रुख काटेको आरोपमा उपभोक्ता समिति सदस्य जेल चलान

सुवास विडारी

मकवानपुर — अनियमित रुपमा रुखहरु कटान गरी वन पैदावार हानी नोक्सानी गरेको मुद्दामा जिल्ला अदालत मकवानपुरले सामुदायिक वन उपभोक्ता समितिका दुई सदस्यलाई जेल चलान गरेको छ ।

मकवानपुरको बकैया गाउँपालिका–८ मा रहेको देउताखोला सामुदायिक वनका दुईजना कार्यसमिति सदस्यलाई अदालतले मागेको धरौटी बुझाउन नसकेपछि जेल चलान गरिएको हो ।

उपभोक्ता समूहका सदस्य पातलीमाया भुलुन र सदस्य सितामाया घ्यावासँग जिल्ला अदालत मकवानपुरले आइतबार जनही ११ लाख १७ हजार रुपैयाँ नगद वा जेथा जमानत धरौटी मागेको थियो । तर उनीहरुले धरौटी बुझाउन नसकेपछि दुवैलाई चितवनको भरतपुर कारागार चलान गरिएको डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत नरेश पूर्वेले जानकारी दिए ।

वन ऐन २०४९ को दफा ६४ को २ बमोजिम उनीहरुसँग धरौटी माग गरेको अदालतको आदेशमा उल्लेख छ । सामुदायिक वनमा अनाधिकृत रुपमा १४ हजार ८ सय ३६ क्यूफिट काठ कटान भएको आरोपसहित डिभिजन वन कार्यालय मकवानपुरले अदालतमा मुद्दा दायर गरेको थियो । अनियमित रुपमा रुख कटान गरेको ठहरसहित सोही वन समूहका अध्यक्ष पनि ३ महिना जेल बसेर धरौटी बुझाएपछि यसअघि नै रिहा भइसकेका छन् ।

प्रकाशित : कार्तिक २५, २०७६ १३:२३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस महाधिवेशन प्रतिनिधिको भेला हेटौंडामा

सुवास विडारी

(मकवानपुर) — नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिहरुको भेला तथा प्रशिक्षण हेटौंडामा हुने भएको छ । प्रदेश ३ अन्तर्गत् ६ वटा जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको भेला मंगलबार र बुधबार हेटौंडामा हुने भएको हो । 

भेलाको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने नेपाली कांग्रेस मकवानपुर सभापति तथा प्रदेश नम्बर ३ का संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले जानकारी दिए । बानियाँका अनुसार नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवम् नेपाली कांग्रेस मकवानपुरको संयोजनमा भेला तथा प्रशिक्षण हेटौंडामा हुन लागेको हो । यसअघि सात जिल्लाका भेला भक्तपुरमा सम्पन्न भइसकेको छ ।

भेलाको उद्घाटनमा देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा.शशांक कोइरालालगायतका नेताहरु समेत हेटौंडा आउने बताइएको छ । हेटौंडामा दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षणको सम्पूर्ण तयारी सम्पन्न भइसकेको र महाधिवेशन प्रतिनिधिहर हेटौंडा आउने क्रम सुरु भइसकेको सोमबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेस मकवानपुरले जनाएको छ ।

भेला तथा प्रशिक्षणमा ३ नम्बर प्रदेशअन्तर्गत्का ६ जिल्लाका महाधिवेशन प्रतिनिधि र प्रदेशका केन्द्रीय सदस्यहरुको सहभागिता रहनेछ । प्रशिक्षणमा मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा र सिन्धुलीका दुईसय ९० जना महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्यहरुकोसहभागिता रहने जनाइएको छ ।

सहभागीलाई प्रतिष्ठानका प्रमुख निधी, प्रतिष्ठानका सदस्य एवं राष्ट्रिय योजना अयोगका पूर्वउपाध्यक्षहरु डा. गोविन्द पोखरेल, डा.जगदिशचन्द्र पोखरेल, प्रशिक्षण विभागका कार्यकारी निर्देशक पुरुषोतम दाहाल, प्रतिष्ठानका सदस्यहरु डा. आरजु देउवा, खिला दाहाल र राजु नेपालले सहजीकरण गर्ने जनाइएको छ ।

‘नेपाली राजनीतिक वर्तमान अवस्थाबारे चर्चा गर्नुका साथै प्रतिपक्षी दलले खेल्नुपर्ने भूमिकाबारे केन्द्रीय पदाधिकारीसहितको उपस्थितिमा छलफल हुनेछ,’ नेपाली कांग्रेसका नेता बानियाँले दुई तिहाई नेतृत्वको सरकार ठिकढंगले अगाडि बढेको छ वा छैन भन्ने विषयको समिक्षा भेला तथा प्रशिक्षणमा हुने बताए ।

प्रकाशित : कार्तिक २५, २०७६ १३:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT