सूचनामा उल्लेख छ । सुनकोसीतर्फ बीपी राजमार्ग, मध्यपहाडी राजमार्गलगायतका राष्ट्रिय पूर्वाधार डुबानमा पर्छन् ।


आयोजना बन्दा डुबानमा पर्ने हल्लासँगै जग्गाको किनबेच, भवन निर्माणलगायत सरकारी योजनाका निर्माणसमेत प्रभावित भएका छन् । सूचनामा उल्लेख भएको क्षेत्रमा रामेछाप विमानस्थल विस्तार योजना, कवर्डहल, शान्तिपार्क बन्दै छन् भने मन्थली नगरपालिकाले बृहत् पार्क निर्माणको प्रक्रिया अघि बढाएको छ । आयोजनाको परामर्शदाता कम्पनी ईआरएमसी प्रालिका हाइड्रोपावर इन्जिनियर केशव खनालका अनुसार आयोजनाको प्राविधिकतर्फका कामहरू करिब पूरा भइसकेका छन् । ‘विभिन्न चरणका प्राविधिक काम सकियो । विस्तृत क्षतिको विवरण संकलनका लागि केही महिनामा टोली परिचालन गर्ने तयारी हुँदै छ,’ उनले भने ।


खनालका अनुसार सुनकोसी–२ आयोजना झन्डै ३५ वर्षअघिदेखी प्रारम्भिक अध्ययनमा आएको हो । सन् १९८५ मा जाइकाले उक्त आयोजनाको अध्ययन गरेको थियो ।

प्रकाशित : कार्तिक २७, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?