केरुङमा धमाधम पूर्वाधार

काठमाडौंमा रेल पुग्ने भनिएको बिन्दु केरुङमा पूर्वाधार विकासका योजनाले तीव्रता पाइरहँदा नेपालतर्फ भने न सडक छन् न त आवश्यक भौतिक संरचना 
कान्तिपुर संवाददाता

(रसुवा) — भूकम्प अघिसम्म सामान्य बजार मात्र थियो केरुङ । खासै विकास भएको थिएन । सामान्य घरहरू मात्र थिए । सडक कच्ची र सिंगल लेनको थियो । केरुङसम्म आउने भएपछि अहिले त्यहाँ पूर्वाधार विकासका योजनाले गति लिएको छ । चीनको तिब्बत स्वायत्त प्रदेशअन्तर्गत जिलोङ काउन्टीमा पर्छ केरुङ बजार ।

यो समुद्री सतहबाट झन्डै दुई हजार आठ सय मिटरको उचाइ रहेको छ । यसलाई चारैतिर हिमशृंखलाले घरेको छ । सानो समथर उपत्यका जस्तो देखिन्छ । २०७२ को भूकम्प अघिसम्म केरुङ खासै चर्चा थिएन । भूकम्पपछि तातोपानी नाका बन्द भएर रसुवागढी नाकाबाट आयात हुन थालेपछि केरुङ बजारको नाम सुनिन थालेको हो । चीनले तिब्बतको सिगात्से हुँदै केरुङसम्म रेल ल्याउने योजना अघि बढाइरहेको छ । त्यहाँबाट चिनियाँ रेल काठमाडौं पुर्‍याइने योजना सार्वजनिक भएयता सीमापारिको उक्त बजारमा पूर्वाधार निर्माणले तीव्रता पाएको छ ।

सन् २०२२ भित्रै हिमाली उपत्यका केरुङमा रेल ल्याइर्‍याउन चीन सरकार लागिपरेको छ । चिनियाँ रेल नेपाल जाने बिन्दु पनि यही हो । काठमाडौं जाने रेलमार्गको स्टेसन केरुङमा निर्माण हुनेछ । नेपालको रसुवागढी नाकाबाट केरुङ बजार २४ किमि छ । पछिल्लो समय रसुवागढी नाकालाई चीनको संघीय सरकारले दक्षिण एसिया प्रवेश गर्ने मूलद्वार मानेको छ । त्यसैले भूकम्पपछि चीनले रसुवागढीलाई प्राथमिकतामा राखेर नाका र
केरुङमा भौतिक पूर्वाधारको विकास गरिरहेको छ ।

अहिले केरुङमा सरकारी कार्यलय थपिँदै गएका छन् । आयातनिर्यात हुने सामान भण्डारणका लागि ठूलो सुक्खा बन्दरगाह निर्माण भइरहेको छ । केरुङमा अग्ला–अग्ला घर निर्माण भएका छन् । नयाँ थपिने क्रम जारी छ । घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् । सुविधा सम्पन्न होटल थपिएका छन् । केरुङमा दिनहुँ चहलपहल छ । सडक सफा राख्नुका साथै जेब्राक्रस र ट्राफिक लाइट राखिएको छ । नाकासम्म पुग्नका लागि दुई लेनको कालोपत्रे सडक निर्माण गरिएको छ ।

सडकमा पहिरो छल्न ठाउँ ठाउँमा सुरुङ र आकासे पुल हालिएको छ । सडक भित्ताबाट झर्ने ढुंगा रोक्नका लागि तारजाली लगाइएको छ । अबको केही वर्षमा जिलोङ काउन्टीको केरुङमा रेल, सडक, प्रसारण लाइन र सुरुङमार्गजस्ता विकासका पूर्वाधार निर्माण हुने त्यहाँका अधिकारीहरूले बताएका छन् । चारैतिर हिमशृंखलाले घेरिएको केरुङ बजारलाई नयाँ सहरका रूपमा विकास गर्न योजनाबद्ध काम भइरहेको छ । दूरगामी महत्वको विकास योजना अघि बढाइएकाले सहज हुँदा केरुङमा व्यापार बढ्दै गएको रसुवा भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले बताए । उत्तरी चीन जोड्ने रसुवागढी–केरुङ नाका ०७१ मंसिर १५ देखि विधिवत सञ्चालनमा आएको हो । ०७२ वैशाख १२ को भूकम्पले रसुवागढी नाका केही महिना बन्द भएको थियो । भूकम्पको सात महिनापछि नाका पुन: सञ्चालनमा आयो । त्यसयता चीनबाट नेपाल हुने धेरैजसो आयात ०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको छ । अहिले रसुवागढी नाका हुँदै अर्बौंका चिनियाँ सामान आयात भइरहेको छ । आर्थिक वर्ष ०७५/७६ मा चीनबाट नेपालमा करिब २ खर्ब बराबरको सामान आयात भएको भन्सार विभागको तथ्यांक छ । त्यसमध्ये २० प्रतिसत सामान रसुवागढी नाकाबाट आयात भएको छ । रसुवागढी नाकालाई ०७४ भदौ १४ मा चीन सरकारले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको छ । भूकम्प अघिसम्म सामान्य बजार मात्र रहेको केरुङतर्फ चीनले तीब्ररुपमा भौतिक पूर्वाधारको विकास गरिरहँदा सीमावारि नेपालतर्फको नाकामा भने विकास योजना अघि बढेको छैन । रसुवागढीबाट व्यापारिक कारोबार बढे पनि नेपाली भूभागमा भौतिक अवस्था नाजुक छ । नाका अझै व्यवस्थित हुन सकेको छैन । रसुवागढी नाका हुँदै दैनिक २ सय ५० वटा हाराहारी कन्टेनर वारिपारि हुने गरेको छ । नेपाली भूभागको संरचना नाजुक अवस्थामा छ । पानी पर्दा पहिरो जाने र घाम लाग्दा धूलो उड्ने अवस्था छ ।

हावा चल्दा माथिबाट ढुंगा खस्छन् । नेपाली भंसारमा सवारी जाँच्ने ‘भेहिकल एक्सरे’ र ‘मेटल डिटेक्टर’ लगायत आवश्यक उपकरण पनि छैनन् । नाकामा टहरामा ड्युटी दिएका प्रहरीले आँखैले हेरेर जाँच गर्छन् । भन्सार कर्मचारी सीमाभन्दा डेढ किमि टाढा टिमुरेको सडकमा उभिएर काम गर्छन् । सबैलाई बस्ने ठाउँ पनि पुग्दैन । काठमाडौंबाट रसुवागढीसम्म पुग्ने सडक पनि जीर्ण छ । नाका पुग्ने सडकमा खाल्टाखुल्टी धेरै हुनुका साथै पहिरोको जोखिम पनि उत्तिकै छ ।

अन्तर्राष्ट्रिय मान्यताअनुसार सीमामा अध्यागमन, भन्सार, क्वारेन्टाइन र बैंकलगायत कार्यालय एकीकृत रूपमा एकै स्थानमा राखिनु अनिवार्य छ । नेपालतर्फ यी कार्यालय छरिएर रहेकाले व्यापारीलाई सामानको जाँचपास झन्झटिलो छ । अध्यागमन र भन्सार कार्यालय डेढ किमि टाढा टिमुरेमा छ । नाकामा एकीकृत भवन निर्माणाधीन अवस्थामा छ ।

प्रकाशित : कार्तिक २६, २०७६ १०:२६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

विद्युत् चोर्ने ३० पक्राउ

कान्तिपुर संवाददाता

सिमरा — विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाको दक्षिणी भेगको विश्रामपुर र फेटा गाउँपालिकाबाट विद्युत् चोर्ने ३० जनालाई सोमबार पक्राउ गरेको छ । 

नेपाल विद्युत् प्राधिकरण कलैया वितरण केन्द्र, जिल्ला प्रहरी कार्यालय बारा र सशस्त्र प्रहरी बल १२ नं. गणबाट खटिएको चुहावट नियन्त्रण टोलीले फेटा गाउँपालिकाको वडा नं. ३, ४ र विश्रामपुर गाउँपालिकाको वडा नं. १, २ को बतरा, बरैनिय लगायतका गाउँबाट गरी ३० जनालाई विद्युत् चोरी गरिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकाशराज खनालले बताए । उनीहरू हुकिङ गरी विद्युत् चोरी गर्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

प्रकाशित : कार्तिक २६, २०७६ १०:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×