१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

अस्पताल बनाउँदै गाउँपालिका

कान्तिपुर संवाददाता

हेटौंडा — मकवानपुरको एक स्थानीय तहले पालिकाबासीलाई गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल निर्माण गर्न लागेको छ । मकवानपुर गढी गाउँपालिकाले पालिकाको मध्य भागमा पर्ने आमभन्ज्याङको डुम्रेकुनामा १५ शय्याको अस्पताल बनाउने योजना अन्तिम चरणमा पुगेको छ । अस्पताल भवन निर्माण गर्न स्थानीय तीनजना दाताले १३ कठ्ठा जमिन उपलब्ध गराएको गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले बताए ।

संघीय सरकारले एक स्थानीय तहमा एक अस्पताल स्थापना गर्ने योजना ल्याएको छ । अस्पताल निर्माणका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । ‘संघीय सरकारसँग पनि बजेट माग गरेका छौं,’ अध्यक्ष हुमागाईले भने, ‘आगामी आवको अन्तिमसम्ममा अस्पताल सञ्चालनमा ल्याउने योजना छ ।’ अस्पताल निर्माण गर्न ५ करोड रुपैयाँ लाग्ने गाउँपालिकाको स्टिमेट छ ।


हेटौंडा उपमहानगरपालिकासँग जोडिएको उक्त गाउँपालिकाले शिखकटेरीस्थित स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गरेर बुधबारदेखि सञ्चालनमा ल्याएको छ । प्रयोगशाला निर्माण गर्न २ नम्बर वडा कार्यालयले ६० हजार रुपैयाँ उपलब्ध गराएको थियो भने राष्ट्रिय प्रयोगशाला काठमाडौंले साढे ३ लाख मूल्यबराबरका उपकरण प्रदान गरेको थियो । गाउँपालिकाले एकजना कर्मचारी खटाएको छ ।



प्रकाशित : कार्तिक २४, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?